विजयपुर/ धरान सुन्दर शहरभित्र पर्दछ । यहाँ विकास निर्माणका कार्यहरु अन्य स्थानीय तह भन्दा बढी छन् । यसको प्रमुख श्रेय यहाँका बासिन्दालाई जान्छ । त्यसमा पनि लाहुरेको शहर भनिएर चिनिएको धरानको विकासमा लाहुरेहरुको सबै भन्दा ठूलो देन छ भन्दा फरक पर्दैन ।
यहा बसोबास गर्ने लाहुरेहरू प्राय. बेलायती सेनामा काम गरेर अवकाश पाएका बढी छन् । हुन त सिंगापुर, हङकङलगायतका देशहरूमा समेत सेनामा काम गरेका ७५ प्रतिशत भन्दा बढी लाहुरे गोर्खा बेलायती सेना नै छन् । अहिले उनीहरु आवासीय रुपमै बेलायत बस्न थालेपछि धरानका हरेक क्षेत्र प्रभावित बन्न थालेका छन् ।
पछिल्लो समय गोर्खा भूपू सैनिकहरुले बेलायती सेना सरह पेन्सनलगायत अन्य सेवा सुविधाको माग राखी आन्दोलन गरेसँगै उनीहरुको आंशिक माग सुनुवाइ पश्चात् उनीहरुले बेलायतमा बस्न पाउने अधिकार समेत सुनिश्चित भएको छ । यो अधिकार प्रयोग गर्दै बेलायतमा कार्यरत बहालवाला सेना तथा भूपू सेनाका परिवार बेलायत बस्न थालेपछि धरानका हरेक क्षेत्र प्रभावित भएको गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष गजेन्द्र इस्वो बताउँछन् ।
पेशाबाट निवृत्त भएपछि भूपूहरुलाई चलयमान बनाउन उनीहरुले व्यवसायिक फर्मसँगै भूपूले गरेका योगदानलाई पुस्तौंपुस्तासम्म यादगार बनाउन स्मरणीय भौतिक संरचना समेत निर्माण गर्दै आएका छन् । उनीहरुले धरान १० मा वृटिश सैनिक भवन, धरान २ भानुचोकमा गोर्खा कम्प्लेक्सलगायत भूपूको पहिचान झल्कने आधा दर्जन भन्दा बढी भौतिक संरचना निर्माण भइसकेका छन् । धरान २० माछामारामा निर्माण हुँदै गरेको गोर्खा स्मृति पार्कसमेत प्रभावित हुने सम्भावना बढेको छ ।
कतिपय भूपू बेलायती सेनाहरु धरानबाट घरजग्गा नै बेचेर बेलायत पलायन हुँदा वैदेशिक रेमिटेन्ससँगै यहाँको व्यापारव्यवसायमा ठूलो असर परेको गोर्खा बचत ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर राई बताउँछन् ।
अहिले भने उमेर ढल्केका केही बेलायती भूपू सेनाबाहेक सबै बेलायत बसोबास गर्न थालेपछि धरानको विकास निर्माण समेत प्रभावित बनेको छ । राज्यले भूपू लाहुरेलाई नेपालमै बस्ने अवस्था सिर्जना गर्न जरुरी रहेको भुपू वृटिश सैनिक दानबहादुर राई बताउँछन् ।
धरानका लाहुरे धमाधम बेलायत बसोबास गर्न थालेपछि धरानको व्यवसायमा ७५ बढी गिरावट आएको सुनसरी उद्योग वाणिज्य संघ धरानका सदस्य एवम् वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वर्मा दियालीको भनाइ छ ।
करिब १० हजार भूपू गोर्खा मध्ये आधा जति बेलायत गइसकेका र अरू पनि जाने क्रममा छन् । उनीहरूको बेलायत बसाइले नेपाल भित्रिरहेको मासिक ६५ करोड बराबरको रेमिट्यान्स अब उतै रहन थालेको छ । यसले समग्र नेपालको रेमिट्यान्सलाई नै प्रभावित बनाएको छ ।