भद्रपुर/ झापा प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा १ करोड २ लाख ४ हजार ९१ रुपैयाँ भन्सार चोरी तस्करी नियन्त्रणबाट राजस्व सङ्कलन गरेको जनाएको छ ।
ढुङ्गा, गिटी, बालुवा र काठबाट ३ लाख, बारुदजन्य पटाकाबाट ७ लाख ९४ हजार ५ सय ४६ र ५३ जना जुवाडेबाट ३ लाख ७३ हजार १ सय ३५ रुपैयाँ बरामद गरेको छ ।
लागूऔषध कारोबारमा संलग्न ६४ जना, फैसला कार्यान्वयनअन्तर्गत फरार रहेका ८२ जना, यौनजन्य गतिविधिमा संलग्न ७५ जना, गम्भीर अपराधमा संलग्न १ सय ४१ जना र गुण्डागर्दीमा संलग्न १ सय १० जना पक्राउ गरिएको एसपी भीमप्रसाद ढकालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गोरु कारोबारीले विभिन्न मितिमा भारततर्फ लैजाँदै गरेका ६१ ओटा चौपाया पक्राउ गरी भन्सारमा बुझाएको प्रहरीको भनाइ छ । प्रहरीले झापाको भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, कोरोबारी, सतिघट्टा, केचनालगायतका क्षेत्रबाट विभिन्न समयमा सादा तथा गस्ती प्रहरीले बरामद गरेको ढकालले जनाए । प्रहरीले बरामद गरेको पटाकालाई भने पत्रकारको उपस्थितिमा नष्ट गरिएको थियो ।
प्रहरीले भदौ–३ बाट यौनजन्य हिंसा न्यूनीकरण गर्न ‘टोल–टोलमा प्रहरी’, असोज १५ बाट ‘पीडितको साथी प्रहरी’ र प्रधान कार्यालयबाट
जारी भएको कात्तिक ११ बाट ‘समुदाय प्रहरी साझेदारी’ अभियान जारी राखेको छ ।
सशस्त्र प्रहरी पनि सक्रिय झापामा सशस्त्र प्रहरी बलले समेत अपराध नियन्त्रणमा सक्रियता देखाइरहेको छ । सशस्त्र प्रहरी बल गण नम्बर २ ले साढे तीन लाख मूल्य बराबरको सामाग्री बरामद गरेको छ ।
झापाको भद्रपुर र काँकडभिट्टाबाट सामग्री बरामद गरेको जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा गणबाट खटिएको प्रहरी टोलीले मोटर पार्टस, कस्मेटिक र कपडा गरी उक्त मूल्य बराबरको सामग्री बरामद गरिएको सशस्त्रका डिएसपी तथा प्रवक्ता ओजिस ओलीले बताए ।
सशस्त्रले चालु आर्थिक वर्ष यता करिब एक करोड रुपैयाँ राजस्व उठाएको छ भने विभिन्न आपराधिक कृयाकलापमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।