लक्ष्मीपूजाको ६ दिनपछि कात्तिक शुक्ल षष्ठि तिथिमा मनाइने छठ पर्वको तयारी सम्पूर्ण श्रद्धालु एवम् ब्रतालु भक्तजनहरूले गच्छेअनुसार आ–आफ्नो तरिकाले विधि विधानअनुसार गरेको पाइन्छ । चार दिनसम्म मनाइने यो पर्व अन्य पर्वको तुलनामा अलग र विशेष प्रकृतिको हुन्छ । यस पर्वले जहाँ धार्मिक परम्परालाई डोर्याउदै ल्याएको छ भने यस पर्वले सबै जाति वर्ग समुदायलाई एकताको सुत्रमा बाध्ने प्रयास गरेको छ । एकताका तराईवासी र तराईको पनि निश्चित भू–भागमा मात्र मनाइने यो पर्व मधेशी वर्ग र तराईमा मात्र सीमित नभएर आज काठमाण्डौ उपत्यकादेखि लिएर तराईसहित पहाडी भू–भागमा समेत हर्सोल्लासपूर्वक मनाउँदै आएको देखिन्छ । जसमा ब्राम्हण क्षेत्री नेवार विभिन्न जनजाति दालितलगायतका सबै जातजातिहरूको ( ब्रत नबसे पनि ) सहभागिता र विश्वास रहेको देखिन्छ ।

छठको इतिहास

किंवदन्तिअनुसार एक देशका एक जना राजा प्रियवन्त थिए जसको कुनै सन्तान थिएन सन्तान अर्थात पुत्र प्राप्तिको लागि राजाले कश्यप ऋषिबाट पुत्ररत्न प्राप्तिको लागि यज्ञ गराए जसमा आहुतिको लागि तयार गरिएको खीर रानी मालिनीलाई खान दिइयो नभन्दै नौ महिनापछि रानी मालिनीले पुत्रलाई जन्म दिइन तर दुर्भाग्यवस पुत्र मृत जन्म्यो । यो घटना सुनेर राजा प्रियवन्त अति दुखित भए र अन्त्यमा आफ्नो प्राण त्याग गर्न जलाशयमा प्राणको आहुति दिन लागे सोही समयमा माता षष्ठि देवी प्रकट भइन् र राजालाई मेरा पूजा गरे तिमीलाई पुत्रको सुख प्राप्त हुनेछ भनेर आशिर्वाद दिइन र निश्चित समयको अन्तरालमा रानी मालिनीले पुनः पुत्र रत्न प्राप्त गरिन भन्ने भनाइ छ र त्यसै बेलादेखि छठ माता (षष्ठि देवी) को पूजा आराधना गरिआएको पाइन्छ । धार्मिक ग्रन्थ, पुराण एवम् उपनिषदहरूमा छठ पर्वको महिमाबारेमा विभिन्न रोचक तथ्यहरूको ब्याख्या गरेको पाइन्छ । द्रोपदीले छठ ब्रत गर्दा धर्मराज युधिष्ठिरलाई युद्धमा विजय हासिल गर्न सहज हुनुका साथै आफ्नो गुमेको राज्यसहित सर्वसम्पति प्राप्त गर्ने सम्मको सौभाग्य प्राप्त भएको थियो ।

महत्व

छठ पर्वमा छठ माता (षष्ठि देवी) को मात्र पूजा उपासना नभएर सूर्यदेवको समेत पूजा उपासना गर्ने गरिन्छ । छठ पर्वको तेस्रो दिन अर्थात षष्ठि तिथिमा ब्रतालुहरू दिनभरि ब्रत बसी साझ नदी, तलाव, कुण्ड, जलसाय जहाँ पानी छ त्यहा गएर अस्ताउदै गरेको सूर्यलाई अघ्र्य दिई पूजा आरम्भ गरेका हुन्छन् भने छठको चौथो तथा अन्तिम दिन अर्थात सप्तमी तिथिमा उदाउदो सूर्यलाई अघ्र्य दिई पूजा सम्पन्न गर्ने गर्ने गर्दछन् ।

यो छठ पर्व जहा धार्मिक दृष्टिकोणले जति उत्कृष्ट छ त्योभन्दा बढी सामाजिक र वातावरणीय दृष्टिकोणलेसमेत महत्व बोकेको पाइन्छ । यस पर्वलाई शुद्धता र अहिंसाको पर्वभन्दा पनि अतियुक्ति नहोला । लक्ष्मीपूजाभन्दा अगावै घर आँगन सरसफाइ तथा रंग रोगन गरेपछि घरमा माछा मासु मदिरासहित लसुन तथा प्याज निषेध गरिएको हुन्छ । घरमा पूजालाई आवश्यक पर्ने प्रसाद उखु, केरा, स्याउ, सुन्तला, भोगटे, नरिवल, सक्खर (चिनी) आँटा लगायतका सामाग्रीहरू घरमा ल्याउन थालेपछि त्यसलाई सफा र अलग्गै कोठामा राखिने गरिन्छ र नियम विधिअनुसार चोखो र सरसफाइलाई ध्यान दिर्इ पूजा कार्य प्रारम्भ गरिन्छ । पूजा सामाग्रीलाई जुठो हातले छुनु, जुठो पार्नु र कुनै पशुपंक्षीसमेतले जुठो पारेको प्रसाद सामाग्री छठ पूजाको लागि अपवित्र मानिन्छ ।

छठ ब्रत बस्नाले पारिवारिक सुख शान्ति पाइने, स्वस्थ रहने, दुख दरिद्रताबाट मुक्त हुने विश्वास रहिआएको छ । छठको अन्तिम दिन अर्थात सप्तमी तिथिमा उदाउदो सूर्यलाई जल अर्पण गर्दा शरीर स्वस्थ हुने चर्म रोग ठीक हुने वैज्ञानिक आधार रहेको पाइन्छ । अन्य दिनको तुलनामा उक्त दिन सूर्यबाट निस्कने किरण (तेज) शरीरको लागि फाइदाजनक हुने मानिन्छ । छठ पर्व नेपाल र भारतको विभिन्न भू–भाग, प्रदेशलगायत विदेशमा रहने हिन्दु धर्मावलम्बीहरूले आफू रहे बसेको स्थानमा पनि मनाउने गरको पाइन्छ । यस पर्वमा उच निच जाति भनेर छुटयाइएको पाइदैन ब्राम्हण क्षेत्रीदेखि लिएर सबै जातजातिले अछुत मानिएका समुदायले तयार गरेको बाँसको सामाग्री डाला, सुप आदिमा पूजाका लागि तयार गरिएको प्रसाद राखी छठ मातालाई अर्पण गर्नुपर्ने हुन्छ भने पूजा स्थलमा समेत एकै ठाँउमा बसी पूजा आराधना गरेको पाइन्छ । सबै जाति समुदायका परिवारका सबै सदस्यहरू मिलि एउटै स्थालमा एकै ठाँउमा एउटै समयमा पूजा गरिने हुनाले छठ पर्वलाई समाबेशी पर्वको रूपमा लिन सकिन्छ ।

जसरी दशैमा टाढा टाढा देश विदेशमा रहेका दाजुभा दिदीबहिनीहरू बाबुआमासँग टीका ग्रहण गर्न घर आउछन् । त्यसरी नै यो पर्वमा घर बाहिर रहेका आफ्ना छोराछारी लगायत परिवारका सदस्य, नातेदार , इष्टमित्र एकत्रित भई हर्सोल्लासपूर्वक यो सदभावको पर्वमा सहभागी हुने परम्परा चलिआएकोछ । छठ पर्वले छरिएर रहेका परिवारलाई एकताको सुत्रमा गाँस्ने कार्य गरेको देखिन्छ । मनमुटाव झै–झगडालाई बिर्सि आशिर्वाद लिने प्रसाद मागेर पनि खानुपर्नेजस्ता एउटा अलग आत्मीय सम्बन्ध विकास गर्ने पर्वको विशेष महत्व छ ।

आजको समयमा छठ पर्वको नाममा समाजमा धेरै विकृति र नकारात्मक पक्षहरू बढ्दै गएको देखिन्छ । एकातिर छठ पर्व मनाउन भनेर घर आँगन वरपर सफा गर्ने तथा स्वच्छ राख्ने कार्य गरिन्छ भने अर्को तर्फ छठ पर्व गर्ने क्रममा खोला नदीनाला, पोखरी, तलाउ, कुण्डजस्ता पानीका स्रोतहरूमा पूजामा प्रयोग गरिएका प्लास्टिकजन्य सामाग्रीहरू झोला, चिया पिउने कप, गिलास, अगरबत्ति, सलार्इका खोलहरू, पानीका बोतलहरू फाल्ने कार्य हुन्छ । यो पर्वमा ३६ घण्टासम्म उपवास बस्नुपर्ने भएको अवस्थामा समेत रोगी असक्त प्रकृतिका महिला पुरुषहरूले ब्रत गरेको पाइन्छ । जुन स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नहुन सक्छ । हरेक वर्ग समुदायका मानिसहरूले आफ्नो शक्ति सामर्थ्यअनुसार यो पूजा गर्न सकिने भए तापनि आधुनिकताको नाममा बढी खर्च गरी देखाउने परिपाटीको अन्त्य गर्नुपर्ने हामी सबैको जिम्मेवारी रहेको देखिन्छ ।

स्थानीय क्षेत्र तथा स्थलमा गरिने यो पूजालाई स्थानीय सरकारले चासो दिनु जरूरी छ । सरसफाइदेखि लिएर हुन सक्ने झै– झगडा, चोरी, आतिशबाजीमा समेत स्थानीय तहको ध्यान जानुपर्ने हुन्छ । पूजास्थलमा उत्पन्न हुने फोहोरमैलालाई व्यावस्थापन गर्न पूजा ब्यवस्थापन समिति तथा क्लबहरूले स्थानीय गाँउँपालिका तथा नगरपालिकाहरूसँग समन्वय गरी आफ्नो अहम् भूमिका निर्वाह गर्नु आवश्यक छ । यति धेरै सद्भाव , आश्था र विश्वास बोकेको यो पर्वलाई सबै क्षेत्रबाट उत्तिकै महत्व दिन सके यो पर्वले भौगोलिक, धार्मिक, साँस्कृतिक पर्यटन क्षेत्रको विकासमा समेत सघाउ पुर्याउनेमा दुई मत छैन ।

ब्लाष्टखबर युट्युब