लाहान/ जन्मदिनको पार्टी दिने भन्दै लगेर ७ जना युवाले दुई किशोरीलाई सामूहिक बलात्कार गरेका छन् ।
दुई युवाले आफ्नो जन्मदिन भएको भन्दै युवतीलाई लाने क्रममा लाहान नगरपालिका–११ स्थित भोटियाटोलको फूलबारीमा सामूहिक बलात्कार गरेका हुन् ।
सिराहा लक्ष्मीपुर पतारीकी १५ वर्षीया किशोरी र २० वर्षीया युवतीमाथि बलात्कार गरेका हुन् । उनीहरूले फूलबारीमा लगेपछि अन्य थप ५ युवाहरू लुकेर बसेका थिए ।
बलात्कारको क्रममा भागेर गाउँ पुगेकी उनले गाउँलेको सहयोगमा इलाका प्रहरी कार्यालय लाहानलाई खबर गरेकी थिइन् । खबर पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरीको टोलीले नाबालिकाको उद्धार गरेको थियो ।
प्रहरी पुग्दा बलात्कारमा संलग्न सबै फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय लाहानका प्रवक्ता इन्स्पेक्टर विजय यादवले घटनामा संलग्न तीनजनाको पहिचान खुलिसकेको जनाए ।
पीडित दुवैले दिएको बयानअनुसार लाहान नगरपालिका–११ का हरि चौधरीले आफ्नो जन्मदिन भएको भन्दै गाउँकै अनिल चौधरी र सुनिल चौधरीलाई उनीहरूलाई लिन पठाएका थिए ।
त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा आफ्नै दुई नाबालिका छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ ।
कानेपोखरी–५ का ३९ वर्षीय बाबुलाई पक्राउ गरेको हो । १२ वर्षीया र १४ वर्षीया नाबालिका छोरीहरूलाई पटक–पटक करणी गरेको अभियोगमा असोज २० गते पक्राउ गरेको हो ।
मावलीघर गएको बेला घर फर्कन नमानेपछि करणीको रहस्य बाहिर आएको प्रहरीले जनाएको छ ।
ज्वाइँको हर्कत थाहा पाएपछि मावलीबाट असोज २० गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको इन्स्पेक्टर कमल बजगाईले बताए ।
उनीविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाएको इन्स्पेक्टर बजगाईले बताए ।