नयाँदिल्ली / भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन् । प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ ।
सङ्कलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभएको समाचारमा उल्लेख छ । एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ । जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन् । निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टीका लागि नेसनल इन्स्टीच्युट अफ भाइरोलोजी पुणेमा पठाएको छ । (रासस)