ताप्लेजुङ / ताप्लेजुङमा करोडौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ । जिल्लाको फुङलिङ नगरपालिका–७ मा ठूलो लगानीमा प्लाइउडका कच्चा पदार्थ उत्पादन गर्ने कन्काई भेनियर उद्योग शुरु गरिएको हो । एक करोडको लगानीमा भेनियर उद्योग शुरु गरिएको भेनियर सञ्चालक मानबहादुर भट्टराईले जानकारी दिए । जिल्लामा भएका स्रोतसाधनलाई परिचालन गर्दै उद्यमशीलताको विकासका लागि प्लाइउडको कच्चा पदार्थ उत्पादन उद्योग शुरु गरिएको सञ्चालक भट्टराईको भनाइ छ । खासगरी झापामा निर्यात गर्ने गरी प्लाइउडको कच्चापदार्थ उत्पादन शुरु गरिएको बताइएको छ । जिल्लामा प्रशस्त मात्रामा उत्तिस पाइने भएकाले प्लाइउड बनाउने कच्चापदार्थ उत्पादक उद्योग शुरु गरिएको बताइएको छ । मासिक ३० लाख बराबरको कारोबार समेत शुरु हुन थालेको भट्टराईले जानकारी दिए । उद्योगमा ४० जना मजदुरले काम गरिरहेका छन् । उद्योगमा मजदुरको क्षमता हेरी पारिश्रमिक तोकिएको छ । उद्योगमा कार्यरत मजदुरले ४ सयदेखि १ हजार रुपैयाँसम्म दैनिक पारिश्रमिक पाउने सञ्चालक भट्टराईको भनाइ छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिसले राम्रो मूल्य पाउने वातावरण बनेको छ । यता भेनियर उद्योग सञ्चालनमा आएपछि जिल्लामा आयात गरिने खाद्यपदार्थको ढुवानी खर्चसमेत घटेको बताइन्छ । प्लाइउडको कच्चापदार्थ लिनको लागि मालवाहक ट्रक आउने गरेकाले थोरै ढुवानी खर्चमा नै खाद्यपदार्थ जिल्ला भिœयाउन सकिएको व्यवसायी बताउँछन् ।