पथरी/सडक ठेक्का पाएको कम्पनीको बेवास्ताको कारण कानेपोखरी–रङ्गेली सडक धुलाम्मे हुँदा मानव स्वास्थ्यमा समस्या हुने देखिएको छ । भारत सरकारको अनुदानमा लामा डाँफे दी कञ्चनजङ्घा कन्स्ट्रक्सन प्रालिद्वारा निर्माण भइरहेको कानेपोखरी–रङ्गेली सडक धुलाम्य भई मानवस्वास्थ्यमा समस्या भएको हो ।
सडक आसपासमा बसोबास गर्ने स्थानीय र सडकमा हिँड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, सिटी सफारी, स्कुल बस, भेनलगायतमा सवार गर्ने जो कोही पनि समस्या भोग्न बाध्य रहेका छन् ।
त्यसले गर्दा मानवस्वास्थ्यमा ठूलो असर परेको छ । रङ्गेलीबाट कानेपोखरी आउने–जाने यात्रुवाहक बस, सिटी सफारी, टेम्पो, ट्याक्टर, टिपर, मोटरसाइकल लगायतका सयौं सवारीसाधन सडकमा गुड्ने गर्दछन् । त्यसले गर्दा सडक आसपासका घरका छाना र घर धुलोले प्रभावित भएका छन् ।
बयरवन स्वास्थ्य चौकीका इञ्चार्ज कामेश्वर अधिकारीका अनुसार सडकको धुलो मानवजीवनमा सबैभन्दा खतरा रहेको बताएका छन् । बच्चा, युवा र वृद्धा सबैलाई धुलोले असर गर्छ ।
बच्चाहरूलाई निमोनिया, रुघाखोकी र अरुलाई पनि श्वास–प्रश्वासमा समस्या आउने इञ्चार्ज अधिकारीले बताए ।
सडकमा धुलोले धेरै समस्या आएपछि कानेपोखरी गाउँपालिकाले नियन्त्रणको प्रयास गरेको छ । अहिले बिहान, दिउँसो र बेलुका सडकको चोक–चोकमा एउटा ट्याक्टरले पानी लगाउँदै आएको छ ।
तैपनि धुलोको समस्या उस्तै रहेको स्थानीय बताउँछन् । दशैं–तिहारमा कम्पनीले काम नगरेकोले गाउँपालिकाको रकमबाट केही ठाउँमा धुलो नियन्त्रणको प्रयास थालेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।
कम्पनीले काम गरिरहँदा पनि सडकमा धुलो नियन्त्रण गर्ने गरेको थिएन । कानेपोखरी–रङ्गेली सडक–खण्ड जम्मा २५ किलोमिटर कालोपत्रे गर्न कम्पनीले ठेक्का लिएको छ ।
कम्पनीले सो सडकमा अहिले लगभग ९ किलोमिटर केरौन चौकसम्म बेस र सवबेस लगाएर कालोपत्रे गर्न तयार पारेर छाडेको छ । कम्पनीका कामदारहरू काम गर्दै रङ्गेलीतर्फ गएपछि उत्तरतर्फमा धुलोको समस्या बढ्र्दै गएको स्थानीय लक्ष्मण चौधरी बताउँछन् ।
कानेपोखरी हुँदै सोही सडकबाट निर्माणाधीन सडकसम्म ढुङ्गा, गिट्टीजन्य वस्तु टिपरबाट ओसार–पसार गर्नुपर्ने भएकोले तत्काल तयार पारिएको सडकमा पिच नगरेको स्थानीयहरूको बुझाइ छ ।
यस विषयमा बुझ्न लामा डाँफे दी कञ्चनजङ्घा कन्स्ट्रक्सन प्रालिका ठेकेदार चेञ्जिङ लामाको ९८५११६१२३७ नम्बरको फोनमा सम्पर्क गर्दा स्विचअफ रहेको छ ।
कुल ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा निर्माण हुन लागेको कानेपोखरी–रङ्गेली हुलाकी सडक २४.४ किलोमिटर लम्बाइको छ ।