मैले कृष्णप्रसाद अधिकारीलाई ३ वर्ष अघि उनकै वडामा भएको तिज कार्यक्रममा भएका सृजनात्मक प्रस्तुतिमा निर्णायक वस्दा चिनेको हो । सानो ज्यान, हँसिलो अनुहार र मिजासिलो व्यवहारले मलाई मन परेको मान्छेका रुपमा उनी मेरो स्मरणमा रहे । बेला बेला हुने सृजनशील कार्यक्रममा भेट हुँदै गयो । त्यो बेला उस्तै उस्तै स्वभाव र ज्यानका उनका साथी देवीप्रसाद घिमिरेसँगै भेटिए । म अलि केही पछिसम्म यी दुई जनामा म झुक्किएँ पनि । पछि घिमिरे वडा सदस्यमा निर्वाचित भएपछि भनें दुईजनामा म झुक्किन छोडे । अर्थात कृष्णप्रसाद अधिकारी र उनका सहकर्मी घिमिरे दुवै कविताका पारखी हुन् । कवि मनका समाजका अगुवा हुन् । हामीले संयोजन गरेको एभरेष्ट आर्ट फ्यूजनको नियमित श्रृंखलामा पनि अधिकारी सरिक हुँदै आए । यहीबीचमा उनी अध्यापन गर्ने जनता माविका प्रधानाध्यापक मेघनाथ ओझाको ०७३ फागुन ११ गते दुर्घटनामा निधन भएपछिको शोक र पीडालाई उनले आफ्नो पहिलो पुस्तकमा रुपान्तरण गरे । अर्थात ‘सम्झना मेघनाथको’ नामक सानो आकारको १२ पेजको शोक पुस्तिका ०७४ प्रकाशन गरे । लोक झ्याउरे लयमा आधारित शोकशव्दले रमाइला, मिजासिला शिक्षासेवी ओझाको देनप्रतिको महत्वलाई उजागर गरेको छ, करुणा थपेको छ । यसमा सरल भाषाशैली प्रस्तुत छ ।
मुलत उनी लोक झ्याउरे लयमै लेख्न रुचाउने भएकाले त्यही शैलीमा लेखनको हिसावले पहिलो र प्रकाशनको हिसावले दोस्रो कृति ‘रित्तो हात’ कविता संग्रह सोही वर्ष पाठकसामु ल्याएका छन् । तर विडम्वना के छ भनें दिवंगत ओझाले ‘रित्तो हात’ का लागि लेखेको भूमिका प्रकाशन हुन पाउनु भन्दा अघि अधिकारीले ओझाका लागि शोक कविता लेख्ने परिस्थिती वन्यो । जनता माविको स्थापनाकाल ०३६ सालदेखि त्यहाँ नेपाली विषयको शिक्षक भएर सृजनशीलता सिकाएका उनी ३५ वर्षे पेशाबाट रित्तो हात अवकास लिएर घरमा छन् । आफ्नो जीवनको उर्जा खर्चिएर पनि अन्तत जीवनलाई सहारा चाहिने बेलामा रित्तो हात अवकास लिनुपर्दाको पीडा छ सो संग्रहमा । ३५ वर्षे पेशालाई प्रतिक सरह मान्दै ३५ वटै कवितामार्फत आफ्ना र समाजका पीडा पोखेका छन् ।
पैतीस वर्ष काम गरें हात भयो खाली
परोपकार गर्दै जाँदा आत्मबल पाली
उमेरले ६२ शिशिर वसन्त पार गरिसकेका उनले जीवनमा धेरै कठिन संघर्ष गर्दै आए । पढ्ने उमेर र त्यसपछिको पारिवारिक जिम्मेवारी वहनको यात्रामा विचलित नभई शिक्षण पेशमा प्रवेश गरे । त्यसपछि पारिवारिक अवस्थामा केही राहत मिल्यो । मेहनती, इमान्दार र लगनशील पक्षमा उचाई बनाएका उनी आफ्ना भोगाईहरु कवितामार्फत व्यक्त गर्दछन् । अनि समाजका होचा अर्गेलाहरु पनि उसैगरी पोख्छन् । समाजलाई उज्यालो बनाउन लाग्दा मन पनि खुसी र सङ्लो बन्ने उनको भोगाई छ ।
समाजसेवा भन्दा ठूलो अरु केही छैन
आफ्नो हानी भएपनि दुःख मान्ने हैन
आत्मचित्त सुद्ध पार समाजसेवा गर्दा
साथीभाईले सहयोग गर्छन् दुःख आइपर्दा ।
उनका कविताहरु सवै यथार्थवादी छन् । जीवनका लागि छन् । विकृति विसंगतिप्रति प्रहार गरिएका छन् । संग्रहमा विरही गीत, गरिब, मान्छे, हिमालका जडिवुटी, तर्कना, छन्द र अक्षर, देशको सम्पत्ती, गणित गिन्ती, विद्याको महिमा, मेरी छोरी, रित्तो हात, इथियोपिया हुन्छ, विद्या हामी सवैको, झोला, गरिबको पीडा, समाजसेवा, घटोत्कचको बजार, चेलीको व्यथा, जनता मावि छोड्दा जस्ता शिर्षकका कविताहरु छन् । त्यसका साथै अन्न छैन, स्वर्गीय चण्डी चापागाईप्रति, दुःखी किसान, खोई, कल्पना, कुर्सी, साँवाब्याज, संकट, संगतले विग्रिएको मानव, दुःखीको बिलौना, दुःखमाथि यातना, कस्तो लोकतन्त्र, प्रतिवेदन १, स्व. तिलक खुलालप्रति र प्रतिवेदन २ शिर्षकमा गरी ९६ पृष्ठको संग्रह तयार भएको छ । कवितामा ज्यादै सरलता छ । कवितात्मकतामा अझै माझ्नुपर्ने ठाउँ पनि छन् । कवितालाई विम्व र प्रतिकका रुपमा त्यति धेरै प्रस्तुत गरिएको छैन । अर्थात सिधासिधी र सामान्य रुपमै कविता बुनिएको पाइन्छ । शिर्षकहरु पनि सामान्य रुपमा राखिएको छ । तर त्यसभित्रको चेतना पक्ष भनें ज्यादै सवल छ ।
विद्या नै रसिलो छ विश्वभरमा मानिसको चेतना
विद्या सिक्न सकौं अनेक तरहले यै हो ठूलो साधना