पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिङका कोखबाट वि.सं २०३८।५।९ मा मोरंगको टांडीमा जन्म लिएका हुन् । केटाकेटी छंदा गाउंमा प्रकाश कोविदको उपन्यासहरु खुबै पढ्ने कवि यात्री मनपर्ने विधा भनेको कविता नै हो । आफ्नो लेखन यात्रा निरन्तर रहने बताउने कवि हेमन जिन्दगीलाई यात्राको संज्ञा दिने दिएकाले आफ्नो नामको पछाडि यात्री उपनाम राखेका छन् ।
मोरङको रमिते खोलाका श्री टाडी माध्यमिक विद्यालय उतरेबाट वि.सं. २०५७ मा एस.एल.सी. उत्तीर्ण गरी उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट एम.ए. पूरा गरेका छन् । उनी विविध समयमा विभिन्न रेडियो कार्यक्रमहरुमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । विभिन्न साहित्यक संघ संस्थासंग आवद्ध यात्री विशेषत धरानका साहित्यिक संस्था कलरवका संस्थापक सदस्य समेत रहेका छन् र सो संस्था अन्तर्गत सक्रिय रुपमा स्थानिय तथा राष्ट्रिय कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
समय, परिवेश, जीवन, जीवनभोगाइ, देश, राष्ट्रियता विसंगति, यौन, अस्तित्व, विकृति, पराधीनता, विडम्बना, इत्यादि वरिपरि नै छन् यिनका कविता । सुरुचिपूर्ण विम्ब-विधानयुक्त यात्रीका कविताले नेपालको सम्पन्न प्राकृतिक सौन्दर्य र मानिसबीच समन्वयलाई मौलिक रुपमा प्रस्तुत गरेको पाईन्छ ।
मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंग पाईन्छन् यिनका कवितामा । आफ्नै संवेदना लेखिनुले, आफ्नै सांस्कृतिक कथा र मिथक लेखिनुले र आफ्नै समय लेखिनुले यिनका कविताले आफ्नै समाज, परिवेश, समय र संस्कृतिबाट दृष्य पाएका छन्, गहिराइ र कला पाएका छन्, आवाज र लय पाएका छन् । प्रस्तुत कविता उनले पुस ७ धरानमा अन्तर्राष्ट्रिय परदेशी साहित्य समुहले आयोजना गरेको साहित्यिक कार्यक्रममा सुनाएका थिए । उनले पुरानो प्रमिका जो छाडेर विदेश गएको र त्यहीबाट लामो समय पछि सम्झेको कुरालाई ‘म त्यही हु तिमीले विर्सिगएकाे मान्छे ...’ भनेर निकै मिठो भाषामा प्रस्तुत गरेका छन् ।