दमक/झापाको शिवसताक्षी–८ मा २ कट्ठा क्षेत्रफलमा लगाइएको विभिन्न बिरुवा अज्ञात व्यक्तिले काटिदिएपछि स्थानीय किसान चिन्तामा परेका छन् ।
अज्ञात समूहले घरमा पार्किङ गरेर राखेको टेम्पो नजिकै रहेको खोलामा खसाल्दिएपछि नियत बस घटना गराइएको पीडितको आरोप छ ।
स्थानीय डम्बरकुमार निरौलाले झिलझिले खोलाको छेउमा रहेको आफ्नो निजी जमिनमा वृक्षरोपण गरिएका विभिन्न जातका रुख र फलफूलका बिरुवा अज्ञात समूहले मासिदिएको बताए ।
हुर्कंदै गरेको बिरुवा फेदैमा गिँडेर वनक्षेत्र बन्दै गरेको उक्त नर्सरी नै मासिएको छ । बिरुवाको फेदैसम्म गिँडेर बिरुवा मासेपछि निरौलाको घरमा पार्किङ गरेर राखिएको टेम्पो झिलझिले खोलामा रहेको पुलबाट झारिएको निरौलाले बताए ।
यो घटना नियतबस गरेको हुन सक्ने निरौलाको भनाइ छ ।
घटनाबारे झिलझिलेस्थित प्रहरी कार्यालयमा जानकारी गराइएको थियो । प्रहरी निरीक्षक कैलाश राईको नेतृत्वमा प्रहरीको टोली त्यहाँ पुगेर सोधिखोजी गरेको थियो ।
प्रहरीले मुचुल्का बनाएपछि घटनामा संलग्नलाई खोजी गर्न प्रहरीको छुट्टै टोली बनाउने झिझिलझिलेका प्रहरी प्रमुख प्रहरी निरीक्षक राईले आश्वसन दिएका थिए ।
शुक्रबार राति ११ बजेपछि भएको उक्त घटनामा ७२ वटा सुपारीका बिरुवा, टिक र खमारी गरी १७ वटा र एउटा सरिफाको बोटसहित अन्य सिमलका रुखहरू मासिएको छ ।