रङ्गेली/सङ्घीयताको मर्मअनुसार निर्माण भएका सङ्घीय, प्रदेश र स्थानीय तहको सरकार संविधानतः पाएकोे अधिकार बमोजिम सञ्चालित छन् । तीनै तहको सरकारमा देखिएको अन्योलता र समन्वय अभावका बीच विकास निर्माणमा जुट्ने प्रयासमा रहेका छन् ।
नयाँ अभ्यासमा रहेको सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई संविधानले पनि एक अर्काको पुरक भएर काम गर्न निर्देशित गरेको छ । यसै मेसोमा विराटनगरमा तीन तहका सरकारले भ्युटावर निर्माण गर्ने भएका छन् ।
तीनै तहका सरकार चासोका साथ उक्त टावर निर्माणमा जुट्ने भएका छन् । भ्युटावर निर्माणको लागि निजी क्षेत्रले पनि हात बढाएका छन् । विराटनगरमा भ्युटावर निर्माणमा सबै प्रकारको सहयोगको आवश्यक्ता रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।
विराटनगर महानगरपालिका–३ मा निर्माण हुन लागेको भ्युटावरको आइतबार शिलान्यास गर्दै मन्त्री पण्डितले एकपटक पुग्नै पर्ने स्थान बन्ने विश्वास व्यक्त गरे ।
विराटनगर आउनेलाई घुम्ने ठाउँ नभइरहेको अवस्थामा उनले त्यो अभावलाई पूर्ति गर्ने बताए । उनले पेरिसको ‘आइफिल’ टावरको उदारहण दिँदै आयस्रोतका दृष्टिले पनि राम्रो कमाइ हुने धारणा राखे ।
विराटनगर महानगरपालिका, प्रदेश सरकार, निजी क्षेत्र र जग्गा दाता सबैसँग सहमति भएकाले भ्युटावर निर्माण हुनेमा ढुक्क रहेको बताए ।
कार्यक्रममा प्रदेश–१ का कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले ढिलै भए पनि राम्रो काम शुरु भएको बताए ।
उनले भ्युटावर सम्पूर्ण स्थानीय, प्रदेश, सङ्घीय तथा निजी क्षेत्रको नमूना काम हुने धारणा राखे । उनले लामो समय राजनीतिक परिवर्तनको कारणले अलमल भएको बताउँदै अब विकास निर्माणमा लाग्नु पर्ने बताए ।
उनले सबै प्रकारको काम साझेदारीमा हुनु पर्ने धारण राखे । उनले विराटनगरमा बन्ने भ्युटावरका लागि प्रदेश १ सरकार सबै प्रकारको सहयोगका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
१ बिघा ७ कट्ठा जमिनमा निर्माण हुने उक्त भ्युटावर १ सय १० मिटरको हुनेछ । टावर निर्माणका लागि ४ अर्ब खर्च हुने शुरुवाती अनुमान गरिएको छ ।
टावरको पहिलो तल्लामा राजवंशी समुदायको सङ्ग्रहालय रहने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुललीले जानकारी दिए । टावरमा रेस्टुरेन्ट, सपिङ मललगायत हुने उनले बताए ।
टावरको अवलोकनमा आउनेलाई छाडेर जान नसक्ने किसिमको बनाउने मेयर पराजुलीले बताए ।
भ्युटावर सङ्घीय, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रको एउटा नमूना प्रोजेक्ट हुने मेयर पराजुलीले बताए । कार्यक्रममा टावर निर्माणका लागि जग्गा दाता शितलु राजवंशीका परिवारलाई सम्मान गरिएको थियो ।