दमक/झापाको दमक–१० निवासी उर्मिला तिम्सिनाको जन्मँदै खुट्टा चलेनन् । उनलाई हिँडडुल गर्न पनि सहयोगीको खाँचो पर्यो ।
तिम्सिना परिवारमा ८ सन्तान भए पनि कान्छी छोरीको रूपमा ०४५ सालमा जन्मिएकी उर्मिलाका भने खुट्टा नचलेको उनकी आमा राधिका तिम्सिनाले बताइन् ।
घरमा उर्मीलालाई एक्लै छाडेर कोही पनि बाहिर जाँदैनन् । हिँडडुल गर्न मात्र होइन उर्मीलालाई दिसा पिसाब गराउन पनि दोस्रो व्यक्तिको साहारा चाहिन्छ । वरपर गराउँदा उनलाई बोकेर वा दुईतर्फ थेगेरमात्र सार्ने गरेको आमा राधिकाले बताइन् ।
तर अब यो झण्झट हटेको छ । उर्मीलाले अब यताउता जान पहिलाको जस्तो कष्ट गर्नु पर्दैन । किनकि उनलाई दमक–५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले ह्वीलचियर प्रदान गरेको छ ।
उर्मीलाको त जन्मजातै खुट्टा चलेनन् । परिवारले जन्मैदेखि स्याहारसुसार गरेर हुर्काए । तर, ७९ वर्षे श्रीप्रसाद गौतमको भने गएको ४ वर्षदेखि खुट्टा चलेनन् ।
२०७२ सालको शिवरात्रीको दिनदेखि शरीरको दायाँ भाग अचानक चल्न छाडेको र अहिले शरीरको अन्य भाग चले पनि खुट्टा चाहिँ टेक्न नसक्ने अवस्था रहेको श्रीप्रसादका छोरा रामजी गौतमले बताए ।
उनलाई घरको कुनै कोठामा वा एक छेउमा थन्किएर बस्नु परेको थियो । हाल उनले पनि डाँफे सहकारीमार्फत ह्वीलचियर प्राप्त गरेर केही सहज जीवन चलाइरहेका छन् ।
समाजमा अपाङ्गता लिएर जीवन बिताइरहेका नागरिक प्रशस्त छन् । उनीहरूको दैनिकी सञ्चालनका लागि राज्यले सहजीकरण गर्नुपर्ने भए पनि निजी क्षेत्रले समेत काम गरिरहेका छन् ।
सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले संस्थाको वार्षिक कार्यक्रमअन्तर्गत यो पटक अपाङ्गता भएका दमकका दुई जना नागरिकलाई ह्वीलचियर वितरण गरिएको बताए ।
संस्थाले यही अवसरमा दिपावली तथा विभिन्न नेपाली चाडवाडको शुभकामना आदानप्रदानसमेत सम्पन्न गरेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।