ताप्लेजुङ/ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेञ्जिङ शेर्पाको अत्याधिक दाँत दुखेपछि गत भदौ २१ गते परिवारले काठमाडौबाट हेलिकप्टर झिकाए । मौसम प्रतिकुलताका कारण तीन दिन पर्खदासमेत हेलिकप्टर आउन सकेन । बिरामले थप च्याप्दै लग्यो । र, भदौ २४ गते गाउँलेले स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याए ।
सोही दिन राति लेलेप स्वास्थ्यचौकीमा लगेर प्राथमिक उपचार गराएर अस्पताल लाने क्रममा भदौ २५ गते बाटैमा शेर्पाको मृत्यु भयो । ग्याब्लाबाट जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ । हेलिकप्टरमा छोरालाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्ने आशमा तीन दिन कुरेर बाटैमा छोरो गुमाएका थाक्चे शेर्पाको परिवार शोकमा डुबेको छ । ‘गाउँमा मोटर बाटो पुगेको छैन, स्वास्थ्य संस्था टाढा छ,’ तेञ्जिङका दाजु डण्डुले भने, ‘हेलिकप्टरसमेत आउन नसकेपछि भाइलाई बचाउन सकिएन ।’ दाँत दुखाइकै कारण मृत्यु हुनु चिन्ताजनक भएको लेलेपकै पेम्बा टाँसी शेर्पा बताउँछन् ।
जिल्लाका दुर्गम गाउँमा भौगोलिक विकटताका कारण समयमा स्वास्थ्य संस्था पुग्न नसक्दा बिरामीले ज्यान गुमाउनु परेको यो एउटा प्रतिनिधि घटना मात्र हो । २०७४ असारमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पदमसुन्दर थलङलाई झाडापखालाले च्याप्यो ।
स्ट्रेचरमै बोकेर अस्पताल लेजादै गर्दा लिवाङको छिपछिपेमा थलङको प्राण गयो । परिवार र आफन्तले लिवाङको पहिरो नछिचोल्दै २५ वर्षीय थलङलाई गुमाएका थिए । ताप्लेजुङका प्रायः ग्रामीण क्षेत्रबाट जिल्ला अस्पताल पुग्न दुईदेखि चारदिनसम्म लाग्ने गर्छ । यहाँका धेरै बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना प्रसस्त छन् । वर्षमा तीन–चार जनाले स्वास्थ्य संस्थान पुग्दै ज्यान गुमाउने गरेको साँवाका मोतिहाङ लिम्बु बताउँछन् ।
अझै पनि गाउँका सर्वसाधारणलाई स्वास्थ्यबारे चेतनाको अभाव रहेकाले पनि उपचारमा स्वास्थ्य संस्था पुग्न ढिलाइ हुने गरेको लिम्बुको भनाइ छ । ‘बिरामी परेपछि एक–दुई दिन निको हुन्छ कि भनेर पर्खने चलन छ, अनि घरेलु उपचार र धामी लगाइन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै अस्पताल लाने सुरसार हुन्छ, त्यो बेलासम्म बिरामीको अवस्था नाजुक भइसकेको हुन्छ ।’ नागरिकलाई घरदैलोमै सेवा दिन भन्दै एक वर्ष यता गाउँमै स्थानीय सरकार गठन भए पनि स्थास्थ्यको क्षेत्रमा कुनै सुधार भएको पाइदैन ।
‘जनप्रतिनिधिले दुर्गमका सर्वसाधारणलाई आकर्षक नारा दिएर निर्वाचित भएँ, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल खोल्ने भनियो,’ फुङलिङ नगरपालिकाका कृष्ण पौडेल भन्छन्, ‘गाउँमा भएका स्वास्थ्यचौकी जीर्ण छन् । कतिपय कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन्, स्थानीय सरकारका प्रमुख–उपप्रमुखले यसतर्फ ध्यानदिएकै छैनन् ।’