विराटनगर /मोरङ प्रहरीले तीन सातामा ३० जना जुवाडेलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारीमा जुवाको खालबाट घरधनीसहित १० जुवाडे केही समयअघि पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले जुवाडे पक्राउ गरेको हो । जुवाको खालबाट १ लाख ८५ हजार रूपैयाँ नगदसमेत बरामद गरेको छ ।
प्रहरीले घरधनी कानेपोखरी गाउँपालिका–१ का मित्र रेग्मी, सोही ठाउँका उमाकान्त कार्की, तोर्ण कार्की, धनपालथान गाउँपालिका–४ का मोतीलाल राजवंशी, सोही ठाउँका ओमबहादुर कटवाल, रङ्गेली नगरपालिका–२ का जनक कार्की, सोही ठाउँका राजुबहादुर थापा, राजेन्द्र शर्मा, विष्णु गुरुङ र डेफुराम खड्कालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने उनीहरू पेशेवर जुवाडे हुन् । त्यस्तै प्रहरीले विराटनगर–१६ स्थित गोपाल यादवको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । आइतबार विराटनगर–१६ का सुरेशप्रसाद मण्डल, राजकिशोर यादव, सोनु तत्मा, विष्णुकुमार अर्जेल, नवीन महतो, रोहित दास र ज्ञानेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जुवाजन्य गतिविधिमा संलग्नलाई धमाधम पक्राउ गर्न थालेपछि जुवाडेहरूको भागाभाग भएको बताए । जुवा ऐन अन्तर्गत जुवा खेल्ने र खेलाउने दुवैलाई सजाय हुने कानूनी व्यवस्था रहेको छ ।
नयाँ मुलुकी संहिताअनुसार जुवा खेल्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र जरिवानासमेत हुनेछ ।
यसअघि जुवा खेल्नेलाई प्रहरीले पक्राउ गरे जिल्ला प्रशासनमा उपस्थित गराएर २ सयदेखि ३ सय रूपैयाँसम्म जरिवाना तिराएर छाड्ने गरेको थियो ।