धरान /  पर्याप्त तयारी नपुगेको कारण देखाउँदै इलाम नगरपालिकाले कार्तिक २५ गते आयोजना हुने भनिएको लगानी सम्मेलन स्थगित गरेको छ । २५ गते दिउँसो १ बजे गौतमबुद्ध सभागृह इलाममा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा लगानी प्रवद्र्धन सम्मेलन गर्ने भनिएको थियो । लगानी सम्मेलनका लागि पर्याप्त तयारी गर्न समय नपुगेको हुनाले उक्त मितिमा सम्मेलन आयोजना गर्न कठिनाई भएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।  ‘सम्मेलनको मिति पछाडि सार्नु पर्ने अवस्था भएको व्यहोरा सम्माननीय प्रधान मन्त्रीज्यूमा जानकारी गराइसक्यौं,’ प्रशासकीय अधिकृत शाहले भने,– ‘अर्को निर्णय नभएसम्मका लागि सम्मेलन स्थगित गरिएको हो ।’  मङ्गलबार इलाम नगर कार्यपालिकाको बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको थियो ।