भाइबहिनी हो आज हामी प्रा.डा. भोलानाथ पोखरेलको सानो छदा पस्किने प्रयास गरेका छौं । आधुनिक नेपाली सामाजिक यथार्थवादी उपान्यासको पात्र विधानमा पिएचडी गरेका डा. पोखरेलका विद्यार्थी कालका कष्टलाई तपाइहरू सामू पस्किने प्रयास गरेका छौं ।
उनको विद्यार्थी काल आम मानिसभन्दा फरक रह्यो । बुबा संस्कृत पढाउन चाहान्थे । संस्कृतमा विद्वान बनाउन चाहान्थे । अङ्ग्रेजीलाई गाई खाने भाषाको रूपमा चित्रित गर्थे । तर, अन्तत्वोगत्वा त्यही बुबाको छोराले संस्कृत पढ्ने अवस्था रहेन । २०१२ साल साउन १७ गते धर्तीमा पाइला टेकेका धनकुटा डाँडागाउ नाम्फूका पोखरेल संस्कृत पढ्नका लागि भारतको वनारससम्म पुगे । तर, विविध कारणले एक वर्ष पढेर नेपाल फर्किएपछि उनी नेपाली स्कुलबाटै विद्यावारिधि गरे ।
उमेर ५, स्कुल प्रवेश गरेको वर्ष । घरदेखि १५ मिनेटको दूरीमा रहेका सिमेश्वरी प्राथमिक विद्यालयबाट कखरा छिचोले । त्यहीबाट दुनाई कन्ठस्थ पारे । हजुरबुबा कक्षा ८ पढेकाले उनलाई पाठशाला जाने वातावरण सानैमा मिल्यो । बुबा पनि वनारसतिरै शास्त्री गरिरहेकाले उनको शिक्षाको बाटो सहजै खुल्यो । तर, होचो कदका उनी पढ्नमा भन्दा चकचक र खेल्नमा बढी ध्यान दिन्थे । काठको पाटी र स्कुलमा बस्नका लागि मकैंको खोसेलाको पीरा बोकेर जान्थे । बिहान लिएर गएको पीरा बेलुका पनि उसैगरी ल्याउथे । मसिनो धुलो काठको पाटीमा हालेर झिजाले कखरा छिचोको अहिले पनि बिर्सदैनन् । त्यो बेलाको उमेर त्यस्तै स्कुल जादा हरेक दिन अम्बक, बयर, एसेलुको रूखमा झुण्डिएकै हुन्थे । समयभन्दा ढिला पुग्दा गुरुहरूको हातको पिटाइ पनि खान्थे ।
कतिपटक साथीलाई अम्बकले हिर्काएर टुटुल्को पनि उठाइदिन्थे । कयौंपटक आमाको गाली खान्थे । तर, लागेको बानी छाड्ने होइन् । संयुक्त परिवारमा बसेका उनी त्यही स्कुलबाट कक्षा ४ सम्म छिचोले । ८ वर्षको उमेरमा बुबासँग बस्न थालेका उनलाई बुबाले संस्कृत पढाउने भनेरै दाजुहरूसँग वनारस पठाइदिए । कक्षा ५ संस्कृतमै पढे । तर, अर्को वर्ष पढ्न गएका दाजुहरू गाउँ फर्किएपछि उनी पनि जान पाएनन् । ‘बुबा पु¥याउन नभ्याउने, म एक्लै जान नसक्ने ।’ उनी विगत सम्झदै भन्छन् ।
वनारस उनलाई सस्कृत पढाइले मात्रै तानेको होइन् । त्यो बेलामा सडक, रेल, मोटर गाडी हेर्न पाइन्छ भन्ने लाससाले पनि उनी वनारस जान चाहान्थे । ‘वनारसमा रेल गाडी हेर्ने, माउ गाडी हेर्ने, बच्चा गाडी हेर्ने शौख थियो । विजुली बलेको, सडकमा गाडीको ताँत कुदेको हेर्ने रहर थियो ।’ उनी भन्छन् । रणवीर संस्कृत विश्वविद्यालयका एक वर्ष पढेपछि उनी गाउँ फर्किए । अनी गाउँभन्दा करिब डेढ घण्टाको पर रहेको धनकुटौ चानुवाको स्कुलमा ६ र ७ सम्म पढे । घरदेखि कस्सिएर हिड्दा झण्डै एक घण्टा माथि लाग्ने, विस्तारै हिडे डेढ घण्टामा मात्रै पुगिने उनी सुनाउँछन् । तर, केटाकेटीमा उनी दौडिदै पुग्थे । हजुरबा पण्डित भएकाले पनि होला उनलाई पनि हजुरबुबाझैं पढ्ने रहर थियो । ‘हजुरबुबाले लघुकौमुदी सबै कण्ठ पार्नुभएको थियो ।’ उनी विगत सम्झन्छन् ।
कक्षा ६ र ७ पढिसकेपछि उनी संखुवासभाको चैनपुरस्थित मादी भन्ने ठाउँमा माथिल्लो कक्षा ८, ९ र १० पढे । जहाँ उनी डेरा गरेर बस्नु पथ्र्यो । आफै पकाएर खानुपर्ने, आफै लुगा धुनेदेखि लिएर सबै आफै गर्नुपर्ने । घरभन्दा उत्तर पश्चिम हिडेर जानु पर्ने झण्डै एक दिनभन्दा बढी लाग्ने । खोला तरेर जानुपर्ने भएकाले पनि घरपरिवार विशेष गरी आमालाई एकदमै चिन्ता हुने उनी बताउँछन् । ‘छोरो पुग्यो कि पुगेन भन्ने थाहा हुदैन थियो । तीन वर्ष मादी पढ्दा आमालाई साह्रै चिन्ता भयो ।’ उनी भन्छन् ।
एकपटक घरदेखि हिडेपछि तीन महिना पढाइमै व्यस्त हुने र घरकालाई पुग्यो, पुगेन भन्ने खबर पठाउने कुनै माध्यम हुदैन थियो । ‘म कतिखेर घर जाने भन्ने नै हुँदैनथियो । एक्कासी पुगिथ्यो । अहिलेको जस्तो थिएन । तीन महिनासम्म छोरा पुगो कि पुगेन थाहा हुदैन थियो । खोलाहरु बीचमा पथ्र्यो । बडा पीर हुन्छ भन्नुहुन्थयो आमा ।’ उनी भन्छन् । मादीमा पढाइमा राम्रो थियो । बुबाले नै धनकुटामा छोरो बिग्रेला, खराब सङ्गतमा पर्ला भनेर मादीमा हालिदिएको स्मरण गर्छन् । पढाइ अब्बल हुने भएकाले बुबालाई यतिबेला उनी धन्यवाद दिन्छन् । भन्छन्, ‘मादी नपढेको भए सायद म यस्तो हुने थिइन होला ।’
मादी गएपछि उनको कामै पढाइ–पढाइ मात्रै थियो । त्यो बेला मादीमा होलस्कुल फष्ट एकजना बहिनी आउने गरेकी थिइन् । मादीमा उनी पुगिसकेपछि उनी नै कक्षाको प्रथम भइदिए । त्यही कारण ति बहिनीले स्कुल छाडेर विराटनगर तिर पढ्न थालिन् । स्थानीय रुद्रनाथ दाहाल छात्राबासजस्तो घरनै बनाएका थिए । ‘विद्यार्थीहरूलाई निःशुल्क राख्ने र धर्म कमाउने भनेर बनाउनु भएको रहेछ ।’ उनी भन्छन् ।
२०३० साल उनी एसएलसी पास भएको वर्ष । त्यो बेला उनी फष्ट भए पनि थर्ड डिभिजनमा पास भएका थिए । सेकेण्ड डिभिजन आउनु भनेको फष्ट डिभिजन बराबर नै हुन्थ्यो त्यो बेला । स्कुलबाट पास गर्नेमध्येमा उनी पनि दरिए । एसएलसी दिएकै साल बुबाले खादै आएको खेतीपाती फिर्ता भयो । किपटको जग्गा भएकाले साहुले फिर्ता गरिदिए । वर्षभरी खान हुने गरी त्यही जग्गाबाट आउथ्यो । तर, साहुले पैसा फिर्ता गरेपछि उनको परिवारको हरिविजोग हुने भयो । त्यसपछि मधेश गएर खेतीपाती किन्ने र किशान काम गर्ने सोच बनाएको उनी बताउँछन् ।
‘जिमदारले पुनः किपटको पैसा थोरै पैसा दिएपछि खान नपाउने अवस्था भयो । बुबाले के गर्ने के गर्ने आत्तिनु भयो । माघमा एसएलसी सिध्यिएपछि तपाइलाई सहयोग गर्छु मधेशमा जग्गा लिनुपर्छ ।’ उनी भन्छन् । त्यो बेला पहाडमा बाहुनहरूले हलो जोत्ने चलन थिएन । मधेशमा चाहिँ जोतेको उनले सुनेका थिए । उनले आफै भनिदिए, ‘जग्गा किन्नु एसएलसीपछि म आफै गएर हलो जोत्छु ।’ बुबा पण्डित भएकाले जोत्ने कुरा थिएन । जोतेमा पण्डित्यी गर्ने अवस्था सिर्जना हुन्थेन ।
उनले संस्कृत नपढेकाले पण्डित्यी गर्ने अवसर प्राप्त हुदैन थियो । त्यसैले उनले प्रण गरे । आफै गएर जोत्ने । नभन्दै एसएलसीपछि मोरङको राजघाटमा बुबाले किनेको २ बिघा ४ कठ्ठा जग्गा आफै जोत्न थाले । पछि एसएलसी पनि पास भए । एसएलसीपछि उनले मोरङको सरस्वती मावि इटहरामा प्रावि शिक्षक भएर शिक्षण पेश पनि गरे । त्यो बेला उनको तलव थियो १८२ रुपैयाँ २५ पैसा । अस्थायी भएकाले अर्को वर्ष अन्तरवार्ता भयो । भनसुन गर्नुपर्ने भएकाले उनले चिनेजानेको नभएकाले पनि फेल गराइदिए ।
त्यसपछि आउँदै गरेको १८२ रुपैयाँ पनि नआउने देखेपछि उनी जागिरको खोजीमा धनकुटाको कात्तिके बैकुण्ठेको मुगा प्राविका हेडमास्टर चाहिएपछि त्यहाँ आइपुगे । सञ्जोगले त्यहीवर्षबाट नेपाल सरकारले प्राविको हेडमाष्टरका लागि कम्तिमा पनि एसएलसी पास गरेको हुनुपर्ने प्रावधान बनाएका कारणले त्यहाँ अवसर पाए । नेपालबाटै एसएलसी पास गरेकाले उनलाई सहजै पाए । त्यो बेला उनको तलव २ सयको हाराहारीमा थियो ।
केही समय पढेपछि उनले आइएड पढ्नका लागि धनकुटा क्याम्पस झरे । धनकुटामा गणीत र नेपाली विषय लिएर आइएड पूरा गरे २०३५ सालमा । त्यही बेलादेखि उनलाई साहित्यमा पनि इच्छा जाग्दै गएको थियो । आफ्नो गाउँमा उनी ठूलो मान्छे कहलिए । घरको अवस्था नाजुक थियो । तात्कालीन समयमा जागिरको आवश्यकता थियो । शिक्षा कार्यालय गए । उनको प्रमाण पत्र हेरेपछि नभन्दै मङ्गलबारेको सुनपकुवा माविमा गणित र विज्ञान विषय पढाउने शिक्षक बनिए । त्यो बेला उनको तलव हेडमास्टरको भन्दा बढी थियो ।
८२५ रुपैयाँमा नियुक्ति गरियो । उनी त्यहाँ हाइहाइ भए । ‘हेडमास्टरभन्दा बढी तलव खाने भनेपछि गाउँभरीका मानिस हेर्न आउथे ।’ उनी सम्झन्छन् । त्यही बेला शिक्षा आयोग पनि पास गरे । शिक्षा आयोग पास भएपछि उनलाई तात्कालीन सुकुना निमाविमा हेडमास्टर बनाएर खटाइयो । २–३ वर्ष काम गरिसकेपछि स्कुललाई गाउँबासी र उनको आफ्नै पहलमा मावि बनाए । तर, मावि बन्ने बित्तिकै बिएड गरेकालाई मात्रै हेडमास्टर बनाउने चर्चा गाइगुई चल्न थाल्यो । नभन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र गाउले बिएड गरेकालाई हेडमास्टर बनाउनुपर्छ भनेर उनीसँग आग्रह गरे । ‘तपाई चाहिँ सहायक हुनुपर्यो भनेपछि आफूलाई सहायक बनेर बस्नु मन लागेन, बेतलवी विदा दिनुस् म विएड पढेर आउँछु भने ।’ उनी भन्छन् ।
पछि विएड गरेपछि एमए पनि गर्ने सोच आयो । २०४१ सालमा एमए पनि सिध्याए । पछि सुकुना माविबाट धेरै प्रस्ताव आएको भए पनि उनले स्वीकारेनन् । अन्तत्वोगत्वा उनले एमए पूरा गरी काठमाडौंमै पढाउन थाले । २०४६ सालमा वैवाहिक जीवनमा बाँधिए । त्यही क्रममा उनी प्राध्यापकमा पनि नियुक्त भए । २०६० देखि उनी आधुनिक नेपाली सामाजिक यथार्थवादी उपान्यासको पात्र विधानमा पिएचडी शुरु गरे । २०६५ सालमा विद्यावारिधि सिध्याए ।
धेरै आरोह अवरोह पार गर्दै यो अवस्थामा आइपुगेका उनी अहिलेका विद्यार्थीहरूलाई धेरै सहज भएको बताउँछन् । प्रविधिको युगमा विद्यार्थीहरूको लागि शिक्षक नै नचाहिने अवस्था आइसकेको बताउँछन् । पुस्तकबिनै एक वर्षसम्म पढेको अनुभव सङ्गालेका उनी अहिले त्यो अवस्था नरहेको बताउँछन् । ‘अहिलेका विद्यार्थीलाई कति सजिलो छ सजिलो । उहिले मैले पढ्दा एकवर्ष किताबबिनै पढेको थिए ।’ उनी भन्छन् । अहिले अवसर प्रसस्तै भएको उनी बताउँछन् ।