बेलबारी / हिजोआज व्यक्तिगत रूपमा रिर्सोट तथा विभिन्न फन पार्कहरू निर्माण गरेर आय–आर्जनको गर्ने राम्रो व्यवसायको रूपमा देखा परेको छ । आन्तरिक पर्यटकहरूको रमणीय स्थलमा घुम्ने र मनोरन्जन लिने चाहनालाई मध्य नजर गरेर ती पार्क, रिर्सोटहरू बन्ने क्रममा छ । निजी रूपमा स्थापना भएका विभिन्न रिर्सोटहरूको अवधारणालाई पछ्याउँदै अहिले सामुदायिक रूपमा पनि प्राकृतिक वस्तुहरूको विकास र प्रवद्र्धन गर्दै आन्तरिक स्रोतको माध्यम बनाउन थालिएको छ । त्यसको एउटा नमूनाको रूपमा मोरङको बेलबारीमा वेतना सिमसारलाई लिन सकिन्छ । समुदायको स्वामित्वमा रहेको वेतना सिमसार केही समयअघि बेलबारी–४ का कृषकहरूको सिंचाइका निम्ति बनेको बाँधबाट विकास भएको हो । त्यही वतौना बाँध आज वार्षिक एक करोडभन्दा बढी रकम आम्दानी गर्ने स्थलको रूपमा परिणत भएको छ । शुरुमा वेतना सिमसारलाई संरक्षण समितिले सञ्चालनमा ल्याएको थियो । २०७२ सालमा जिल्ला वन कार्यालयमा दर्ता गरी सामुदायिक वनको अवधारणा अन्तरगत सञ्चालन गर्न थालिएको छ । अहिले वेतना सिमसारमा आगन्तुकहरूको सङ्ख्या बढ्दै गइरहेको छ । अहिले दैनिक एक हजारभन्दा बढी मानिसहरूको चहल पहल हुने गरेको छ । वेतनामा पिकनिकको समय र नयाँ वर्षमा मानिसहरू असाध्यै भिड लाग्ने गरेको छ । गत नयाँ वर्षको अवसरमा ८ हजार जनाले वेतना सिमसार अवलोकन गरेको समितिका सचिव निशाकिरण राईले बताइन् । गत वर्ष यस समूहले एक करोड दुई लाख आन्तरिक स्रोतका रूपमा आर्जन गरेको राईले बताइन् । विशेष गरेर प्राकृतिक दृश्यको अवलोकन तथा जैविक विविधताको अध्ययनका लागि मानिसहरू आउने गरेका छन् । मानिसहरूको आवत्–जावत्ले सिमसारदेखि दक्षिणमा २५ वटा खाजा घरहरू आयआर्जनको स्रोतका रूपमा सञ्चालनमा छन् । वेतना सिमसारलाई अझ बृहत रूपमा विकास तथा प्रवद्र्धन गर्न २० वर्षे गुरुयोजना बनिसकेको छ । गुरु योजना बनेसँगै वेतनाको स्वरुप पनि नयाँ बन्न थालेको छ । एक सय ७४ हेक्टरमा फैलिएको सिमसारलाई तीन खण्डमा विभाजन गरिएको छ । खण्ड १ लाई प्रयोग क्षेत्र, २ लाई मानव नियन्त्रित क्षेत्र र खण्ड ३ लाई संरक्षित क्षेत्र बनाइने भएको छ । यहाँ चिडिया घरदेखि लिएर विभिन्न जातिहरूको संस्कृति झल्कने सङ्ग्रहालयसम्म बनाउने अवधारणा ल्याइएको छ । पिकनिक, बोटिङ, फन पार्क, ध्यान केन्द्रलगायतका भौतिक वस्तुहरूको निर्माण हुने भएको छ । साथै जैविक विविधताको विषयमा अध्ययन अवलोकनका लागि सूचना केन्द्रसमेत स्थापना गरिने गुरुयोजनामा उल्लेख छ । हाल सिमसारको अग्रभागमा फाउण्टेन पोखरी, काठका पुल तथा पिकनिक स्पटहरूलाई विस्तार गरिएको समितिका अध्यक्ष डम्बर बस्नेतले बताएका छन् । विद्युत भोल्टेजको अभावमा फाउण्टेन पोखरी सञ्चालनमा आउन नसकेको कारण थप विद्युत विस्तार गर्नुपर्ने बस्नेतको भनाइ छ । सिमसारको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि एक करोड रकम विनियोजन गरेको छ । वेतना सिमसारलाई गुरु योजनाअन्तर्गत निर्माण गर्न समय लाग्ने भएको हुँदा यो निर्माण भइसक्दा नेपालकै नमूना पर्यटकीय क्षेत्र बन्ने बस्नेतको भनाइ छ । सीमसार अध्यक्षका आकांक्षी धेरै समूहका अध्यक्ष डम्बर बस्नेत नेतृत्वको समितिको कार्यवधि असार मसान्तमै सकिएपछि अबको नेतृत्व कसले लिने भन्ने विषयमा यतिखेर बेलबारीमा छलफल प्रारम्भ भएको छ । विधानतः तीन वर्षे कार्यकाल समाप्त भए तापनि विधानको विशेष परिस्थिति मुताविक ६ महिनामासम्म कार्य गर्ने व्यवस्था छ । सोहीअनुसार यस समितिले आफूले गरेको काम कारबाहीलाई अन्तिम रूप दिन लागेको हो । समितिको कार्यवधि सकिएलगत्तै अहिले सिमसारको अध्यक्षमा आउन धेरैले आकांक्षा देखाएको पाइएको छ । वेतना सिमसारले कमाएको प्रसिद्धि सँगसँगै यसलाई थप व्यवस्थित बनाउन आफूहरूसँग योजना रहेको उल्लेख गर्दै अध्यक्षका आकांक्षीहरूले आन्तरिक पहल लिन शुरु गरेका छन् । वेतना सिमसारको अध्यक्षका लागि वर्तमान अध्यक्ष डम्बर बस्नेत आफैं अध्यक्षमा आउने इच्छा व्यक्त गरेको बुझिएको छ । समूहको गुरु योजना निर्माण पछिका कार्यलाई निरन्तरता दिन उनी अध्यक्षमा आउन पुनः इच्छा जाहेर गरिएको बुझिएको छ । त्यसैगरी समितिका वर्तमान सचिव निशाकिरण राई र कोषाध्यक्ष कमल कोइराला पनि सिमसारको नेतृत्वमा आउने मनसाय रहेको बुझिएको छ । अघिल्लो पटक राजनीतिक सहमतिमा टुङ्गिएको वेतना सिमसारको नेतृत्व यसपटक चुनावी प्रक्रियामा जाने सम्भावना पनि उत्तिकै देखिएको छ । राजनीतिक सहमतिमा टुङ्गियो भने यस पटक अध्यक्ष नेकपाले पाउने छ । तर वेतना सिमसारको अध्यक्षको आकांक्षी नेकपाका नेतृत्वमा बढी देखिएको कारण पार्टीलाई व्यवस्थापन गर्न कठिनाइ पर्ने देखिएको छ । वेतना सिमसारको अध्यक्षका लागि नेकपाभित्र गाविस पूर्वअध्यक्ष शिवप्रसाद बरालले अध्यक्ष बन्न पहल लिन शुरु गरेको बुझिएको छ । त्यसैगरी नेकपा भित्रका जिल्ला स्तरीय नेताहरूले पनि सिमसारमा नेतृत्व गर्न इच्छा जाहेर गरेको बुझिएको छ । तिहारलगत्तै सिमसारको अध्यक्षको लागि लबिङ शुरु हुने देखिएको छ ।