इटहरी/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नम्बर प्रदेशको नाम लिम्बुवान–किरात–खम्बुवान राख्न दवाव दिने भएको छ ।
मञ्चले रिपोर्टस क्लब इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ को नामका लागि दबाव दिने जनाएको हो । दुई तिहाईको सरकारले साना पार्टीहरूलाई पेल्दै प्रदेशको नामकरण र राजधानी तोक्न खोजेकाले विरोधका शसक्त कार्यक्रम गर्ने जनाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय महासचिव असोक चेम्जोङले लिम्बुवान–किरात–खम्बुवान नाम राख्नका लागि संसद भवन अगाडि धर्ना दिने, अनिश्चितकालीन धर्नालगायतका कार्यक्रम गर्ने जनाए । मञ्चका महासचिव चेम्जोङले प्रदेश १ को भन्दा पहिला प्रदेश २ को नामाकरण गर्नुपर्ने माग गरे । लिम्बुवान र खम्बुवान जस्तो सभ्यतालाई सिध्याएर कोशी र सगरमाथा नाम राख्न सरकारले षडयन्त्र गरेको चेम्जोङको आरोप छ ।
मङ्सिर ११ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय कार्य समितिले गरेका निर्णयहरू पत्रकार सम्मेलनमा जानकारी गराइयो । मञ्चले गत कात्तिक ९ गते प्रान्तीय बैठकले पारित गरेको मञ्चको ४ वर्षे योजनालाई पनि शसक्त रूपमा अगाडि बढाउने लगायतका निर्णय गरेको बताइयो ।
लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले लिम्बुवान लिम्बूहरूको मात्र भन्ने बुझाइ सर्वसाधारणमा गएको भन्दै उनले यसरी नबुझ्न आग्रह गरे ।