उदयपुर/ उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको हत्याको आशंकामा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ ।
बालिकाको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय युवाहरूलाई सोधपुछको लागि सोमबार प्रहरीले पक्राउ गरेको हो । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि पाँच युवा नियन्त्रणमा लिएको जिप्रका उदयपुरको प्रमुख प्रहरी उपरीक्षक (एसपी) चन्द्रदेव राईले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धान पछि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले शवदेखि केही मिटर पर खोल्सामा घटना घटेको हुन सक्ने अनुमान गरेको छ भने बालिकाको चप्पल फेला परेको प्रहरीले जनाएको छ । इकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार घटना स्थल पुगेको थियो ।
पोष्टमार्टमको लागि शव जिल्ला ल्याई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ भने पोष्टमार्टमको रिपोर्टपछि मात्र बलात्कार पछि हत्या गरिएको हो वा होइन एकिन हुने प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी दुर्गाबहादुर खड्काकी छोरी आइतबार अमलाको सडक नजिकै खरबारीमा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव खरबारीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत अवस्थामा भेटिएको बालिकाको मुखमा नेप्किन (हात पुछ्ने कागज) खादिएको, मलद्वार च्यातिएको, योनी सामान्य अवस्थामा नरहेको र निलडाम देखिएकाले बलात्कार पछि हत्या भएको स्थानीयले दाबी गरेका छन् ।