पथरीशनिश्चरे/ झापाको दमकस्थित साहित्य कला संगमले नेपाल र भारतका ४ जना साहित्यकार तथा एउटा नाट्य संस्थालाई पुरस्कृत गरेको छ । संगमले शनिबार दमकका साहित्यानुरागी भवानी मिश्रले स्थापना गरेको पुरस्कारबाट भारत सिक्किमकी कविता लामा पुरस्कृत भइन् ।
उनले ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको भवानी मिश्र अन्तरराष्ट्यि साहित्य पुरस्कारबाट पुरस्कृत बनेकी हुन् । त्यस्तै ३५ हजार ५ सय ५५ रुपैयाँ राशीको भवानी मिश्र राष्ट्यि साहित्यिक पुरस्कारबाट काठमाडौंका समालोचक डाक्टर रामप्रसाद ज्ञवालीलाई र २१ हजार ५ सय ५५ रुपैयाँ राशीको भवानी मिश्र प्रादेशिक साहित्यिक पुरस्कार मोरङको झोराहाट नाट्य समूहको गाउँमा कविता श्रृंखलालाई प्रदान गरिएको छ ।
त्यसैगरी, १५ हजार ५ सय ५५ रुपैयाँ राशीको भवानी मिश्र झापा साहित्यिक पुरस्कार विर्तामोडकी भवानी क्षेत्रीलाई र ११ हजार ५ सय ५५ रुपैयाँ राशीको भवानी मिश्र दमक साहित्यिक पुरस्कार दमकका रुद्र निरौलालाई प्रदान भएको छ । यी पुरस्कार ०७४ सालका हुन् ।
साहित्यकारहरु चन्द्र भण्डारी, मिश्र वैजयन्ती तथा पुरस्कृत श्रष्ठा रामप्रसाद ज्ञवाली र कविता लामाले मन्तव्य व्यक्त गर्दै दमकको यसखाले कार्यक्रमको प्रसंशा गरेका छन् । दमकका समाजसेवी एवम् साहित्यानुरागी भवानी मिश्रले साहित्य कला संगममार्फत वर्षेनी साहित्यकारलाई पुरस्कृत गर्ने कामका लागि २१ लाख ५१ हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन् ।