उदयपुर/ उदयपुरको पश्चिमी नगरपालिकाको सिरिसेका २ सय ३१ घरले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । कटारी नगरपालिका वडा नं ८ सिरिसेको विभिन्न गाउँका २ सय ३१ घरले व्यवसायिक तरकारी खेती गर्दै आएका हुन् ।
वडा कार्यालय र बाल विकास समाज नेपाल उदयपुरको साझेदारी सहयोगमा सिरिसेका कोलबोट, चिलाउने, सिरिसे लगायतका गाउँका २ सय ३१ घरधुरीले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
व्यवसायिक तरकारी खेतीले गर्दा कमाउन भारतको मेगालय नयाँ दिल्ली जानु नपरेको सरस्वती कृषक समूहका अध्यक्ष भीमबहादुर तामाङले बताए ।
तरकारीले आर्थिक स्रोत बढाएको र बाल बच्चा पठनपाठनमा टेवा पुर्याएको, घरपरिवार चलाउन सहज भएको तामाङले बताए । वडा र बाल विकासले तरकारी खेतीको तालिम, बिउ र टनेला दिएको छ । ‘हामीले रासायनिक मल प्रयोग नगरी गाईबस्तुको गोठे मल नै प्रयोग गरेका छौँ ।
सकेसम्म किरा फट्याङ्ग्राको लागि पनि अर्गानिक विषादी नै प्रयोग गर्दै आएका छौँ । अर्गानिक विषादीले काम नगर्दा मात्र रासायनिक विषादी प्रयोग गर्छौं ।’ तामाङले भने । व्यावसायिक तरकारी खेतीबाट वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आएको स्थानीय तरकारी व्यवसायी ताराबहादुर बूढाथोकीले बताए ।
तर सिंचाइको अभावले गर्दा कुनै बेला भने राम्रो फल नदिने र विरुवा नै मर्ने गरेको बूढाथोकीले बताए । उनका अनुसार भौगोलिक विकटताले गर्दा पनि पानीको अभाव हुने, खोलाबाट पाइपद्वारा पानी ल्याउनु पर्ने, प्लाष्टिक पोखरीले मात्रै धान्न कठिन भएको बूढाथोकीले बताए ।
गाउँमा उत्पादन भएको तरकारी सडकको पहुँच नहुँदा दुई तीन घण्टाको बाटो बेतेनीसम्म बोकेर ल्याउनु पर्ने बाध्यता रहेको तरकारी व्यवसायी रामजी तामाङले बताए । उनका अनुसार डोकोमा बोकेर लागेको तरकारी कटारी बजारमा पुर्याउँदा उल्टै उत्पादकहरु ठगिने गरेको गुनासो गरे ।
बजार भाउभन्दा आधा रकम कममा खरिद गर्ने र दोब्बर नाफा खाएर बेच्ने भएकाले स्थानीय सरकारले तरकारीको भाउदर रेट तोकिदिए कृषकहरू मारमा नपर्ने तामाङले बताए ।
बाल विकास समाज नेपाल उदयपुरले गरिब परिवारका बालबालिकालाई लक्षित गरी थालेको जीविकोपार्जन तथा सामाजिक सुरक्षा (सुनौलो भविष्य) परियोजना अन्तर्गत वडासँगको साझेदारीमा व्यवसायिक तरकारी खेती गर्दै आएको बाल विकास गैसस उदयपुरले जनाएको छ ।
बालबालिकाको सुनौलो भविष्यका लागि गरिब परिवारलाई कृषि तालिम, कृषि सामग्री र बिउ बीजन सहयोग गर्दै आएकोे जीविकोपार्जन तथा सामाजिक सुरक्षा सुनौलो भविष्य परियोजनाका व्यवस्थापक कृष्ण गुप्ताले बताए ।
कोलबोट, चिलाउने, सिरिसे लगायतका गाउँका ७९ घरलाई गोलभेंडा टनेल, ३ वटा प्लाष्टिक पोखरीका लागि प्लाष्टिक, तरकारी तालिम, बिउ र आवश्यताअनुसार कृषहरूलाई परामर्श कार्यक्रमसमेत गर्दै आएको गुप्ताले बताए ।
उक्त गाउँका २ सय ३१ घर मध्ये ८६ काउली, ७९ टमाटर, ५० बन्दा, १० रायो, ४ खुसार्नी, १ भान्टा र १ बोडी लगायतका तरकारी खेती गर्दै आएको गुप्ताले बताए ।
स्थानीयवासीको आर्थिक उन्नति र प्रगतिका लागि विकासको पूर्वाधारका मुख्य सडकको पहुँच र बजार व्यवस्थापनमात्र गर्नसके तरकारी खेतीबाट नै पहाडी गाउँवासीको आर्थिक उन्नतिमा टेवा पुग्ने स्थानीय बताउँछन् ।