विराटनगर/ भारतीयलाई नागरिकताको सिफारिस गरिदिने विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष, सदस्य र सचिव सुटुक्क अदालतमा उपस्थिति हुने तयारीमा रहेको खुलासा भएको छ ।

आफू निकट कानून व्यवसायीसँग रायसहितको सुझाव लिएर वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह र वडा सचिव पूष्षा तिम्सिना मोरङ अदालतमा उपस्थिति हुने स्रोतले जनाएको छ ।

झुठो विवरणमा सिफारिस दिने वडा अध्यक्ष अर्याल, कीर्ते कागजपत्र जुटाइ दिने सदस्य साह र वडा सचिव तिम्सिनासहित १५ जनालाई अदालतले पक्राउ गर्न १९ कार्तिकमा आदेश गरेको हो । यसपछि उनीहरू कानून व्यवसायीसँग परामर्श गरी अदालतमा आत्मसमर्पण गर्ने भएको स्रोतको दाबी छ ।

वडा अध्यक्ष, सदस्य र वडा सचिवले विराटनगरका नाम चलेका अधिवक्ता राखेर आफ्नो पक्षमा पैरवी गराउने भएका छन् ।

‘नक्कली बाबु बनी भारतीयलाई नागरिकता बनाइदिन सिपालु विराटनगरका–१ का सत्यनारायण पोद्दारको प्रभावमा परी सिफरिास गरिदिने जनप्रतिनिधि र वडा सचिव हालसम्म फरार छन्, प्रतिवादीहरू अहिले आफू निकटका कानून व्यवसायीसँग दैनिकजसो परामर्श लिँदै आएका छन्,’ नाम नबताउने सर्तमा अदालत स्रोतले भन्यो, ‘मंगलबार छठ पर्वको बिदा परेकाले सम्भवतः बुधबार अदालत खुल्ला भएमा उपस्थित हुनेछन् ।’ यसरी फरार अभियुक्तहरू आफू निकटका कानून व्यवसायीहरूसँग खुलेआम हिँडडुल गरे पनि प्रहरी बेखर छ । दलका दबावका कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन ।

कीर्ते गरी नागरिकता दिएको आरोप लागेका जनप्रतिनिधि र वडा सचिव अदालतमा उपस्थित भए सोही दिन न्यायाधीश समक्ष वयान दिनेछन् । बयान सकिए सोही दिन थुनछेक बहस हुनेछ । वादी र प्रतिवादीतर्फको कानून व्यवसायीहरूले बहस गरेपछि अदालतको आदेश आउनेछ ।

सरकारी वकिलको कार्यालयले अदालतमा १८ कार्तिकमा वडा अध्यक्ष अर्यालसहित १६ जनालाई प्रतिवादी बनाएर झुठो विवरणमा नेपाली नागरिकता लिए–दिएको अभियोगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले नक्कली बाबु बनी भारतीयलाई नागरिकता दिलाइदिने मुख्य अभियुक्त सत्यनारणलाई मात्र पक्राउ गरेको थियो । सत्यनारायण पक्राउ परेपछि वडा अध्यक्षसहित अन्य फरार भए ।

प्रहरीले सरकारी वकिलको कार्यालयमाफर्त अन्य १५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पक्राउ परेका सत्यनारण १९ कार्तिकमा अदालतको आदेशले पुर्पक्षका लागि मोरङ कारागार चलान भए ।

नक्कली बाबु बनेर सत्यनारणले हालसम्म सात भारतीयलाई नेपाली नागरिकता दिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनले वडा सदस्य रमेश साहलाई मोटो रकम दिएर सम्पूर्ण कागजपत्र जुटाइदिने काम गर्ने गरेका थिए भने कागजपत्र जुटाइदिएको पत्रमा वडा अध्यक्षले सिफारिस गरिदिने गरेको खुलासा भएको थियो ।

भारतीय नागरिकलाई नागरिकता बनाउन प्रतिव्यक्ति सत्यनारयणले २२ हजार रुपैयाँ लिने गर्थे ।