धनकुटा/तिहारमा सयपत्री फूल बेचेर २–४ पैसा कमाउँला भन्ने धनकुटा न.पा.वडा नं.५ कर्मीटारका स्थानीय कृषकको सपना यो वर्ष चकनाचुर भएको छ ।
तिहारको यमपञ्चकको २ दिन बितिसक्दा पनि सयपत्री फूल किन्ने ग्राहक नआएपछि यहाँका अधिकांश सयपत्री फूल लगाएका कृषकको फूल बेचेर पैसा कमाई घरको गर्जो टार्ने सपना चकनाचुर भएको हो ।
अघिल्ला वर्षहरूमा यमपञ्चक लाग्नुभन्दा पहिले नै सयपत्री फूलको बारीमै अर्डर हुन्थ्यो तर यो वर्ष एकजना पनि व्यापारी बारीमा नआउँदा उनीहरूमा निराशा छाएको छ ।
सयपत्री फूल ढकमक्क बारीमा फुलेका छन्, व्यापारी आए फूल बेचेर लक्ष्मीपूजा गरौंला भन्ने उनीहरूको सपना थियो, तर यो वर्ष अधुरो नै रहने पो हो कि भन्ने चिन्ता पनि उनीहरूमा बढेको छ ।
हिजोआज सयपत्री फूलको व्यवसायिक खेतीले गर्दा वडा नं.५ कर्मीटार फूलैफूलले ढकमक्क भएको छ । हरेक घरको बारीमा सयपत्री फूल फुलेको देख्दा जो कोहीको मन लोभ्याउने गर्दछ ।
उनीहरूले मखमली, गोदावरीभन्दा पनि बढी मात्रामा व्यवसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन् । यहाँका अधिकांश कृषक सयपत्री फूलको व्यवसायिक खेतीमा सक्रिय रहेका छन् ।
वडा कार्यालयले उन्नत जातको सयपत्री फूलको बीउ खरिद गरेर किसानहरूलाई दिएसँगै यो वर्ष सयपत्री फूलको उत्पादन बढेको धनकुटा–५ कर्मीटारका ताजा तरकारी तथा फलफूल उत्पादक महिला कृषक समूहका सदस्य सीता श्रेष्ठले बताइन् ।
उनले वडाले दिएको २० हजार अनुदान र समूहको २० हजार गरेर ४० हजार रुपैयाँले १० प्याकेट उन्नत जातको सयपत्रीको बीउ किनेर समूहका सदस्यहरूले आ–आफ्नो बारीमा लगाएको बताइन् ।
श्रेष्ठले भनिन्, ‘यो वर्ष ४ रोपनी बारीमा सयपत्री लगाएको छु ।’ उनले आफ्नो ४ रोपनी बारीमा १ प्याकेट बीउबाट ८ सयदेखि १ हजारसम्म सयपत्री फूलको बिरुवा लगाउँदा बीउ विजन र औषधिसहित २ हजार खर्च भएको बताइन् । उनले १ प्याकेट सयपत्रीको बीउलाई ४ हजारसम्म पर्ने गरेको बताइन् ।
अहिले उनको बारीमा १ हजार झ्याङ सयपत्री फूल बिक्री गर्न तयारी अवस्थामा छ । एक झ्याङ उन्नत जातको सयपत्रीको बोटमा ३ वटा मालालाई पुग्ने गरी फूल फुलेको हुन्छ भने बिक्री गर्दा होलसेलमा ३२ रुपैयाँमा १ झ्याङ दिने गरेको बताइन् ।
यता धनकुटा बजारमा भने एक झ्याङ फूललाई १ सयदेखि १ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर बारीमा आउँदा ग्राहक वा व्यापारीलाई प्रतिझ्याङ २५ रुपैयाँले दिँदा पनि नबिकेको गुनासो किसानहरूको छ ।
उनीजस्तै समूहकी अर्का सदस्य प्रिया श्रेष्ठ लिम्बूले पनि समूहबाट २ प्याकेट बीउ खरिद गरेर १० रोपनी बारीमा सयपत्री लगाएकी छन् । अहिले उनीसँग २ हजार झ्याङको हाराहारीमा सयपत्री फूल ढकमक्क फुलेको छ ।
प्रति झ्याङ होलसेलमा ३२ रुपैयाँले बेच्दा पनि लिम्बूको फूलको कुल मूल्य ६४ हजार हुन्छ ।
खुद्रा बेच्दा बढी फाइदा भए पनि फूल नसकिने भएकाले होलसेल प्रतिझ्याङ ५० रुपैयाँले बेच्दा बेच्दै ३२ रुपैयाँमा दिँदा पनि फूल नबिकेको लिम्बूले बताइन् ।
अघिल्लो वर्षदेखि समुदाय सहयोग कार्यक्रम विराटनगरले थाइल्याण्डदेखि उन्नत जातको सयपत्री फूलको बीउ मगाएसँगै यहाँका किसानहरूले सयपत्री फूलको व्यवसायिक खेती गर्न थालेको उनले बताइन् ।
समूहका अर्का सदस्य दीपेन्द्र श्रेष्ठले आफै दुःख गरेर १ हजार बिरुवा लगाउँदा १२ देखि १५ हजार खर्च हुन्छ, प्रतिझ्याङ ५० रुपैयाँले बिक्री गर्न पाए ५० देखि ६० हजारसम्म कमाउन सकिने उनले बताए ।
उनीजस्तै समूहका अरु ३० जनाभन्दा बढी सदस्यहरूले सयपत्री फूलको व्यवसायिक खेती गर्दै आएका छन् । तीसजना कृषकको जनही ५० हजारकै दरले मात्र हिसाब गर्ने हो भने पनि एउटा मात्र समूहमा १५ लाखभन्दा बढी मूल्यको फूल उत्पादन भएको देखिन्छ ।
सोही वडाका सयपत्री फूलका स्थानीय व्यापारी गोविन्द श्रेष्ठले भने आफूले गाउँबाट खरिद गरेर धनकुटा बजारमा प्रतिझ्याङ १ सय ५० रुपैयाँसम्ममा बिक्री गरेको बताए ।
उनले फूलका पारखीहरूलाई माला बनाउँदा पनि ३ वटासम्म सजिलैसँग बन्ने र गमलामा जरासँगै सजाउँदा झन् राम्रो देखिने भएकाले फाइदा पुग्ने बताए । उनले अहिलेसम्म आफ्नो बारीमा लगाएको १५ सयभन्दा बढी बोट सयपत्री फूलको १ झ्याङ पनि बिक्री नभएको बताए ।
उनले गाई तिहारे औंसीको दिनसम्ममा बिक्ने आशा राखे पनि औंसीको अघिल्लो दिनसम्म कुनै व्यापारी सम्पर्कमा नआएको बताए ।
त्यसैगरी सोही वडा निवासी सल्लेरी आधारभूत प्राथमिक विद्यालयका प्रअ कृष्ण सुवेदीले पनि यो वर्ष भनेजस्तो सयपत्री फूल बिक्री नभएको बताए ।
‘अघिल्लो वर्ष फूलको मूल्य आएको देखेर सबैले फूल लगाए तर यो वर्ष ग्राहक आएनन्’ –सुवेदीले भने ।
भारतीय फूल नेपाल भिœयाउन राज्यले प्रतिबन्ध लगाएर नेपालको गाउँघरमा उत्पादन भएका सयपत्री फूल प्रयोग गर्ने वातावरण बनाउनसके सयपत्री फूलको व्यवसायिक खेती बाह्रैमास यहाँ हुने देखिन्छ ।
विदेशी फूललाई विस्थापित गरेर स्वदेशी फूल लगाउने अभियान स्थानीय सरकारले गर्नुपर्ने फूल खेती गर्ने कृषकहरूको माग छ ।
स्थानीय वडा सरकारले अनुदान स्वरूप सयपत्री फूलको खेती गर्न दिएको बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन भारतीय फूललाई प्रतिबन्ध वा विस्थापित गर्नुको विकल्प नरहेको उनीहरूको भनाइ रहेको छ ।