दमक / वरिपरि बाँसको भाटाले बारिएको छ । टाटी बाहिर माटोले पोतिएको छ । बाँसको टाटीको बाहिर लिपेको ठाउँठाउँमा भत्किएको छ । घरका खाँबाखुट्टी मकाउँदै गएका छन् । भित्र छिर्दा गरिबीको परिचय झल्किने गरी भत्किएका भित्ताले पुष्टि गरिरहेका छन् । यही घरमा एकजना वृद्ध आमा, श्रीमती र छोरी तीनजना बस्छन् । तर यो परिवार तीन जनाको मात्र भने होइन । झापाको दमक नगरपालिका–३ मा रहेको यो घर कमलप्रसाद दवाडीको हो । उनले यो घर छाडेको १४ वर्ष पूरा भयो ।
आर्थिक अवस्था कमजोर थियो । अन्य आम्दानी स्रोत केही थिएन । नयाँ घर निर्माण गर्ने अवस्था भएन । घर दिनदिनै भत्किएर लड्ने अवस्थामा पुगेपछि ३१ वर्षको उमेरमा बूढी आमा श्रीमती र १५ महिनाकी काखकी छोरीलाई छाडेर विदेश पैसा कमाउन कमलप्रसाद हिंडे । उनी २०६१ साल कात्तिक २९ गते घरबाट मलेसियाका लागि वैदेशिक रोजगारमा जान भनेर हिँडेको उनकी श्रीमती सकुन्तला दवाडीले बताइन् । तिहारमा भाइटिका लगाएर बाटो लागेका दवाडी २०६१ साल मङ्सिर ३ गते काठमाडौंबाट मलेसिया उडेका थिए ।
अन्तिम पटक काठमाडौंबाट उनले घरमा फोन गरेका थिए । आफन्तले त्रिभुवन विमानस्थलभित्रसम्म पु-याएको खबर पाए । तर त्यहाँदेखि मलेसिया पुगे–नपुगेको केही टुङ्गो भएको छैन । आज १४ वर्ष बित्यो उनी कहाँ छन् ? अत्तोपत्तो छैन । काठमाडौंको तत्कालीन एसओएस मेनपावर कम्पनीले मलेसियाको चुङ्गवा पिक्चर ट्युब (सीपीटी) कम्पनीका लागि लगेको थियो ।
मलेसिया पु्गेर कम्पनीको एक दिने ओरन्टेशन कक्षासमेत लिएपछि उनी बेपत्ता भएको बताइन्छ । मलेसियामा रहेका साथीहरूले केही दिनपछि उनी सम्पर्कमा नभएको जानकारी गराएका थिए । केही दिनपछि उनको झोला कपडाको फोटो इमेलमार्फत पठाइयो । यतिका समय बितिसक्दा समेत दवाडीको अत्तोपत्तो छैन । न त उनको खबर आयो न त उनको झोला कपडा केही आयो ।
‘मैले श्रीमानको खोजी गरी पाऊँ भनेर पाँच पटक जति त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापन–पत्र बुझाएँ ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदादेखि अहिले प्रधानमन्त्री भएपछि समेत भेटेर कुरा राखेँ तर सुनुवाइ भएन ।
एसओएस मेनपावर कम्पनीमा तत्कालीन समयमा एजेन्टको काम गर्ने नातेदार झापा घर भएका निर्मल न्यौपानेमार्फत एक लाख २० हजार रुपैयाँ ऋणमा मलेसिया गएका थिए । श्रीमान बेपत्ता भएपछि खोजी गर्न सहयोग गनुर््को सट्टा आफन्त नै आउन–बोल्न छाडेको सकुन्तलाको गुनासो छ । ‘सरकारले तत्काल मेनपावर कम्पनीमार्फत् मेलेसियामा खोजी गर्न दबाव दिएमा कहाँ–कस्तो अवस्थामा हुनुहुन्छ पत्तो लाग्न सक्थ्यो, तर कसैले पनि यति कामका लागि सहयोग गरेनन्, म आफैं निराश भएर थाकिसकें, अब केही उपाय देखेकी छैन ।’ सकुन्तलाले भनिन् ।
कमलप्रसादको बाटो हेरेर बसेकी बूढी आमाका आँखा मधुरा भइसकेका छन् । श्रीमतीका आँखा रुँदारुँदै कमजोर भइसकेका छन् । काखकी छोरी बाबा आउने बाटो हेर्दाहेर्दै १५ वर्षकी भइसकिन् । तर उनी कहाँ–कस्तो अवस्थामा छन्, थाहा छैन ।
मेनपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर गएको नेपाली नागरिक वर्षौंसम्म खोजी गर्दा समेत सम्बन्धित निकायले सहयोग गरेको छैन । मेनपावर कम्पनीले त खोजी गर्न सहयोग गर्नुको सट्टा उल्टै धम्क्याउने, गाली गर्ने गरेको श्रीमती सकुन्तलाको भनाइ छ ।
अन्तिम पटक काठमाडौंमा भएको टेलिफोन सम्पर्कबाहेक हालसम्म परिवारसँग कुनै सम्पर्क भएको छैन श्रीमती सकुन्तला आँशु पुछ्दै भनिन्, ‘मैले श्रीमानको खोजी गरी पाऊँ भनेर पाँच पटक जति त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापन–पत्र बुझाएँ । अघिल्लो पटक प्रधानमन्त्री हुँदादेखि अहिले प्रधानमन्त्री भएपछि समेत भेटेर कुरा राखेँ तर सुनुवाइ भएन ।
त्यसबाहेक काठमाडौं वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसम्म निवेदन दिएँ, मानव अधिकारदेखि विभिन्न सङ्घ–संस्थामा समेत पुगेँ तर कतैबाट केही उपाय चलेन ।’ सकुन्तलाले गुनासो गरिन् ।
सकुन्तला भन्छिन्, ‘श्रीमानका डकुमेन्ट फोटोकपी गर्दा गर्दै अब त नबुझिने भइसकेका छन्, घर भत्किन लागेको छ, बूढी आमा रोगी हुनुभएको छ, छोरी कक्षा नौ मा पुगिसकिन्, पढाउने खर्च छैन, नयाँ पक्की घरमा राख्न विदेशिनुभएका श्रीमान् फर्किएर आउनु भएन, सानो छँदा त छोरीले घरिघरि बाबा कहिले आउनु हुन्छ भनेर सोध्ने गर्थिन्, मसँग यस्को केही जवाफ हुँदैन थियो, अनि रुन थाल्थेँ श्रीमान्को बाटो हेरेरै १४ बर्ष बिते ।
घरमूली नै बेपत्ता भएपछि यो परिवार बाटो हेरेरै बस्न बाध्य भएको छ । मेनपावर कम्पनी, सरकार र सरोकारवालाले समेत सहयोग नगर्दा कमलप्रसादको पत्तो लाग्न सकेको छैन ।