धनकुटा/धनकुटामा स्थापित औद्योगिक ग्राम कार्यविधिको अभावमा गौचरनमा परिणत भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले आर्थिक वर्ष ०७४/७५ मा निर्माण सम्पन्न गरेको ग्राम अहिले गौचरनमा परिणत भएको हो ।
घरेलु तथा साना उद्योग सङ्घीय या प्रदेश कहाँ रहने भन्ने अन्यौलताका कारण कार्यविधि नबन्दा गौचरनमा परिणत भएको छ । धनकुटा नगरपालिका–६ मा ग्राम स्थापना गरिएको छ ।
स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि नेपालमै पहिलो पटक औद्योगिक ग्राम स्थापना गरिएको हो ।
ग्राम स्थापना भएको ६ महिना बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
२०३९ सालमा धनकुटा नगरपालिका–६ अमलाटारमा ५९ रोपनी जग्गामा औद्योगिक ग्राम स्थापना भएको छ । तर लामो समयसम्म कुनै पनि उद्योग स्थापना हुन नसक्दा र संरक्षणको अभावमा बेवारिसे बनेको छ ।
औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर पहिलो पटक औद्योगिक ग्राम स्थापनाको तयारी गरिएको हो ।
ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लाका घरेलु उद्योगहरूको प्रवद्र्धनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख दीपक पौडेलले बताए ।
करिब साढे ३ करोडको लागतमा ग्रामको पहिलो चरणमा १३ वटा ‘बी’ टाइपका ब्लक निर्माण भएको हो । अब थप दुई चरणमा गरी ‘ए’ र ‘सी’ टाइपका थप ब्लकहरू निर्माण गरिनेछ ।
थप ब्लक निर्माणका लागि चालु आ.व. ०७५/७६ मा २ करोड ५० लाख रूपैयाँ आइसकेको उनले बताए ।
कार्यालय प्रमुख पौडेलले बजेट विषयान्तर भएर पुल र बाटोलाई भनेर आएकाले पुनः शीर्षक सुधारको लागि मन्त्रालयमा पठाएको बताए ।
ग्राम स्थापना हुने भएपछि खुसी बनेका स्थानीय अहिले निराश बनेका छन् । धेरैखाले उद्योग एकै स्थानमा हुँदा फाइदा हुने र रोजगारीको अवस्था सिर्जना हुने उद्यमी प्रकाश राईले बताए ।
अमलाटारको औद्योगिक ग्राम धनकुटा बसपार्कदेखि २ किलोमिटरको दूरीमा पर्दछ ।