तेह्रथुम/ सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लालीगुराँस नगरपालिकामा निर्माण गरिएको चोलुङ (सिद्धि प्राप्ति) पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।
लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुङ्गामात्र प्रयोग गरेर बनाइको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौंको सङ्ख्यामा पर्यटकहरू आउन थालेका छन् । लिम्बू भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुङ्गा हुन्छ । यसअर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेको ढुङ्गाको सभ्यता हो ।
आदिमकालदेखि आफ्नै भाषा, लीपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज रहेको लिम्बू जातिमा ढुङ्गाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बनाइएको लालीगुराँस नगरपालिकाका प्रमुख तथा लिम्बू मुन्धुमविद् अर्जुन माबोहाङले बताए ।
उनले भने– ‘यो पार्क पर्यटकका लागि नयाँ गन्तव्य बन्न सक्छ । यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुङ्गाका स्तम्भहरू गाडिएका छन् । यसरी ढुङ्गा गाडिने परम्परा लिम्बू समुदायमा प्राचीनकालदेखि नै छ । लिम्बूहरूले जन्मदेखि मृत्युपर्यन्त विभिन्न सामाजिक संस्कारमा लुङ् अर्थात् ढुङ्गा गाड्दछन् ।’
आदिम कालमा लिम्बू जातिको युमा (पितृ) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको विशेषता हो । यो ढुङ्गाको उचाई करिब १६ फिटसम्मको छ । नजिकै ढुङ्गाको तराजु राखिएको छ । अर्थ मानव सभ्यताको शुरुवात भएपश्चात् विहाबारी गर्दा यही तराजुमा जोखिएरमात्र तौल अनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बू समुदायमा छ ।
महिलाको भन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बू मुन्धुमविदहरू बताउँछन् । चोक्लुङ पार्क लिम्बू जातिहरूको ऐतिहासिकतासँग जोडिएको ठाउँ भएकाले अनिवार्य एक पटक हेर्न आउनु पर्ने छथर गाउँपालिका हमरजुङ निवासी पत्रकार प्रकाश पाक्सावाको धारणा छ । पार्क निर्माणसँगै भारत, सिङ्गापुर, बेलायत र नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषीलगायत विदेशी समेत आउन थालेको स्थानीय रामकृष्ण निरौलाले बताए ।
पार्कमा विशेष गरेर लिम्बू समुदायको जन्म, मृत्यु, विवाह, उँधौली, उँभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित वस्तुहरूको जानकारी गराइने छ ।
करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टिको भागमा लिम्बू जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनःनिर्माण गरिने भएको छ । आदिम कालको सभ्यतालाई प्रतिबिम्बित गराउने सावायेहाङ पाङभे (गाँउ) मा आठ वटा परम्परागत घर निर्माण गरिनेछ ।
लिम्बू जातिको अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यका साथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामुहिक कार्यहरू गरिने लालीगुराँस–६ का वडाध्यक्ष त्रिलोचन लिम्बूले बताए ।
जन्मेदेखि मृत्युसम्म लिम्बू जातिको संस्कार पृथक छ । यो संस्कारलाई जिवित राख्न सकियो भनेमात्र पनि लिम्बू संस्कार हेर्न बुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशी–विदेशीको सङ्ख्या बढ्ने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइँला) बताउँछन् ।
यो पार्कको नजिकै स्थानीय खर, पराल, बाँस र मालिङ्गोले बनेका २ ओटा घर निर्माण गरिने भएको छ । एउटा घरमा राई, लिम्बू जातिहरूले प्रयोग गर्ने विभिन्न सामानहरू र अर्काे घरमा क्षेत्रीबाहुनले प्रयोग गर्ने विभिन्न सामानहरू सङ्कलन गरी सङ्ग्रहालयको रूपमा राखिने नगरपालिकाका नगरविकास विज्ञ कृष्ण घिमिरेले बताए ।
उनका अनुसार लिम्बू जातिले प्रयोग गर्ने घरमा जाँड, तोङ्वा, रक्सी, सुकुटी, याङ्वेन, राँगा, सुँग’र, कुखुराको मासु र लिम्बु समुदायसँग जोडिएका स्थानीय खानेकुरा राख्ने र क्षेत्रीबाहुनले प्रयोग गर्ने घरमा दूध, दही, मही, भेडा, गाई, चौँरीको घिउ, छुर्पी, फापर, कोदो, धानको चामलको रोटी, खसीको मास’, चियालगायतका खानेकुरा राखिने योजना रहेको नगर विकास विज्ञ घिमिरेको भनाइ छ ।
यो पार्क बनाउन आव ०७४/७५ मा नगरपालिकाले १५ लाखमात्र बजेट छुट्याएको थियो । यस पटक पनि पार्कको प्रवद्र्धन र विकासका लागि रकम छुट्याएको नगरपालिकाले जनाएको छ ।
लिम्बू जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगातयका शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै जाँदा लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले यही स्थानमा उत्पादन गरिने बताइएको छ ।