विश्वास भन्नाले कुनै व्यक्ति वा उसको काम विशेषमा भर पर्ने स्थितिलाई वा अझ भनौँ पत्यार वा भरोसा भन्ने बुझाउँछ । कुनै बेला म कसैसँग पनि नडराउँने मान्छे हो । आफ्नो गल्ति भए डराउँने नभए किन डराउँने ? नबिराउँनु नडराउँनु । बाउको मुखबाट बारम्बार मैले सुनेको कुरा यो । हामीलाई घोचिरहनेहरू पहिल्यैदेखि धेरै थिए । राजनीतिक आश्थाकै कारण पनि हामीले धेरै सास्ति खेप्नु परेको छ । पृथ्वीनारायण शाहको दिव्य उपदेश जाइकटक नगर्नु झिकिकटक गर्नु । मलाई अझै सम्झना छ । जसले कसै माथि अन्याय गर्दैन,उसै माथि अन्याय हुँदो रहेछ । म स्वयम् पटकपटक यसको शिकार भएको छु । कुनै बेला मलाई यो कुराले निक्कै चिन्तित पनि बनाएको छ । हामीलाई कुनै बाँसको घनो वा कुनै रूख काट्नु प¥यो भने हामी छानीछानी वा रोजीरोजी सोझो वा सिधा बाँसको घनो वा रूख नै काट्छौँ । बाँङ्गोटिङ्गो त कसैले रोज्दैनौँ वा छान्दैनौँ । यस्तो किन गरेको भन्दा सोझो वा सिधा रूख नै बढी काम लाग्ने भएर हो । ठिक त्यसरी नै सबैले सोझो वा सिधा मानिसलाई नै रेट्दा रहेछन् । आफ्ना,आफन्त,छरछिमेक वा पराई जसले पनि सोझो मानिसलाई नै डाम्दा रहेछन् । सोझालाई नै गिदी गर्दा रहेछन् । कत्ति ठाउँमा म नै कत्ति पटक यसको शिकार भएको छु ।
पहिले भन्दा धेरै पहिले पनि होइन । मैले अलिअलि जान्दा पनि यस्तो थिएन । मानिसमा इमान थियो । कसैकसैले कसैकसैलाई फल्नाले गति छोड्यो,भन्थे । अहिले जस्तो इमानको खडेरी परेको थिएन । इमानमा खडेरी परेपछि नै हो रहेछ विश्वास सङ्कटमा पर्ने भनेको । त्यतिबेलासम्म मानिसहरू अर्काको सित्तै खानु हुँदैन,भन्थे । खाँदैन थिए पनि । अर्काको सित्तैँ खायो भने भार लाग्छ भन्थे । भेट्दा पनि खाँदैनथे । अहिले त काँ पाउँनु । जुकाको जस्तो मुख बाउँछन् । हजूरआमालाई कहिले काहीँ के जङ् चल्दो रहेछ कुन्नि भन्नुहुन्थ्यो,आफूदेखि बाहेक कोही आफ्नो हुँदैन । सायद व्यवहारमा भिजेर नै यसो भन्नु भएको हुनुपर्छ । हजूरआमाको यस्तो कुरा सुनेर म आफैँसँग आफैँ प्रश्न गर्थेँ । त्यसो भए बाउआमा,लोग्नेस्वास्नी,छोराछोरी त्यो भन्दा नजिकको आफ्नो आफन्त को हुन्छ ? अहिले सम्झन्छु साँच्चै कसैमा कसैको विश्वास छैन । न बाउआमालाई छोराछोरी माथि विश्वास छ । न छोराछोरीलाई बाउआमा माथि विश्वास छ न लोग्नेस्वास्नी बिच एकअर्कामाथि नै विश्वास छ ! कसै माथि कसैको विश्वास छैन । कस्तो आश्चर्य ! आज भन्दा १३० वर्ष पहिले जन्मिएकी हजूरआमा उतिबेलै कस्तो जमाना आयो यो भन्नुहुन्थ्यो । छोराछोरी,बुहारी हामी नाती,नातिनाको व्यवहार देखेर । कहिले काहीँ हामी नातीनातिनालाई भन्नुहुन्थ्यो,पछि तिमीहरूको पालामा त पानी पनि फुकेर खाने समीया आउँछ । त्यतिबेला हजूरआमाको त्यो भनाइको आशय मैले नबुझेपनि पछि अड्कल काट्न थालेँ । पक्कै पनि हजूरआमाले पछि हाम्रो पालामा तिमीहरूलाई जिउँन गाह्रो हुन्छ । विभिन्न प्राविधिको विकासका कारण जीवन शैली उच्च हुन्छ । गरिवी बढेर झन् माथि पुग्छ । अभावले थिच्छ । भने जस्तो गरी खान पनि पाउँदैनौ । कसैप्रति कसैको विश्वास रहँदैन । यही भन्न खोज्नु भएको हो । यद्यपी अहिले पनि हुने खानेहरूका लागि त खासै फरक परेको छैन । बरू अझ सुविधा सम्पन्न र सुखी जीवन बाँचेका होलान् । सुखी भए पनि खुशी छन् छैनन् त्यो आफ्नै ठाउँमा छ । हुँदा खानेहरूका लागि भने निश्चय पनि आजको जीवन शैलीले ठूलो चोट पु¥याएको छ । अफ्रिकन मुलुकहरूमा बेलाबेला अन्नको महामारी भएर खान नपाएको बेलाको हाहाकार देख्दा मान्छेले मान्छेको मासु खान पनि के बेर झैँ लाग्छ । बुवा पनि कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो,यस्तै हो भने पछिपछि मान्छेमान्छे टोकाटोक गरेर मर्न बेर छैन । बुवाले पनि मानिसका बढ्दो चाहना र अभाव देखेर नै यसो भन्नु भएको हुनुपर्छ । साँच्चै आज हाम्रो देशमा लाखौँलाख युवायुवतीहरू विदेश जाँदैनथे र करोडौँकरोड रूपयाँ वार्षिक रूपमा रेमिट्यान्स भित्रिदैनथ्यो भने त्यो स्थिति आउँदैनथ्यो होला भन्न सकिन्न । आजसम्म देशको आर्थिक अवस्था राम्रो रहेन । सर्वसाधरण जनताको जीवन स्तर उस्ताको उस्तै छ । कहिल्यै नउक्सिने रहेछ ।
लोभलाल्चा भन्दा पनि उच्च जीवन शैली र अभाव नै बन्यो आफन्त विच अविश्वासको कारण पनि । जति जीवन शैली उच्च बन्दै गयो । अभावको खाडल झन् गहिरिदै गयो । आयस्रोतको बाटो कुनै नभएपछि लुटो ल्यायो भुटो खायो भने जस्तो भयो । दिन भरि काममा गयो । बेलुका ल्यायो । पकायो खायो । सिध्यायो । भोलिपल्ट फेरि बेलुका खानका लागि दिन भरि काममा जोतिनै प¥यो । खानै अभाव भएपछि पैसाको जोहो हुने कुरै भएन । सधैँ उस्ताको उस्तै । जीवन शैलीले नै रहेछ मानिसको मनमा लोभलाल्चा,रिस,डाह र स्वार्थ जस्ता वेकारका कुरा उत्पन्न गराउँने त्यसले नै रहेछ एकदम निकटतम सम्बन्धमा पनि अविश्वास पैदा गराउँने । इमानको डोरि खुकुलो बनाउँदै लाने । एउटै परिवारका मानिसमा पनि फरकफरक विचार र अविश्वास उत्पन्न गराउँने । विश्वासघात जन्माउँने,हुर्काउँने,बढाउँने,फुलाउँने,फलाउँने । न परिवारमा विश्वास छ । न आफ्नाआफन्त,छरछिमेक,समाज,देश,देशदेश बिच हुँदाहुँदा अब त विश्व नै अविश्वासको चपेटामा परिसक्यो ।
आज भन्दा १३ वर्ष अगाडिको कुरा अर्थात् २०६२ सालतिरको कुरा । धेरै पहिलेको के कुरा त्यतिबेलासम्म पनि ५० वर्ष विश्वास गर्न लायकको मानिस छोडेर म विदेश गएको ६ वर्ष पछि अर्थात् २०६८ सालमा आउँदा त्यही मानिस आधा घण्टा पनि विश्वास गर्न नसकिने भएको रहेछ । म त आफैँ छक्क परेँ । जो जसको भएपनि एकअर्का बिचको विश्वास त्यति विघ्न सङ्कटमा परेको छ । कसैको भर छैन । कसले कहाँनिर कतिबेला कसलाई घिल्स्याउँने हो थाहै हुन्न । खान पाएन भने एकैछिन्मा मानिस देब्रो हुन्छ । बिश्वासघात गर्न बेरै लाग्दैन । आजको सारा मानिस पैसाको पछि कुदेको छ । इमानको पछि कुद्ने मानिस त औँलामा गन्न सकिने जस्तो एकाध छन् । सारा मानिस इमान र विश्वासको पछि कुदुन् । कहिले आउला त्यस्तो दिन ? मानिस मानिस जस्तो होस र ऊ विश्वास र इमानमा अडियोस । समाज समाज जस्तो होस । बेइमानीहरू कसिङ्गर जस्तै बढारिउन् । त्यस्तो समाज निर्माण होस जहाँ सत्य र इमानको राज होस । कलङ्ककको टिको लाउँनेहरू पुछिउन् । इमान,विश्वास र सत्यसँग मानिस डराओस । बेइमानहरूसँग कसैले डराउँनु नपरोस । विश्वासघातकै कारण कसैको ह्रदयमा पहिरो नजाओस । विश्वासका बाँधहरू फुटेर कसैका मनहरू नबगुन् । कसरी फर्केला पहिलेको अवश्थामा मानिसहरूको मन !
जुन बेला मानिसहरू इमानसँग डराउँथे । पैसा भन्दा इमानलाई ठूलो ठान्थे । परिवार,समाज र देशकै ठूलो मानिससँग सबै डराउँथे । इमान्दार मानिसको अगाडि सबै नतमस्तक हुन्थे । खै त्यो आज ? इमान्दार मानिससँग बेइमानहरू डराउँथे भन्दा काल्पनिक कथा जस्तो लाग्न सक्छ । आजको स्थिति भनेको आफूदेखि बाहेक कोही आफ्नो नभएको स्थिति नै हो । यो आफूदेखि बाहेक अरू कसैसँग भर पर्न नसकिने अवस्था हो । भन्नै पर्दा मैले बुझेको एउटा कुरा अभाव त छँदैछ । परिस्थितिले पनि मानिसलाई बेइमान बनाउँदो रहेछ । यो मेरो मानिस किन बेइमान बन्छ ? भन्ने कुराको निचोड हो । यद्यपी यो पनि अभावले नै खनेको बाटो हो । अफ्ठेरो बाटो त कसलाई हिँड्न मन हुन्छ र कसैलाई हुन्न । सबैलाई सजिलै बाटो हिँड्न मन लाग्छ । अफ्ठेरो देखेपछि न हो मानिसले बाटो मोड्ने अनि त्यहीँनेर त हुने हो विश्वासघात ।
म कसैप्रति पनि झ्वाट्टै विश्वास गरिहाल्दिन र तुरुन्तै कसैलाई विश्वास दिलाई पनि हाल्दिन । यो मेरो कमजोरी हो भनेर कसैले औँल्याउँछ भने पनि त्यसमा मेरो कुनै विमति छैन । यसबाट मलाई कुनै ठाउँमा बेफाइदा भएपनि कतिपय ठाउँमा फाइदै भएको छ । मैले विश्वास गरेका मासिनहरू औँलामा गन्न सकिने थिए । ती पनि अहिले आएर सबै बेइमान भए । जीवनको पूवार्धमा त मैले त्यति धेरै विश्वासघात सहनु परेन । जसप्रति विश्वास र भरोसा थियो त्यो कायमै थियो । जीवनको उत्तरार्धमा आएपछि पो विश्वासघातीहरूको विश्वासघातको ओइरो लाग्यो । त्यो पनि मेरो इमानको थाप्लोले थेग्नै नसक्ने गरी । धन्न यो बेलासम्म आइपुग्दा मनले जीवन र जगत्लाई थोरै भएपनि बुझ्न थालेको रहेछ र थाम्म सक्यो ।
प्रीय पाठक वृन्द यो लेखको ध्येय अरू केही होइन । मानिस सर्वश्रेष्ट र सचेत प्राणी भएकोले उसमा एकअर्का बिच सदैव विश्वास रहिरहोस । मरेको विश्वास पनि जागोस र मानिसमानिस जस्तो होस भन्ने मात्र हो । मानिसमानिस जस्तो भएन भने मानिस भएको के अर्थ भयो र ? सबैसँग एकअर्का बिच विश्वास होस । कसैको विश्वास धरापमा नपरोस । सन्सार विश्वासमै अड्नुपर्छ र अडोस । यो सङ्कटमा नपरोस ।