बेलबारी/बेलबारी–४ स्थित देवीथान सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । बेलबारी–४ को प्रगति चोकदेखि उत्तरखण्डमा निर्माण भएको भवनको प्रदेश सांसद् राजकुमार ओझाले उद्घाटन गरेका हुन् । करिब ३० लाख रुपैयाँको लगानीमा भवनको निर्माण भएको हो ।

सोही कार्यक्रम विपन्न लक्षित कार्यक्रम अन्तर्गत उपभोक्तालाई जस्तापाता र चौपाया वितरण गरिएको थियो ।

विपन्न वर्गका ३५ घर परिवारलाई डेढ बन्डलको दरलेजस्ता वितरण गरिएको थियो । त्यसैगरी १४ घर परिवारलाई बाच्छी, एक परिवारलाई बङ्गुर र १ परिवारका लागि शौचालय निर्माण गरिदिएको समूहका अध्यक्ष नारायण सुनुवारले जानकारी दिए ।

विपन्न लक्षित कार्यक्रमअन्तर्गत सबै शीर्षकसहित जम्मा ६ लाख १३ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको समूहकी सचिव रीता भण्डारीले जानकारी दिइन् ।

कार्यक्रममा बेलबारी ४ का वडाध्यक्ष रामकुमार राई, सामुदायिक वन उपभोक्ता महासङ्घ मोरङका उपाध्यक्ष रामकृष्ण राई, छिमेकी सामुदायिक वनका अध्यक्ष, समूहका पूर्व अध्यक्षहरू, सेक्टर वन बेलबारीका प्रमुख शत्रुघन लालदेवसहित उपभोक्ताको सहभागिता थियो ।