धरान/ धरानमा कार्यालय रहेको कविशिरोमणि साहित्य साधना समाजले १३५ औँ लेखनाथ जयन्तीका अवसरमा साहित्यकार झमककुमारी घिमिरेलाई यही पुस १५ गते सम्मान गर्ने भएको छ ।
समाजका पदाधिकारी एवम् सल्लाहकारसहितको यही पुस ७ गतेको बैठकले सो निर्णय गरेको सचिव डा. भवानीशङ्कर भट्टराईले जनाएका छन् । विगत ६ वर्षदेखि धरानमा विविध साहित्यिक गतिविधि गर्दै आएको यस समाजले पच्चीस हजारनगद तथा सम्मानपत्रबाट घिमिरेलाई सम्मान गर्ने भएको छ ।
सोही अवसरमा वराह दलित स्रष्टा पुरस्कारबाट इटहरी निवासी साहित्यकार केशव सुनामलाई समेत सम्मानित पुरस्कृत गर्न लागिएको अध्यक्ष सिद्धिकर्ण शर्माले बताए । सोही कार्यक्रममा खुल्ला कविता प्रतियोगितासमेत आयोजना गर्न लागिएको कविता छनोट समितिका सदस्य डा. महानन्द तिमिल्सिनाले बताए ।
दुई चरणमा हुने कार्यक्रमको बिहानी सत्रमा धरान-१६ स्थित कविशिरोमणिको सालिकमा माल्यार्पण गरिने छ भने दोस्रो चरणमा धुलिखेल समाजको अतिथि भवनमा लेखनाथ जयन्ती मनाइने छ ।