ताप्लेजुङ / मौसम पनि मनोरम र चिसो छ । कात्तिक जादै गर्दाको समय । चाडवाडको समयमा मानिसहरु समय मिलाएर तिर्थ, धाम जाने गर्दछन् । यो पनि यही समय हो । साँच्चै प्राकृतिक, साँस्कृतिक, धार्मिकलगायत सबै दृष्टिले भरिपूर्ण छ ताप्लेजुङको पाथभिरा मन्दिर ।

त्यसैले त बर्षेनी लाखौं तिर्थालु पर्यटकहरु दुःख कष्ट ब्यहोरेरै ताप्लेजुङको पाथिभरा देवीको दर्शनमा पुग्छन् । मोटरबाटोको कठिन यात्रासँगै ४ घण्टाभन्दा पनि बढि समय पैदलयात्रा गरेर तिर्थालु पर्यटकहरु पाथिभरा मन्दिरको दर्शनमा पुग्ने गर्दछन् ।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित यो मन्दिर रहेको क्षेत्र धार्मिक महत्वका साथै जैविक बिबिधता, प्राकृतिक सुन्दरता र रमणियताका दृष्टिले समेत उत्कृष्ट स्थान हो । अन्नले भरिएको पाथिको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकाले यो स्थानलाई पाथिभरा नामले पुकारीएको भन्ने भनाई रहेको छ ।

त्यहि पाथीभराबाट नेपालका धेरै हिमशृङ्खला तथा सिक्किम, दार्जिलिङ लगायत भारतका विभिन्न क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिन्छ । विश्वकै तेस्रो अग्लो र नेपालको दोस्रो अग्लो हिमाल अवस्थित कञ्चनजंघा हिमश्रृंखलालाई आफ्नै सामुन्ने भएझैं गरी नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट कञ्चनजंघा हिमाल ओरालो स्थानमा भएको जस्तो देखिन्छ । कञ्चनजंघा हिमाल भन्दा पाथिभरा उच्च स्थानमा भएजस्तो महसुस हुने गर्दछ ।

यहाँ जान उत्तम समय असोजदेखि मंसिरसम्म र फागुनदेखि बैशाखसम्म हो । जाडोको समयमा यहाँको यात्रा निकै कष्ठकर हुन्छ । लेक लाग्ने गर्छ । त्यसका लागि आवश्यक सामाग्री बोकेर हिड्ने राम्रो हो । असक्त, केटाकेटीहरुलाई त्यहाँसम्म पुग्न परियाले बोकेर लाने गर्दछन् ।

तस्बिर संकलनः खेमराज सुवेदी