धरान/ काँचो रुख कटानमा संलग्न निशानदेवी सामुदायिक वन समूहका पदाधिकारीहरू सम्पर्कविहीन बनेका छन् ।
सव डिभिजन वन कार्यालय पाँचकन्या धरानले कात्तिक ३० गते ८ आरावालसहित ९ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरूले पदाधिकारीहरूकै आदेशमा कटान गरेको बयान दिएपछि पदाधिकारीलाई वन कार्यालयले पक्राउका लागि खोजी गर्दा उनीहरू सम्पर्कविहीन बनेको वन कार्यालय बताउँछ ।
बयानका आधारमा वन कार्यालयले थप दुई जना वन हेरालुलाई मंसिर ९ गते पक्राउ गरेको छ । पक्राउपछि उनीहरूले पनि समूहका पदाधिकारीहरूको आदेशमै कटान गरेको बयान दिएको वन कार्यालयका रेञ्जर तथा अनुसन्धान अधिकृत ईश्वरी बास्तोलाले बताए ।
‘पदाधिकारी तान्न भनेर व्यापक खोजी गर्यौं ।’ अनुसन्धान अधिकृत बास्तोलाले भने, ‘वन हेरालु स्वयम्ले पनि खाना, खाजा बनाउने मात्रै हो, पदाधिकारीले नै आदेश दिएको भनेर बयानमा भनिसकेका छन् । उनीहरू जहिले भए पनि तानिन्छन् ।’ आरावाल पक्राउ परेको केही दिनसम्म वन समूहका अध्यक्ष पदम बराइली घरमै भेटिएका थिए । उनले कार्यालय सचिव देउमान लिम्बूले आफूहरूलाई जानकारी नै नदिई कटान गरेको भन्दै पन्छिने प्रयास गरेका थिए ।
आरावालले पदाधिकारीले नै कटान गर्न लगाएको भनेर बयान दिएका छन् भन्ने ब्लाष्टकर्मीको जिज्ञासामा अध्यक्ष बराइलीले सम्पूर्ण दोष कार्यालय सचिव लिम्बूमाथि थोपरेका थिए । ब्लाष्टकर्मीले उनीसँग वार्ता गरेको अडियो ब्लाष्टसँग सुरक्षित छ ।
उक्त घटनामा अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत बास्तोलाले हेरालु पक्राउपछि पदाधिकारीहरू सम्पर्कविहीन बनेको बताए । उनले सम्पूर्ण कागजात सरकारी वकिललाई दिने तयारी गरिरहेको बताए ।
‘सायद बुधबार सरकारी वकिललाई भेट्छौं ।’ उनले फोनसम्पर्कमा भने, ‘बयानका सम्पूर्ण फायल बुझाउछौं । अदालतमा पुगेपछि फरार प्रतिवादीहरूको नाममा वारेन्ट जारी हुन्छ ।’ उनका अनुसार वन हेरालु कुमार तामाङ र अमृत राईलाई नियन्त्रणमा लिई बयानसमेत लिइसकेको बताए । हाल ११ जना नै तरहरास्थित वन कार्यालयको हिरासतमा छन् ।
अनुसन्धान अधिकृत बास्तोलाका अनुसार फरार भए पनि वन कार्यालयले माग दाबी गरेअनुसार कुनै न कुनै समयमा आएर हर्जाना भर्नुपर्छ । भागेर समस्याको हल नहुने उनले बताए ।
वन ऐन २०४९ तथा नियमावलीको पाँचौं संसोधन २०७२ मा बरामद काठभन्दा हानी नोक्सानी बढी देखियो भने दोब्बर भराउने नियम रहेको छ । उक्त क्षेत्रबाट वन कार्यालयले ८८ दशमलव ११ क्युबिक फुट काठ बरामद गरेको थियो ।