रङ्गेली/ कुरा गर्छन कसरी, भँगेरा र भँगेरी चुरचुर गर्छ भँगेरो,चिरविर गर्छे भँगेरी.... राष्ट्र कवि माधवप्रसाद घिमिरेको कविता विद्यालयमा पहिलो पटक सुनेपछि भँगेराभँगेरी साँच्चै कुरा गर्छन ! रङ्गेली नगरपालीकाका सन्तोष बस्नेतलाई कौतुहलता जागेको थियो ।

उनको बाल्यकालको कौतुहल्ता त मेटिएन तर, आजकाल घर-आँगन र छानाभरि उफ्रने भँगेरभँगरी नदेख्दा खल्लो लाग्ने बताउछन् । बस्नेत मात्र होइन केहि वर्ष यता आफ्ना घरआँगन र छेउछाउका रुखझाडीमा भँगेराभँगेरी चिरविर सुन्न नपाउने धेरै छन् ।

आफ्नो समयमा ठूलो हुलमा देखिने भँगेराको त्रृडाबाट प्रभावति भएर राष्ट्र कवि घिमीरेले बाल कविता सृजना गरे । केहि वर्ष यता भँगेराभँगेरीको त्यस्तो क्रृडा बिरलै देख्न पाइन्छ ।

भँगेरा मानिससँग बस्न रुचाउने पंक्षीमा पर्छ । जंगलमा देख्न नपाइने भगेरा जंगलको विचमा भएको मानिसको घरमा भने पुग्छ । फुच्चे भँगेरा र मानिसको सम्बन्ध १० हजार वर्ष पुरानो भएको मानिन्छ ।

घर आसपास र बाली नालीमा लाग्ने किरा फट्याग्रा खाइदिएर फुच्चे भँगेराले मानिसलाई साथ दिदै आएको थियो । विपदको सुचना दिएर सहयोग गर्ने भँगेरा पछिल्लो समय मानविय कृयाकलापको कारण संकटमा छ ।

बाली-नाली नष्ट पारेको भन्दै चिनले जनवादी क्रान्ति सकिएको एक दशक पछि सन १९५८ मा भँगेरा मार्न ‘ग्रेट स्प्यारो क्याम्पेन’ नामक अभियान नै चलाएको थियो ।

भँगेरा विरुद्धको अभियान चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङले चलाएका थिए । अभियानमा २ अर्ब भँगेरा चिनियाले मारेकोे बताइन्छ ।

धेरै मार्नेलाई इनामको व्यवस्था थियो । चिनियाले बाली नष्ट गर्ने दोषी भँगेरा सँगै झिंगा, लामखुट्टे, मुसालाई पनि ठहर्याएका थिए।

त्यत्रो भँगेरा मार्दा पनि बाली नफल्दा चिनमा भोकमरीको कारण धेरैले ज्यान गुमाएको बताइन्छ । परापुर्व कालदेखि मानव सभ्यतासँग जोडीएको भगेराको संख्या घटनुको कारण बारे धेरै अनविज्ञ छन् ।

सबैको आफ्नै तर्क रहेको छ ।

१६-१७ वर्ष अघि हिउँदमा हजारी भँगेरा (एक हजार भँगेराको समुह) आफ्नो घरआँगन र रुख झाडीमा चिरविर गर्दै उफ्रेको देखिने भँगेरा हिजो-आजा दुई-चार वटा पनि देख्न मुस्किल हुने गरेको रङ्गेली नगरपालीकाका ८५ वर्षीय रविध्वज अधिकारीले बताए ।

यसरी भँगेराको संख्या घटनु शुभ लक्षण नभएको उनले बताए ।

हजारी भँगेरा घरआँगनमा आउदा अन्न बाली खाइदिने भए पनि कतिपय ग्रामीण क्षेत्रमा शुभ मान्ने गरिन्छ । भँगेरा घटनुमा बासस्थान अभाव रहेको अधिकारीको बुझाइ छ ।

शहरी क्षेत्रमा पहिले नै भँगेराको बासस्थान मासिसकेको छ । ग्रामीण क्षेत्रमा परालको छाना हटाएर टिन लागउन थालेपछि भँगेराको बासस्थान खोसिएको अधिकारीले अनुभव सुनाए ।

पर्यावरणमा सन्तुलन कायम राख्न भँगेराको महत्व पुर्ण भुमिका रहेको छ । भँगेराको विनासले पारिस्थितिक प्रणलीमै असर पर्ने विज्ञहरु बताउ छन् ।

जसको असर मानव जिवनमा पनि प्रत्यक्ष पर्ने उनीहरुको भनाइ छ । फुच्चे पंक्षी भगेराको संख्यामा आएको तिब्र कमिलाई मुख्य गरी मानविय क्रियाकलापलाई नै मानिन्छ ।

भँगेराको संख्या तिब्र कमि आउनुमा मान्छेको जिवनयापनमा आएको तिब्र परिवर्तन प्रमुख कारण भएको चरा विज्ञ डा.भरत सुब्बाले बताए ।

‘भँगेरा र मानव चोला उस्तै हो,हाड छालाले बनेको हुन्छ ।’ उनले भने, ‘दुबैलाई विराम लाग्छ, मानिसले उपचार पाउछ, भँगेराले काहाँ पाउनु ।’

घरमा बस्ने पंक्षी भएकोले मानिसले छाडे,फालेको अन्नपात खान्छ जुन प्रदुषीत हुसक्ने उनले बताए ।

त्यसैगरी अर्को किसानले खेतिमा प्रयोग गर्ने विषदी पनि भँगेराको संख्या घट्नुको कारण रहेको डा.सुब्बाले बताए । विषदीको प्रयोगले भँगेरालाई पौष्टिक तत्वकोलागी आवश्यक किरा फट्याग्राको अभाव भएको उनले बताए ।

भँगेराको बच्चाको बृद्धि विकासका लागी किरा ख्वाउनु आवश्यक रहेको उनी बताउछन् ।

अन्य समयमा जोडी सँग बस्ने भँगेरा भदौ अन्तिमबाट ठूलो समुहमा डुल्न निस्कने गर्छ । भँगेरालाई पराल र खरको छाना उपयुक्त वासस्थान भएको डा. सुब्बाले बताए ।

भँगेराको संख्या घटनुमा धेरै पक्ष हुन सक्ने भएकोले विस्तृत र गहिरो अध्ययन आवश्यक रहेको उनले बताए । टेलिफोन टावर र रेडिसनले भँगेराको जिवन चक्रमा कस्तो असर गर्छ भनेर अनुसन्धान नभएकोले किटान गरेर भन्नु उचित नहुने बताए ।

डा. सुब्बाको घरमा पनि नियमित बसि रहेका दुई-चार जोड बाहेक हिउँदमा समुह बनाएर गत वर्ष देखि नआएको अनुभव सुनाए ।

भँगेरा लोप भए यसलाई पुनः स्थापित गर्न ठूलो खर्च लाग्ने भएकोले बेलैमा संरक्षमा ध्यान दिन आवश्यक रहेको उनले बताए । भँगेराकोलागी बस्ने उपयुक्त स्थान व्यवस्था गरे केहि भए पनि राहत हुने उनले बताए ।

जुन कारणले भए पनि भँगेराको संख्या घटेकोमा कसैको दुइ मत छैन ।

भँगेरालाई असर पर्नु भनेको सम्पुर्ण प्राणी जगतमै पर्नु हो । भँगेरा संरक्षणकोलागी सन २०१० देखि मार्च २० मा विश्व भँगेरा दिवस मनाउन थालीए पनि नेपालको सन्दर्भमा भने खासै प्रभावकारी हुन सकेको छैन ।

आफु पनि बाँचौ अरुलाई पनि बचाउ भन्ने भावना बढे मात्र आउने पुस्ताले प्रत्यक्ष अनुभव गरेर

कुरा गर्छन कसरी, भँगेरा र भँगेरी चुरचुर गर्छ भँगेरो,चिरविर गर्छे भँगेरी.... भन्दै गाउन पाउछन् ।