भोजपुर/ भोजपुरको टेम्के मैयुङ गाउपालिकामा मोवाईल एप्लिकेसन सञ्चालनमा आएको छ ।

गाउँपालिकाले बुधबार एक कार्यक्रमकाबीच एप्लिकेसन सञ्चालनमा ल्याएको हो । एप्लिकेसन सञ्चालनमा आएपछि गाउँपालिकाबासीले सहजै सूचना पाउने भएका छन् । मोवाइल एप्लिकेसन सञ्चालनले गाउँपालिकाका ९ वटै वडाका नागरिकले सूचना पाउन थालेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए ।

गाउपालिकाबासीलाई सूचनाको पहुँच बढाउन एप्लिकेसन शुरूवात गरिएको हो । गाउपालिकामार्फत् सञ्चालन हुने कार्यक्रम तथा परियोजनाको सूचना, समस्या दर्ता , स्थानीयका सुझावका साथै सेवाग्राहीलाई दिइने सेवासुविधाबारे जानकारी लिन सक्ने सूचना अधिकृत दिपक खड्काले बताए ।

एप्लिकेसनबाट गाउँपालिकाका गतिविधि बुझ्न एण्ड्रोेइड फोन प्रयोगकर्ताहरूले आफ्नो मोवाइलको प्ले स्टोर र एप्पल स्मार्ट फोन प्रयोगकर्ताहरूले एप्स स्टोरमा गई टेम्के मैयुङ सर्च गरी डाउनलोड गरेर गाउँपालिकाको हरेक सूचना तथा गतिविधिहरू प्राप्त गर्न सक्ने अधिकृत खड्काले जनाए ।

सानातिना सूचनाका लागि गाउँपालिका केन्द्र र वडा कार्यालयमा धाउनुपर्ने समस्या हटेको ९ नम्बर वडा लेखर्कका शिक्षक भद्रकाली लुइटेलले जानकारी दिए । टेम्के मैयुङ गाउँपालिकामा १७ हजार जनसङ्ख्या रहेको छ ।