धरान/भनिन्छ, ‘कसैको घर कस्तो छ भनेर अनुमान लगाउन चर्पी हेरे पुग्छ ।’ अहिले यही उक्तिसँग धरान उपमहानगरको डम्पिङ साइट मिल्दो छ । विगत ५ महिनादेखि कोशी राजमार्गको धरान–इटहरी सडक खण्डको सेउती आसपास कुइरीमण्डल हुन्छ । धेरैले जाडो महिनामा लाग्ने हुस्सु भन्ने ठान्छन् ।
तर यथार्थमा उक्त कुइरीमण्डल त्यही डम्पिङ साइटमा जलाइएको धुँवाको हो । धुँवाको कारण विगत ५ महिनादेखि बिहान र बेलुका हिडिनसक्नु हुन्छ । धुँवाले पर्यावरणीय समस्या निम्तिने खतरा उस्तै छ । तर, पनि सम्बन्धित निकाय धरान उपमहानगरले नियन्त्रणका लागि हालसम्म पहल गरेको छैन ।
धुँवाका कारण स्वास्थ्यमा गम्भीर असर पुगिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. मधुर बस्नेतले नोभेम्बर ५ तारिखका दिन सामाजिक सञ्जालमा पोष्ट गरेको भनाइबाट पुष्टि हुन्छ ।
उनले लेखेका छन्, ‘यदी तपाई यो हुस्सु हो भनेर झुक्किनु भएको हो भने तपाई गलत हुनुहुन्छ । यो धरान उपमहानगरबाट उत्पादित सेउती खोला किनारमा फालिएको फोहोर जलाउदा निस्किएको विषाक्त धुँवा हो । यो दृश्य अपवाद नभई नियमित दृष्य हो । यसले वरिपरिका बासिन्दा तथा यात्रुहरूको स्वास्थ्य मात्र नभई पर्यावरणमा समेत गम्भीर नकरात्मक असर पारिरहेको छ ।' सामाजिक सञ्जालमा पोष्ट भएको यो भनाई प्रतिनिधि उदारहण मात्रै हो ।
चारकोशे झाडीमा फैलिएको यो धुूवाको कुहिरीमण्डलको विषयमा धेरैले टिप्पणी गरेका छन् । तर, चासो राख्नुपर्ने निकाय धरान उपमहानगर भने लगभग मौन छ । सेउती किनारमा अवस्थित उक्त डम्पिङ साइटमा दैनिक जैविक र अजैविक गरी ३५ देखि ४० टन फोहोर उत्पादन हुने धरान उपमहानगरको वातावरण शाखाका अधिकृत भेषराज घिमिरे बताउँछन् ।
जसका लागि धरान उपमहानगरले वर्षेनी २ करोडभन्द माथि रकम खर्चिने गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ करोड २६ लाख ९७ हजार ४८४ रूपैँया खर्चिएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा २६ लाख ७३ हजार ६४ रुपैयाू बढी हो ।
वर्षेनी फोहोर सङ्कलनको खर्च आकासिदै छ । जसका लागि ८ वटा सवारी सञ्चालित छन् भने ७१ जना कर्मचारी कार्यरत रहेको आर्थिक प्रशासन शाखा प्रमुख बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारी बताउूछन् ।
वातावरण शाखा अधिकृत घिमिरे पनि फोहोर जलाइएका कारण पर्यावरणीय र स्वास्थ्यमा गम्भीर असर पुगिरहेको स्वीकार गर्छन् । 'हामीले अहिले बाझोगरा सामुदायिक वनका हेरालुसँग सहकार्य गरेर आगो लगाउने मान्छे पक्राउका लागि खटाएका छौं ।' उनी भन्छन्, 'नियन्त्रणका लागि दकमलमार्फत् आगो निभाउने प्रयासमा छौं । तर, पूर्ण नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको छ ।' प्लाष्टिकजन्य फोहोर जल्दा डाइअक्सिन, सल्फरडाइअक्साइड, हाइडाेँक्लोरिक एसिड उत्पादन हुन्छ ।
डाइअक्सिन यति खतरनाक मानिन्छ कि जसले सिधै क्यान्सर गराउने कोशी अञ्चल अस्पतालका छातीफोक्सोसम्बन्धीका विशेषज्ञ डा. पुरु कोइराला बताउछन् । पर्यावरणमा पनि उस्तै गरी असर पुुर्याउने छ ।
अनुसन्धानले ओजन लेयरसम्मलाई असर पुर्याउने देखाएको छ ।
डा. कोइरालाका अनुसार तत्कालका लागि खोकी, स्वास्वप्रश्वासमा समस्या, दमको शुरूवात र रिङ्गटा चल्नेसम्मको हुन्छ भने दीर्घकालीन समस्याका रूपमा क्यान्सर हुन्छ ।
लामो समयसम्म वातावरण प्रदुर्षण भएमा शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले हालै प्रकाशित गरेको 'वायु प्रदुर्षण र बाल स्वास्थ्य' सम्बन्धी एक अध्ययन प्रतिवेदनमा वायु प्रदुर्षणका कारण विश्वभर वर्षेनी ६ लाख बालबालिकाको ज्यान जाने गरेको छ ।