वासिङ्टन / संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो । रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी छुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो । विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ । संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् । (एएफपी)