ताप्लेजुङ/ ताप्लेजुङमा खुकुरी प्रहारबाट गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौं लागिएको छ । ताप्लेजुङमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ हस्पिटल लगिएको हो ।
तिहार मान्न माइत आएकी बहिनी र बहिनीकी छोरीहरूलाई आफ्नै दाईले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ स्थित चेकपोइन्ट छेऊ ढाँडधाराका ३० वर्षीय विवस मगरले मंगलबार बिहान आफ्नै बहिनी र भान्जीहरूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
बिहान २६ वर्षीय रेनुका मगर भुजेल, उनकी छोरी ८ वर्षीया कृष्टिना भुजेल र ६ वर्षीया ओरीना भुजेललाई विवशले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक काशीनाथ रेग्मीले बताए । घाइतेहरूको टाउकोमा गम्भीर चोट लागेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । खुकुरी प्रहार गर्ने विवश समेत घाइते भएका छन् ।
उनको पेटमा गम्भीर चोट लागेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।