दमक / उमेरले २ कोरी ५ पुगिसकेका मित्रलाल लकान्द्रीको जन्मजातै खुट्टा अपाङ्ग भएर जन्मियो । उनको दाहिने खुट्टा छोटो छ । पिँडुला लुला छन् । पैताला पनि पछाडि फर्किएको हातको हत्केला जस्तै छ । तर देब्रे खुट्टा चाहिँ तन्दुरुस्त छ । उनी बिना बैशाखी पनि त्यतिकै हिँड्न सक्छन् ।
उनी हेर्दा कमजोर जस्तो देखिने दाहिने खुट्टा खोच्याउँदै हिँड्न सक्छन् । यसरी नै हिँडेर उनले २५ वर्ष त पार पनि गरे । तर, विगत २० वर्षदेखि उनले कृत्रिम (प्लाष्टिकको) खुट्टा लगाएका छन् । तर हिँड्दा साङ्गको जस्तो सहज चाहिँ नहुने उनी बताउँछन् । ‘हिँड्दा त खुट्टा खोचिन्छ नै तर कहीँ कतै बस्दा झट्ट देख्नेले अपाङ्ग भनी नहाल्ने उनी बताउँछन् ।
उनलाई कसैले खुट्टा नचल्ने भनेर होच्याएको मन पर्दैन । किनकि उनले विद्यालयदेखि कलेज पढ्दासम्म साथीहरूले गरेको घृणित व्यवहारले उनको मानसपटलमा नराम्रो छाप बसाइसकेको छ । उनले मानविकी सङ्कायमा स्नातकसम्म अध्ययन गरेका छन् ।
२५ वर्षसम्म उनले औपचारिक शिक्षा लिइरहँदा ज्ञानगुनका कुरामात्र सिकेनन् । शिक्षित भनिने वर्गबाटै अपाङ्गता भएकालाई गर्ने हरेक व्यवहारको प्रत्यक्ष महसुस समेत गरे ।
विद्यालय जाँदा–आउँदा अरू साथीहरू एक समूह बनेर हिँड्थे । तर मित्रलालको कोही साथी हुँदैनथे । उनी साङ्गजस्तो फटाफट हिँड्न पनि सक्दैनथे । त्यही भएर उनलाई सबै साथीहरूले छाडिदिन्थे । उनी विस्तारै हिँडेर भए पनि निर्धारित समयमा कक्षा कोठा त पुग्थे तर कक्षा कोठामा आउने शिक्षकले पनि कहिल्यै सम्मानजनक शब्दले सम्बोधन गरेनन् । यो उनको भोगाइ हो ।
नाम काडेर सहपाठीले मात्र होइन, कहिलेकाहीँ त शिक्षकले नै पनि बोलाउँदा उनको मन कटक्क खान्थ्यो । उनी विगत सम्झँदै गहभरि आँशु पार्छन् । उनी भन्छ्न ‘यो समाजले हामी अपाङ्गता भएकालाई कहिल्यै समान व्यवहार गर्न जानेन ।’ उनी अपाङ्गता भएकाहरू मध्येका शिक्षत वर्गमै पर्छन् । उनले अङ्ग्रेजी विषयमा स्नातक गरेका छन् । त्यसैले उनी कहीँ कतै कुनै विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराएर जीविकोपार्जन गर्न चाहन्थे ।
तर उनलाई त्यो अवसर कहिल्यै जुरेन । कसैले दिएन पनि । उनले अध्यापनका लागि कुनै निकायमा प्रस्ताव वा प्रयास नै नगरेको भने होइनन् । उनले निजीदेखि सामुदायिक विद्यालयसम्म चहारे । तर कसैले अवसर दिएन ।
उनी एक त दलित वर्ग अनि शारीरिक अपाङ्गता भएका नागरिक । राज्यले उनीजस्ता नागरिकलाई भनेर विभिन्न सेवाको घोषणा गर्छ राज्यले नै उपलब्ध गराउने विभिन्न अवसरमा दलित तथा अपाङ्गता भएकालाई विशेष प्राथमिकता दिने भनेको छ । तर त्यो विशेष प्राथमिकताले मित्रलाललाई कहिल्यै भेटेन ।
उनले जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयदेखि विभिन्न सङ्घ– संस्थासम्म काम गर्न भन्दै अवसर खोज्दै गए र तर उनको शारीरिक अपाङ्गता देखेर उनलाई कसैले पनि जागिर दिएन । बरु अबबाट यहाँ नआउनू है भनेर अपमान गरेर फर्काए । उनी आफ्नो तीतो भोगाइ सुनाउँछन् ।
जागिरका लागि उनले विभिन्न निकाय र सङ्घ–संस्थाको ढोका ढक्ढकाउँदा कुनै जागिर नपाएपछि पार्टनरसिपमा चाँदीका गहना बनाउने उद्योग शुरु गरेका छन् । विगत एक वर्षदेखि उनी चाँदीका विभिन्न गहना बनाएर ज्वेलरीलाई बेचेर गुजारा चलाइरहेका छन् ।
राज्यसँग उनको एउटै गुनासो छ अपाङ्गता भएकाहरूलाई पढे पनि सहज रुपमा अवसर नै दिइँदैन । त्यसैले अपाङ्गता भएका शिक्षित नागरिकलाई पनि उनीहरूको बौद्धिक क्षमताका आधारमा राज्य वा अन्य सङ्घ–संस्थाले पनि अवसर देओस् । उनको चाहना यति नै छ ।