विजयपुर। महेन्द्र बहुुमुखी क्याम्पस धरानको नाममा धरान उपमहानगरपालिका वडा नं. ११ पानी ट्याङ्कीमा भएको जग्गामा ४१ वर्षपछि मोहियानी हक दाबी गर्ने एक व्यक्ति निस्किएसँगै अहिले सर्वत्र चर्चाको विषय बनको छ ।
धरान १६ का यज्ञबहादुर घिमिरेले धनीपूर्जा प्रमाणपत्रको स्रेस्तामा मोही बाबु डम्बरबहादुर घिमिरेकोे नाम उल्लेख भएकोले आफ्ना हक दाबी लाग्ने भन्दै धरान उपमहानगरपालिका ११ नं. वडासमितिबाट भूमिसुधार कार्यालयलाई मोही नामसारीका लागि सर्जिमिन मुचुल्कासहित नाता प्रमाणित गरी मोही नामसारीका लागि भूमि सुधार कार्यालय सुनसरीमा सिफारिस पठाएपछि भने यसमा भूमाफियाका ठूलै चलखले भएको सर्वसाधारणले आशङ्का गरेका छन् । अहिले यो विषय धरानका हरेक क्षेत्र, स्थानमा चर्चाको विषय बनेको छ ।
वि.सं. २०१२ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयअन्तर्गतका महेन्द्र वहुमुखी क्याम्पसको अहिले क्यामम्पस सञ्चालन भएको धरान १० मा एक कट्ठा ५ धुर जग्गा रहेको छ । यस्तै धरान १ पुरानो बजार सुनसरी उद्योग वाणिज्य संघ घउमा १ कट्ठा र धरान ११ पानी ट्यांकीमा १७ कट्ठा १८ धुर रहको छ । यी जग्गामध्ये धरान ११ पानी ट्यांकी छेउमा रहेको शिक्षक क्वाटर भवन निर्माण भएको १७ कट्ठा १८ धुर जग्गामा भने ४१ वर्षपछि मोहियानी हक दाबी गर्ने व्यक्ति निस्किएका हुन् ।
२०३४ सालमा लोकेन्द्रप्रसाद आचार्य क्याम्पस प्रमुख हुँदा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले धरान उपमहानगर वडा नं. ११ साविक धरान ९ (क) र हाल धरान ११ पानी ट्यांकी छेउमा रहेको कित्ता नं. २६६ नम्बरको १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । क्याम्पसले खरिद गर्नु अगावै धनीपूर्जा प्रमाणपत्रको श्रेस्तामै मोहियानी हक उल्लेख भए पनि या अवधिमा धेरै क्याम्पस प्रमुखहरु फेरिए पनि क्याम्पसको जग्गामा मोहियानी हक छ भन्न कुरा थाहा थिएन ।
एक्कासी धरान १६ का डम्बरबहादुरका माइला छोरा यज्ञबहादुर घिमिरिले बाबुको हकदाबी आफूले पाउनुपर्ने भन्दै प्रक्रिया अगाडि बढाएपछि भने अहिले क्याम्पस प्रमुख समेत अचम्मित बनेका छन् । क्याम्पस प्रमुख चन्द्रकुमार राईले वडा नं. ११ लाई सिफारिस रोक्न आग्रह गर्दा समेत अटेर गरी सर्जिमिन मुचुल्कासहितको नाता प्रमाणितको सिफारिस भूमि सुधारमा पठाएको बताए । उनले आफूले पटक पटक रोक्न आग्रह गर्दा पनि स्थानीय सरकारले नरोकेको बताउँदै सार्वजनिक महत्वको जग्गा कसैले दिन नमिल्ने र त्यसको लागि क्याम्पस विराधमा जाने बताए ।
यस विषयमा धरान उपमहानगरपालिका ११ नं. वडा समितिका अध्यक्ष बाबुलाल लामाले प्रक्रियागत रुपमा सिफारिस माग्न आए पनि सार्वजनिक महत्वको जग्गालाई सिफारिस नगर्ने मनसाय बनाएको तर धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सिफारिस दिँदा केही नहुने भनेपछि सर्जिमिन पश्चात् मोहीका माइला छोरा यज्ञबहादुर घिमिरेलाई सिफारिस दिएको बताए ।
वडाले भूमि सुधार कार्यालय सुनसरीलाई गरेको सिफारिसमा स्व. डम्बरबहादुर घिमिरेको ०५६ फागुन ११ गते मृत्यु भएको, निजको एक मात्र पत्नी शिवकुमार घिमिरेका ०६४ मंसिर १४ गते मृत्यु भएको, उनीहरुका जेठा छोरा गणेशबहादुर घिमिरेको ०७३ भदौ ५ मृत्यु भएकाले माइला छोरा यज्ञबहादुर घिमिरे स्व. डम्बरबहादुरकै छोरा हुन् भनी भूमिसुधारको नियमअनुसार मोहीको नामसारीका लागि सिफारिस गरिदिएको उल्लेख गरेको छ ।
तर क्याम्पसका विद्यार्थी नेताहरुले भने भू–माफियाको जग्गा हडप्ने नीति लिएको बताएका छन् । महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति सरगम सागर चेम्जोङले नियमत रुपमा हेर्दा भू माफियाहरुले जति चलखल गरे पनि क्याम्पसको जग्गा कसैले खोस्न नसक्ने बताए । उनले वास्तविक मोहीको मृत्यु भइसकेको अवस्थामा ४१ वर्ष पछाडि यस्तो कुरा आउनु भूफियाको चलखेलबाहेक अर्को केही नहुने बताए ।
कानूनी आधारमा समेत उनीहरु पछाडि पर्ने बताउँदै यस्ता सार्वजनिक सम्पदाका सम्पत्ति हडप्ने प्रपञ्चमाथि विद्यार्थी कडा प्रतिवादमा उत्रने बताए ।
भूमि सुधार एन २०२१ मा मोहियानी हकवालाले मोहियानी हक पाउनका लागि श्रेष्तामा उल्लेख भएर मात्र सम्भव नहुने यसका लागि मोहियानी हकवालाले जग्गा धनीलाई कुत (तिरो बुझाएका रसिद) हुनुपर्छ ।
यो मामिलामा महेन्द्र क्याम्पसको जग्गामा यस्तो प्रमाण नै पुग्न नसक्ने उनको भनाइ छ । मोहियानी हक दाबी गर्ने धरान १६ का यज्ञबहादुर घिमिरेले बाबुबाजेले जोतपोत गरेको जग्गामा र धनीपूर्जा प्रमाणपत्रका श्रेष्तामा उल्लेख भएका कारण आफूले प्रक्रियागत रुपमा दाबी गरेको बताए ।
अहिले घिमिरेले भूमि सुधार कार्यालय सुनसरीमा नामसारीका लागि वडाले दिएका सिफारिस सहित दर्ता गराएका छन् । यस विषयमा भूमि सुधार कार्यालय सुब्बा ठाकुर रञ्जन बरालले मोही नामसारीका लागि निवेदन आएको तर पाउने नपाउने भन्ने कुरा कानूनी प्रावधान अनुसार हुने बताए ।
महेन्द्र क्याम्पसको जग्गामा ४१ वर्षपछि मोही निस्किएपछि अहिले महेन्द्र क्याम्पसका प्राध्यापक, त्यहाँ अध्ययनरत विद्यार्थी यो विवादलाई कसरी टुंग्याउन सकिन्छ भन्ने विषयमा गम्भीर भएका छन् । यस विषयमा स्ववियु पदाधिकारी, क्याम्पस प्रशासनबीच बुधबार छलफल र बहससमेत भएको थियो । अब महेन्द्र बहुमुखी क्याम्पसको सरोकारको कुरा मात्र नभएर यो सम्पूर्ण धराने शिक्षाप्रेमी, सर्वसाधारण, स्थानीय सरकारको सकारको विषय हो । विवाद समाधानमा सबै पक्ष गम्भीर भएर लाग्न जरुरी छ ।