उदयपुर/उदयपुरको उत्तरी गाउँपालिकामा १३ वर्षीय बालिका मृत फेला परेपछि घटनाको अनुसन्धानको लागि कुकर सहितिको टोली परिचालन गरिएको छ ।
रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको बलत्कारपछि हत्या भएको आशंकामा तालिम प्राप्त कुकुर सहितको टोली जिप्रका उदयपुरको प्रहरी नायव उपरिक्षक अर्जुन रानाभट्टको नेतृत्वमा परिचालन गरिएको हो ।
आईतबार बेलुका घटना स्थल पुगेको टोलीले प्रारम्भीक अनुसन्धान पछि थप अनुसन्धानको लागि दक्ष कुकुर सहितको टोली मागेको थियो । धरानबाट कुकुर ल्याउनु पर्ने भएकोले राती कुकुर सहितको टोली घटनास्थल पठाएको जिप्रका उदयपुरको प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए ।
घटना गम्भिर भएकोले सुक्ष्म ढंगले अध्ययन भईरहेको राईले बताए ।
शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिडेकी दुर्गाबहादुर खड्काको छोरी आइतबार नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको थियो ।
बेलुका अबेर सम्म घर नफर्के पछि उनको भाईले छिमेकीलाई भनेर गाउँलेहरुले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोलीले शव फेला परेको ठाउँ देखि करिब २५ मिटर पर बालिकाले बोकेको कचिया र उनको चप्पल फेला पारी उक्त ठाउँमा बालिकाको बलत्कार पछि हत्या भएको हुन सक्ने अनुमान गरेको वडा अध्यक्ष दुर्गाराज खड्काले बताए ।
मृत अवस्थामा भेटिएको बालिकाको मुखमा नेप्किन (हात पुछ्ने कागज) खादिएको र निलडाम सहित अर्धनग्न अवस्थामा शव फेला परेको स्थानियले बताए ।
पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल उदयपुर लगिएको छ भने पोष्टमार्टमको रिपोर्टपछि मात्र बलत्कार पछि हत्या गरिएको हो वा होईन एकिन हुने प्रहरीले जनाएको छ ।