सुनौलो लालीमा हुँदै डाँडापाखा सवै डुली ।
कविता हो कि झैं लाग्यो मलाई यो चुलाचुली ।
‘इलामले हेपेको र झापाको नदेखेको’ उपमाबाट पटक पटक स्थानीयले लिने गरेको नाउँ ‘चुलाचुली’को रौनक यस पटक फरक थियो । राजनीतिक र प्रशासनिक हिसावले सदरमुकाम इलामबाट हेपिएको र नजिकैको शहर झापाको दमकले नदेखिएको पीडाले पिरोलिएर भौगोलिक जटिलताको शिकार बनेको अवस्था हो । तर ०७५ पुस ६ गतेको चुलाचुलीमा भएको सर्जकको जमघटले चुलाचुलीले हेपेको र नदेखेको नियतिलाई चिर्न चेतनाले निकै माथि उठेको महसुस हुन्थ्यो । स्थानीयहरुको चासोपूर्वकको ठूलो जमघटले चुलाचुली भनेको त कविता झैं लागेको अनुभूति माथिको कवितांसबाट समालोचक डा. रामप्रसाद ज्ञवालीले व्यक्त गरे । उनले गाउँका कार्यक्रमहरुमा त्यत्तिको ठूलो स्थानीयको चासोपूर्ण जमघट अन्त नदेखेको सुनाउँदै चुलाचुलीप्रति श्रद्धा दर्शाए, नमन् गरे ।
उत्तरका चुली डाँडाहरुको फेदमा अप्ठेरो भूगोलको नियति भोगेको अनि रुखो पाखो माटोमा हामी सृजनाको फूल फूलाउने ध्येयले हामी जमेका थियौं । रतुवा, कमल र चाँजु खोलाको नाकावन्दीमा रहेको चुलाचुलीबाट वर्षाको समयमा सदरमुकाम इलाम त पुग्ने बाटै छैन । नजिकको केर्खा र दमक झर्न पनि खोलाले छेक्छ र कतिको उपचार गर्न ल्याउन नसकेर अकालमा ज्यान गइरहेको छ ।
चुलाचुलीको यही पीडालाई सर्जकहरुको लेखनीमार्फत उजागर गर्नुमात्र होइन जहाँ समस्या र अभाव त्यहाँ सृजनाको मुहान भन्ने कुरालाई पनि चरिचार्थ पार्दै सृजनाको प्रभावकारिता दर्शाउन स्थानीयलाई जमघट गराउने काम भयो । टाढाटाढादेखिका सर्जकहरुलाई त्यहाँ ल्याइयो । अनि चुलाचुलीको अवस्था, सम्भावना र सृजनाको स्वाद चखाइयो । त्यहाँ फल्ने सिमल तरुलको खाजा खुवाएर खाजामा पनि चुलाचुलीको मौलिकता दर्शाइयो । चुलाचुली गाउँपालिका वाड नम्वर २ को मोरङ्गेझोडामा अवस्थित तिनकुने पोखरी त्यस क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको सुन्दर ठाउँ रोजेर कार्यक्रम तय भयो । चुलाचुली गाउँपालिकाको संरक्षकत्व, तिनकुने पोखरी संरक्षण समितिको सहकार्यमा चुलाचुली सिकाई केन्द्रले कार्यक्रम अघि वढायो । तिनकुने पोखरी संरक्षण समिति र समाजसुधार क्लबका कलाकारहरुले मौलिक साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेर सवैलाई मुग्ध वनाउने काम भयो । सिकाई केन्द्रले सृजनालाई जीवनसंग जोड्ने अभियान अनि त्यहाँको चुलाचुली रंगमञ्चको नाट्य प्रभाव । दुवैका कारण चुलाचुलीको माटोको सुगन्धमा सृजना फुलिरहेको छ ।
जाडो बढेको अवस्थामा दिउँसोको घमाइलो मौसम र सृजनाको न्यानोपनले सवैको मनमा आत्मियता भित्र्यायो । छन्दका प्रतिनिधिमुलक कविका कविता सुन्ने कुराले पनि श्लोक र छन्दको केही भेउ पाएका वुढापाकाहरु समेतले कार्यक्रममा स्वाद माने । छन्दोवद्ध कविता र त्यसको वाचनको प्रभावकारिताले नवयुवा पुस्ता सहित सवैको मन तानेको बुझिन्थ्यो । त्यहाँ प्रस्तुत भएका कविताहरु समसामयिक, मार्मिक र व्यवहारिक जीवनको ज्यादै नजिक थिए ।
एक्लै जल्दछ देह एक दिन हो, फिर्छन मलामी घर ।
त्यो बेला पनि हुन्न साथ धनको, लानु के आखिर ?
दक्षिणी इलामकै दानवारीकी सर्जक रीता पोखरेलको कविताको यो टुङ्ग्याउनी अंशले मान्छेको पैसामुखी अहमलाई ज्यादै तीखो र तेजिलो हिसावले यथार्थपरक रुपमा प्रहार गर्यो । पैसामा अन्धभक्तभएकाहरुको मनमस्तिष्क हल्लाउने काम गर्यो ।
जनताका अपेक्षाहरु अझै पुरा भएका छैनन् । समानता र स्थायी शान्ति कायम भइसकेको छैन । नयाँ गोरेटोमा हिड्न यात्रीहरु अल्मलिएझैं भएको छ । नयाँपन दिमागमा भरिन वाँकी नै छ । पुराना सोच र मान्यताहरु उल्टिसकेका छैनन् । यस्तो अवस्थामा अँध्याराका खेती गर्नेहरु सल्वलाउने अवस्था पनि हुन्छ । उज्यालो लुट्न खोज्नेहरु पनि देखिएको प्रसंगमा मोरङको विराटनगरका कवि हरि कट्टेल कवितामा यसरी उत्रिए :
भाले बासेर भन्दैछ अँध्यारो छ अझै दिन ।
विहानीको नयाँ घाम लुटिन्छ यसरी किन ?
त्यहाँ ५ जना कवि छन्दका शक्तिशाली कविता हतियार लिएर घाम लुट्न खोज्नेहरुको विरुद्धमा उत्रिएका थिए । ज्ञवाली र कट्टेलका साथै झापा चन्द्रगढीकी खगिन्द्रा खुसी, दमकमा विन्दु दहाल मुकदर्शक र मोरङका नारायण पौडेलले आफ्ना ३,३ वटा छन्दोवद्ध कविता सुनाए । कवितामार्फत देशको रखवारी गरे । उनीहरुलाई सम्मानित समेत गरियो । साथका थिए कविताझैं बोलेर वजनिका अभिव्यक्ति दिने झापाका अग्रज सर्जक एवम् सञ्चारकर्मी चन्द्र भण्डारी । साहित्यकार नगर उपप्रमुखका रुपमा परिचित ढाकाकुमारी पराजुली । प्रमुख अतिथिका रुपमा सृजनाको मर्म आत्मसाथ गर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले । सभाध्यक्षका रुपमा थिए साहित्यानुरागी चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई । यी सवैको सृजनाप्रतिको सकारात्मक एउटैजस्तो धारणा थियो । यस्ता सृजन भेलाले गाउँवस्तीमा उज्यालो छर्न मद्धत गर्ने अनि सृजना क्षेत्रको महत्व र विकासका लागि अरुलाई सिकाउने कुरा बोले । पालिकाको चासोमा यसखाले कार्यक्रम हुनथाल्नुले विकासको परिभाषा भौतिक पूर्वाधार मात्र हुँदै होइन भन्ने कुरालाई पुष्ट्याई गर्ने भरपर्दा काम हुन्छ । बाटो, पुल मात्र विकास हो भन्ने मानसिकतालाई चिर्न यसखाले कार्यक्रम बेलाबखत हुँदै जानुपर्ने सवैलाई महसुस भयो । कार्यक्रमलाई रोचक र आकर्षक वनाउन गजल शेर सहितका माटोको सुगन्धको अभिव्यक्ति दिँदै कार्यक्रम चलाएका उम्दा गजलकार चुलाचुलीकै विवशवलिभद्र कोइराला गजलमा मान्छेको फरक फरक चिन्तनलाई शल्यक्रिया गर्दै थिए :
साहु लगानी उवारेर फिर्यो, भिखारी दानीको आशामा छ ।
व्यापारी खडेरी पर्खिरहेछ, किसान पानीको आशामा छ ।