संसार जति छ, त्यति तिमीले बुझेका छैनौ । जति तिमीले बुझेका छौ, त्यति अरू कसैले बुझेका छैनन् । यो मेरो जीवनप्रतिको निचोड हो । कतिपयले भन्ने गर्छन्– जीवन सङ्घर्ष हो । सङ्घर्ष बिना जीवन सफल हुँदैन । यही कुरालाई अवलम्बन गर्दै मैले जीवनमा धेरै सङ्घर्ष गरेँ । कहीँ स्वभाविक रूपमा गरेँ । कहीँ अस्वभाविक रूपमा गरेँ । कुनै ठाउँ जानेर गरेँहुँला । कुनै ठाउँ नजानी गरेँहुँला । कुनै ठाउँमा बुझेर गरेँहुँला । कुनै ठाउँमा नबुझी गरेँहुँला । सङ्घर्ष त धेरै गरेँ मैले । जीवनको पूर्वाद्र्धलाई फर्केर हेर्दा मेरा अतीतमा बितेका दिनहरू सबै सङ्घर्षमय छन् । जीवनको उत्तराद्र्धमा आइपुग्दा जीवन त सङ्घर्ष होइन रहेछ । यो त दुःख र पीडाको गुजुल्टो पो रहेछ । सङ्घर्षरत दुःख र पीडाको गुजुल्टोरूपी जीवनलाई अघि बढाउने एउटा माध्यम रहेछ । यस्तै लाग्यो मलाई । मलाई यस्तो लाग्छ कि संसारमा कोही मान्छे दुःखी छ भने सायद त्यो मान्छे अरू कोही नभएर म नै हो । यद्यपि मलाई पहिलेदेखि नै सुखी व्यक्तिका रूपमा हेर्छन् मानिसहरू तर मलाई के कुराले आफूभित्रै यति दुःखी बनायो । आफैलाई थाहा छैन ।
म निम्नमध्यम् वर्गीय परिवारमा जन्मेको मान्छे । पहाडको ठाउँ दुःख–सुख जेजस्तो गरेर भए पनि बाउआमाको साथमा बित्यो बाल्यकाल । बाल्यकालमा बुबाआमाले त्यति दुःख झेल्न दिनुभएन । जन्मेदेखि मृत्युसम्मका मानिसका हरेक समस्याहरू सबै पूरा हुन निश्चय पनि सक्दैनन् । जन्मदै पूर्ण भएर जन्मने मान्छे त सायदै होला । जन्मेपछि नमरुन्जेलसम्म जिउनका लागि गरिने प्रयत्न वा अभ्यास नै रहेछ सङ्घर्ष । त्यही सङ्घर्षको क्रममा प्राप्त सफलता रहेछ भाग्य । म सानैदेखि धनी बन्नेभन्दा पनि सम र देवकोटा जस्तो बन्ने सपना देख्थेँ । कस्तो असम्भव ! सपना देख्नु पनि नराम्रो कुरा त होइन । यद्यपि महत्वाकांक्षा भने निश्चय पनि हो । महत्वाकांक्षा पनि जीवनमा नभई नहुने कुरा नै रहेछ । कुनै एउटा मानिस कुनै अर्को मानिस जस्तो ठ्याक्कै उस्तै वा उही हुन सक्दैन । कुनै न कुनै रूपमा होचो–अर्घेलो, ठूलो–सानो वा नमिल्दो हुन्छ । मानिसले मन बेचैन वा विचलित भएपछि नै सपना देख्न थाल्दो रहेछ । देशको माया गर्ने बेलै नभई देशको माया गर्ने मान्छे म, कहाँबाट आयो ममा यति सानो उमेरमै राष्ट्रवादको चेतना ! सम्झँदा अहिले पनि अचम्म लागेर आउँछ । सायद २०४५ सालको नाकाबन्दीले हुनुपर्छ । म कुनै असामान्य मानिस होइन । मलाई मेरो घरमा पाहुनाहरू पाहुनाको रूपमा आउँदा फर्कने बेलामा उनीहरूलाई कस्तो हुन्थ्यो, त्यो त मलाई थाहा हुँदैनथ्यो । तर छुट्ने बेलामा मेरो मन रुन्थ्यो । मेरा आँखाबाट आँसु खस्थे ।
त्यो कसैले देख्दैनथ्यो । कसैले नदेखी रून्थेँ म । जसलाई आफ्नो घरमा दुःख छ । ती हाम्रै घरमा आएर हामीसँगै बसिदिए हुन्थ्यो, जस्तो लाग्थ्यो । म गाउँकै सोझो व्यक्ति । सबै मलाई यो सोझो छ भन्थे । म कसैलाई नराम्रो भन्दैनथेँ । कसैले आफूलाई केही भन्यो भने पनि चुपचाप बरू सहिदिन्थेँ । म आफू रोएर भए पनि अरूलाई खुशी राख्न चाहने मान्छे । स्कुलमा पनि मलाई सोझो देखेर सबैले हेप्थे । कसैले कापी, कलम खोसेर लगिदिन्थे । कसैले खेलमा झेल गरेर जित्थे । कोही कक्षामा बस्दा मलाई पछाडि पारेर आफू अगाडि बस्थे । कोही आफू गल्ती गरेर मलाई दोष लाउँथे । एकपटक मैले सरको हातबाट बिना गल्ती नराम्रोसँग गोदाइ खाएको छु । एकजना साथीले अगाडि बसेकी एउटी केटीको केशको चुल्ठोमा उसले नदेखी कागजको फूल बनाएर लगाइदियो र मतिर देखाइदियो । सरले मलाई अफिसमा लगेर पिट्नुभयो । म सरसँग गएर आफ्नो कुरा प्रष्टसँग राख्न सक्दैनथेँ । साह्रै डराउँथेँ । मैले होइन भन्दाभन्दै पनि सरले पिट्नुभयो । भनिन्छ, मानिसको कर्मअनुसारको बुद्धि हुन्छ रे । अहिले तिनै मलाई हेप्ने, होच्याउनेहरू अरूलाई झुक्याएर, ढाँटेर अनेक तिकडम अपनाएर खाइरहेका छन् । म आफ्नै श्रम र पसिनामा बाँचेको छु । आजसम्म कसैको एक रूपैयाँ पनि खाएको छैन र कसैसँग हात थाप्न जान पनि परेको छैन । बरू तिनैले मेरो धेरथोर खाएका छन् ।

JB KHATRI
आफन्तहरूसँग एउटै परिवार जस्तो भएर बस्न रुचाउने मानिस म । मैले आफन्तहरूका लागि कत्ति गरेँ । केसम्म गरिनँ र । मैले उनीहरूलाई आफ्नो गाँस काटेर पनि दिएँ । उनीहरूले मेरो आधा शरीर काट्दासमेत मैले ऐया, आत्था भनिन् । खुर्कन त के कति पटक खुर्किए । कति पटक खुर्र्किए । कति पटक ताछेँ । कति पटक लुछेँ । कति पटक भाँचेँ । कति पटक चिमोटेँ । कति पटक नङ्ग्र्याएँ । कति पटक दर्पm¥याएँ । लेखाजोखा छैन । यति हुँदा पनि मैले कहिल्यै ऐया, आत्था र नाइँनास्ती गरिनँ । विडम्बना मैले जसलाई पहिलेदेखि हेरचाह, सेकताप, भरथेग गरेर आर्थिक रूपले खुट्टा टेक्न सक्ने बनाएँ । तिनै अहिले मेरोविरुद्ध षड्यन्त्रमा लागेँ । बैगुनीलाई गुनले मार्नुपर्छ भन्थे । मैले तिनलाई कहिल्यै गुनले पनि मार्न सकिनँ । सम्पत्ति कमाएपछि शत्रु बढ्छन् भन्थे साँच्चै हो रहेछ जस्तो लाग्यो । हुन त मसँग त्यत्रो विधि सम्पत्ति पनि केही थिएन । मान्छेलाई भनी, गरी बिझाउनु पर्दो रहेनछ । आफै टेढिन थाल्दा रहेछन् । मैले जीवनमा कहिल्यै कसैको कुभलो चिताइनँ । भलैभलो चिताउन नसके पनि कसैको अवनति होस् भन्ने ठानिनँ । मैले जानाजान कसैलाई बिगारिनँ । यद्यपि मलाई जानाजान बिगार्ने र बिगार्न चाहनेहरू धेरै छन् । राम्रो मान्छे अहिलेको जमानामा कहाँ राम्रो हुँदो रहेछ र । अहिलेको जमाना त जालीझेली, फटाहा, ठग, कमिसन, दलाहा, दलाली, छलकपट, अर्काको आँखामा छारो हाल्नेहरूको मात्र रहेछ । आफ्नो स्वार्थ कताबाट कसो गर्दा पूरा हुन्छ, जस्तोसुकै मूल्य चुकाउनु परे पनि चुकाउनेहरूको रहेछ । त्यस्तै मान्छेलाई सबैले चिन्छन् । त्यस्तै मान्छे सबैको राम्रो पनि हुन्छ । इमान्दारसाथ आफ्नो लाइनमा हिँड्ने मान्छे त अहिले एक्लो हुँदो रहेछ । उसैले पाउँछ दुःख । उसैले पाउँछ पीडा । भुक्तमान भोग्नु परे कसैले त्यस्तै मान्छेले भोग्नु पर्दोरहेछ । त्यो मैले भोगेको छु ।
मैले धेरै मान्छेहरूको हुँदो गरेको छु । मानिस सियो बनेर पस्दो रहेछ र फाली बनेर निस्कँदो रहेछ । दुःख देख्दा दया पलाएर आउँछ । दिएर पठायो । आज दियो । भोलि दियो । पर्सि दियो । दिँदादिँदै आफ्नो थाल रित्तिँदा पनि भयो नभन्ने । अनि अब भेटिँदैन, पाइँदैन भन्ने भएपछि मुखमै नहेर्ने हुँदा रहेछन् । पराइका के कुरा गर्नु । आफ्नै मान्छे हुँदा रहेछन् काइते । मैले जीवनभरि सेवा गरेका सबै मान्छेहरू यस्तै भए । मन बुझाउन कहिले त भगवान नै देब्रा भएर हो कि जस्तो पनि लाग्छ । खान पाउन्जेल आफ्ना भए पाउन छोडेपछि सबै वैरी । जसको कारण जीवनभर पश्चातापभन्दा अरू केही हात लागेन । यद्यपि आप्mनो हात रित्तिए पनि अरूको हात भर्न पाउँदाको आनन्द भने छुट्टै हुँदो रहेछ । कत्ति पटक मैले आफूले नखाई नखाई पनि अरूलाई खुवाएको छु । उनीहरूले बिर्से पनि मलाई भगवानप्रति त्यति विश्वास छैन । यदि भगवान छन् भने भगवानलाई थाहा होला । अनि पक्कै उनले ममाथि न्याय गर्नेछन् । मैले सेकताप, भरथेग गरेका मानिसहरू आज मभन्दा पनि कत्ति माथि पुगिसकेका छन् । म भने जस्ताको तस्तै छु । मैले लाएका सबै गुन उनीहरूले बिर्से । हिजो कुन अवस्थामा थिएँ र आज कुन अवस्थामा आइपुगेको छु । यो सब कसको सहयोग र मद्दतले भयो भन्ने कुरा नै बिर्र्सिदिएँ । अहिले तिनीहरू नै मलाई परेको बेला सहयोग गर्नु त के मलाई नै माटोमा मिलाउन लागिपरेका छन् । बोलचाल, आउजाउ र आत्मीयताका त कुरा छोडौँ । मुखमै हेर्दैनन् । पानी बाराबारको स्थिति छ । म त कति सोझो रहेछु । को मान्छे कस्तो चिन्न नसक्ने । कोसँग नजिकिने कोसँग टाढै रहने भन्ने थाहा नपाउने ।
मैले जीवनमा त्यस्तो कुनै धनी मान्छे बन्ने महत्वाकांक्षा कहिल्यै राखिनँ । इच्छा पनि राखिनँ । सामान्य मानिस जन्मेपछि नमरुन्जेलका लागि खान, लाउन, दुःखबिमार हुँदा उपचार गर्न, केटाकेटीहरूलाई शिक्षादीक्षा दिन सकियो भने बस् यति त हो नि ठान्थेँ । यदि उनीहरूले जस्तो मनमा कपट, स्वार्थ राखेर आफ्नै हुँदो मात्र हेरेको भए आफ्नै हुँदो मात्र गर्थें हुँला । मैले कहिल्यै त्यस्तो सोचिनँ । आफै मात्र हुनेखाने होऊँ । अरू जेसुकै होउन् । यदि मैले यस्तो सोचेको भए आज म अर्कै स्थान वा यो भन्दा धेरै माथि पुगिसक्ने थिएँ । मैले कसैसँग पनि रिस, राग, ईश्र्या, डाह राखिनँ । मलाई कहिल्यै यस्तो गर्न आएन । कसैविरुद्ध जालझेल गरिनँ । गरेँ त मैले आफ्नै पाखुरीको ईश्र्या गरेँ । मलाई कसैको खुट्टा तानेर आफूमाथि पुगौँ भन्ने पनि लागेन । मैले कसैको खुट्टा तान्न जानिनँ । मलाई जानी–जानी अर्काको मन दुखाउन कहिल्यै आएन । बरू मेरै मन छियाछिया बनाएँ । तिनीहरूले यद्यपि मैले सहेँ । बालकृष्ण समले भने झैँ सहुँ–सहुँ सहनै नसके पनि सहुँ । कहिले त अतिचार भएपछि त्यसको प्रतिपाद गर्नै पर्दोरहेछ । मैले जीवनमा बुझ्न नसकेको कुरा मानिस किन मानिसका विरुद्ध यति विघ्न भएर खनिन्छ ? कसैलाई भनी–गरी नबिझाउँदा पनि किन मानिस कसैप्रति यति कठोर बन्छ । मानिस सधैँ अरूलाई पनि आफूजस्तै देख्न चाहँदो रहेछ । आफू जस्तै बनाउन चाहँदो रहेछ । भनिन्छ, बाँदरले आफू पनि घर बनाउँदैन र अरूले बनाएको पनि बिगारिदिन्छ । गरि खायो भने पनि रिस गर्दा रहेछन् मानिसहरूले गरिखाएन भने पनि हेप्दा रहेछन् मानिसहरूले । समाजमा यस्ता मानिसहरूको झुण्ड नै हुँदो रहेछ । तर मैले कहिल्यै कसैमाथि त्यस्तो गर्न जानिनँ । बरू गरिखानेहरूलाई सकी नसकी सहयोग र भरथेग गरेँ । सबै मानिस कहाँ आफूजस्ता हुँदा रहेछन् र ! म त कहिलेकाहीँ आफै छक्क पर्छु, तिनीहरूको व्यवहार देखेर । मानिस मानिसजस्तो लाग्दैन । मान्छेको रूप मात्रै छ । राक्षसको जस्तो व्यवहार गरेको देख्दा अचम्म लाग्छ । आफूले पालेको चराले आफैलाई ठुङ्छ भन्नुहुन्थ्यो हजुरआमा । त्यतिबेला म सानै थिएँ । के भनेको होला यो ? कसरी आफूले पालेका चराले आफैलाई ठुङ्छ भने जस्तो लाग्थ्यो, त्यतिबेला । अहिले सम्झन्छु त्यो हजुरआमाले भनेको कुरा गला लाग्छ । साँच्चै हो रहेछजस्तो लाग्छ । आज मैले खुट्टा टेकाएका ती आफन्त भनाउँदा पराइरूपी चराले मेरै आँखा ठुङे । भनिन्छ, सर्पलाई दूध खुवाएर पाले पनि त्यसले एकदिन आफैलाई ठुङ्छ । साँच्चै आज यस्तै भयो । बैगुनीलाई गुन लाउन नहुने रहेछ । गुन भनेको एक पटकलाई पो हुन्छ । सधैँ त लाउन सकिन्न । सम्झिनेले नसम्झेपछि के लाग्दो रहेछ र । तिनै आज खान पाउन छोडेपछि मेरो उछितो काढ्न लागिपरेका छन् । मै उस्तो भएको छु । मै नराम्रो भएको छु । जसले जे भने पनि को कस्तो भन्ने कुरा त समयले देखाउँछ । सत्य–सत्य, झुट झुट, राम्रो राम्रो, नराम्रो नराम्रो, असल असल, खराब खराब छुट्टिने दिन कहिले आउला । बुबा भन्नुहुन्थ्यो, दिन नलागोस् मान्छे लागेर केही हुन्न ।
आज मानिसहरू मेरा विरुद्ध खनिनुको कारण यही रहेछ कि मेरो उन्नति र प्रगति देखेर जलेका रहेछन् । मैले त्यस्तो कुनै ठूलो चामत्कारिक उन्नति र प्रगति पनि के नै गरेको थिएँ र । केही पनि गरेको होइन । मेरो उन्नति र प्रगतिले तिनीहरूको आकास खस्नेवाला पनि थिएन । समाजमा यस्ता मानिसहरूको झुण्ड हुँदो रहेछ । आफूले नचाहेको व्यक्तिले गरिनखाओस् । जसलाई अनेक तिकडम अपनाएर भए पनि उसको साख गिराऊँ । ऊ कुनै क्षेत्रमा पनि आफूभन्दा माथि नपुगोस् । यस्ता सोचाइका मानिसहरूले खेल्ने यो षड्यन्त्रको काइते खेल रहेछ । मैले अर्काको कुभलो चिताउने मानिसको कहिल्यै भलो भएको देखेको छैन । आफू पनि गरिखाऔँ र अरूले पनि गरिखाउन् भन्ने भावना मानिसमा जबसम्म विकास हुँदैन, तबसम्म समाजमा यस्ता तुच्छ, निच र दैत्यहरूको नै दाइँ भइरहन्छ । यस्तै प्रवृत्तिका मानिसहरूले घरपरिवार, छरछिमेक र आफन्तबीच झगडा लगाइदिने । त्यसबाट आफूले फाइदा लिने गर्छन् । गाउँ, समाजमा यस्तै धूर्त र काइते प्रवृत्तिका मानिसहरूको नै बोलवाला चल्दो रहेछ । यस्ता मानिसहरूको समाजमा उपस्थिति रहेसम्म सभ्य समाजको निर्माण हुन सक्दैन । यी समाजका कुतŒव हुन् । यी समाजका किरा हुन् । अरूलाई परिवर्तन गर्न चाहनेले शुरुवात आफैबाट गर्नुपर्छ । आजका युवाहरूले यस्ता प्रवृत्तिका मानिसहरूलाई ढिम्किन नदिई एउटा सभ्य समाजको निर्माण गर्नु आवश्यक भएको छ ।
जीवनको पूर्वाद्र्ध अरूकै स्याहारसुसार, सेवा, सरसहयोग र भरथेगमै बित्यो भने जीवनको उत्तराद्र्ध आत्मरक्षा गर्नमै तल्लीन रहनुपरेको छ । मेरा जीवनका यी पूवाद्र्ध र उत्तराद्र्ध दुवै क्षण सङ्घर्षशील रहे । त्यसैले मैले जीवनभर सङ्घर्र्षै–सङ्घर्ष झेल्नु प¥यो । आफू मात्र बाँच्नका लागि भए यति धेरै सङ्घर्ष र दुःख–कष्ट गर्नुपर्ने थिएन होला । जीवनको आधा उमेर त अर्काकै लागि बित्यो । अर्काको सेवामै बितेका मेरा जीवनका ती दिनहरूले थाहा छैन, पाप कमाए कि पुण्य कमाए । अर्काको सेवा नै धर्म हो भन्ने भावनालाई शिरोधार्य गर्दै सकी नसकी, खाई नखाई सेवा भने पनि सरसहयोग भने पनि गरियो तर पछि आएर ती सबै गुन बैगुनमा परिणत भए । मसँग लिने कुरा लिइसके । अनि अब पाइँदैन र छैन भन्ने बुझेपछि र मेरो टोक्रीसाफ गरेपछि अब आफूले दिनुपर्छ भनेर ती सबै वैरी भए । सानो छँदा मैले कसैले कसैलाई यो त कोखमा दाह्रा भएको मान्छे हो भनेको सुनेको थिएँ । यसो भनेको सुन्दा मलाई आश्चर्य लाग्थ्यो । कसरी मान्छेका कोखमा दाह्रा हुन्छन् ! भनेर । मैले कत्ति पटक त आफ्नै कोखातिर छामेको पनि छु । यो त राम्रो होइन रहेछ । कतै मेरा पनि कोखातिर दाह्रा छन् कि भनेर । कोखातिर कतै दारा नभेट्टाएपछि मात्र म ढुक्क भएथेँ । मेरा त कोखमा दारा छैनन् भनेर खुशीले उफ्रेथेँ । त्यो त यस्तैै मान्छेलाई लाक्षणिक रूपमा भनिदो रहेछ । पछि थाहा पो भयो ।
कत्ति बूढापाकाहरू भन्ने गर्थे– आफ्नो मान्छेभन्दा त बरू पराइ नै बेस हुन्छ । किन यसो भनेको होला ! कसरी आफ्नो मान्छेभन्दा पराइ बेस हुनसक्छ ? आफन्त भनेको आफन्तै हो । परि आउँदा सर–सहयोग हुन्छ । दुःख–सुखमा साथ पाइन्छ । आफन्तले आफन्तलाई दुःख पर्दा हेर्छन् । हेर्नु पनि पर्छ । आफन्तले आफन्तलाई दुःख पर्दा नहेरेर अरू कसले हेर्छ ? सबैको सोचाइ एउटै हुँदो रहेनछ । गुन देख्ने मान्छेले मात्र गुन देख्दो रहेछ । गुन नदेख्ने मान्छेले गुनलाई पनि बैगुन नै देख्दो रहेछ । भनिन्छ, मानिसलाई सल्लाह पनि मागेपछि मात्र दिनुपर्छ । नमागिकन दिएको सल्लाहको कुनै अर्थ हुँदैन । अनर्थ हुन्छ रे । सरसहयोग पनि ठिक्क र मागेपछि मात्र गर्नु पर्दोरहेछ । बढी भयो भने पनि पच्दो रहेनछ । उनीहरूलाई आफ्नो ठाउँमा राखेर र आफू उनीहरूको ठाउँमा बसेर हेरिकन मात्र गर्नुपर्दो रहेछ । दया–माया पनि चाहिँदो मात्र गर्नुपर्ने रहेछ । हद्दै ग¥यो भने पनि आफैले उल्टै अपमान सहनु पर्दो रहेछ । भनिन्छ, चाहिँदो मात्र गर्नु । नचाहिँदो नगर्नु । यो राम्रो पनि होइन रहेछ । भन्छन् नि मिस्री पनि धेरै खायो भने तीतो हुन्छ । आफन्त भनेर अति गर्नु पनि राम्रो होइन रहेछ । कहिले त मलाई यस्तो पनि लाग्थ्यो । संसारमा काम नलाग्ने चिज भनेको मानिसको मन नै रहेछ । शरीरका अरू अङ्गहरू सबै–सबै काम लाग्ने रहेछन् । तर मन काम लाग्ने रहेनछ । नराम्रो कुरालाई पनि राम्रो देख्ने । राम्रो कुरालाई पनि नराम्रो भन्ने पनि मन नै रहेछ । लोभ, लालच, ईश्र्या, डाहा, स्वार्थ सबै बोकेर हिँड्ने पनि मन नै रहेछ । पाप, कुकर्म, जालझेल सबै अटाउने पनि मन नै रहेछ । आँखाले जतिसुकै राम्रो देखे पनि मनले मन नपराएपछि त्यो नराम्रै हुँदो रहेछ । सत्यलाई पनि मनले नै असत्य बनाइदिँदो रहेछ । रिस, राग पाल्ने पनि मन नै रहेछ । संवेदनशीलताको गहिराइ र उमङ्गको उचाइ नाप्ने पनि मन नै रहेछ । संसारमा सबैकुरा देख्ने पनि मन नै रहेछ । केही कुरा नदेख्ने पनि मन नै रहेछ । दुई दिनको जिन्दगी मरिलानु केही छैन यसो भने पनि अरन–खटन गर्ने मन नै रहेछ । मानिस सबै उही हुन् तर कसैको मन कत्ति निर्दयी हुँदो रहेछ ! गुनले गुन खान्छ, तँलाई म खान्छु भन्ने उखान त्यसै बनेको होइन रहेछ ।
आज मैले आफन्त भनेर मरिमेटेकाहरू नै मेरो उन्नति चाहिरहेका छैनन् । अनेक जालझेल गरेर मलाई मेरो उन्नति र प्रगतिमा तगारो हालिरहेका छन् । चाहे जुनसुकै क्षेत्रबाट अघि बढ्न खोजे पनि अरू कोही बाधक नभएर तिनै मेरा खुट्टा तान्न र मलाई हरेक सामाजिक, आर्थिक, पारिवारिक रूपमा गिराउन लागिपरेका छन् । कति ठाउँमा त गिराएका पनि छन् । ती हिजो मैले पालेका चराहरूले नै आज मलाई ठुँगिरहेका छन् । म चुपचाप सहन बाध्य भएको छु । यस्तो पनि हुँदोरहेछ । धेरै ठूला–ठूला विद्वानहरू पनि साना–साना कुराहरूमा असन्तुष्ट भएको देख्दा मन बुझाउने ठाउँ पाएजस्तो लाग्छ । गीताले भने झैं कर्म गर फलको आशा नगर । त्यसलाई मैले आफ्नो कर्म ठानेको छु । जीवनमा म यति धेरै दुःखी र चिन्तित भएर पनि सदैव अर्काकै लागि समर्पित भएँ । सधैँभरि अर्काकै आँसु पुछिरहेँ । त्यसैले त दुःखी भएँ । अर्काको आसुँ पुछ्ने मानिस सधैँ दुःखी हुँदो रहेछ । अर्काको खुशी पनि आफ्नै खुशी ठानेँ । परिणाम उल्टो भयो । पानी पनि थुनिएपछि उल्टो बग्छ । स्वभाविक हो । मनमा पहिरो गयो । जीवनको उत्तराद्र्ध आँसुमा डुब्यो । जीवनमा सबैभन्दा कठिन कुरा सुखका दिन सम्झेर दुःखमा जिउनु रहेछ । मेरो चाहना यत्ति हो, तिनीहरूलाई पनि थाहा होस् समय सधैँ एकनास हुँदैन ।