धरान/शारीरिक सुगठन भन्ने बित्तिकै धेरैको मानसपटलमा ‘मसल्स’ बनाउने भन्ने बुझाइ हुन्छ । तर, यथार्थमा यो खेल हो । इण्डोर खेल ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसलाई खेलका रूपमा समेटेको छ । तर, उपेक्षामा छ । यो खेलका लागि राखेपले कुनै खर्च गर्दैन । शारीरिक सुगठनमा सहभागी खेलाडी तथा सङ्घको राखेपप्रति यस्तै आरोप लाग्छ । इन्टरनेशल फेडेरेसन अफ बडी बिल्डिङ (आइएफबीबी) अन्तर्गत नेपाल फेडेरेसन अफ बडि बिल्डिङका सल्लाहकार तथा पूर्व खेलाडी राजभगत प्रधानाङ्ग भन्छन्, ‘राखेपले यसलाई खेलनै मान्दैन । राष्ट्रले बडि बिल्डिङ हेर्दै हेर्दैन । फुटबललाई मात्रै हेर्छ ।’

शारीरिक सुगठनको अन्तर्राष्ट्रिय प्रतियोगिता भिड्नका लागि कम्तिमा पनि एउटा खेलाडीले ५ लाखभन्दा माथि खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय खेलहरूमै सहभागी बन्नका लागि एउटा खेलाडीको २ लाखको हाराहारीमा खर्च हुने गरेको खेलाडी स्वयम् बताउछन् । राज्यले पनि यसलाई खेलको रूपमा नलिदाको परिणाम ‘मसल्स’ बनाउने मात्रै हो कि भन्ने भ्रम आम मानिसमा छ । यहीबीचमा नेपालका महेश्वर महर्जनले शारीरिक सुगठनबाटै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाए । उनी इन्टरनेशल बडी बिल्डिङ फेडेरेसन ( डब्लुबीबीएफ) अन्तर्गतको त्यो प्रतियोगिताबाट राज्यलाई चिनाए ।

mahesh

तर, राज्यले त्यसलाई सामान्य रूपमा लिइदिएको खेलाडीहरू बताउछन् । ‘राज्यले यो खेललाई उपेक्षा गरेको छ ।’ खेलाडी तथा एनिटाइम फिटनेश धरानका प्रशिक्षक उत्तम खत्री भन्छन् । राखेपले यसका लागि छुट्टै प्रशिक्षकको व्यवस्था गरेको छैन । जवकी अन्य खेलहरूको स्वयम्सेवक प्रशिक्षकसमेत हुने गरेको उनी बताउछन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेलाई राज्यबाट सम्मान छैन । सङ्घ आफै विवादित छ ।’ उनी भन्छन् ।

नेपालमा आइएफबीबी र डब्लुबीबीएफ गरी दुईवटा संस्थाको सम्बन्धन लिएर सञ्चालन गरेका छन् । आइएफबीबीको प्रधान कार्यालय स्पेनमा छ । जसमा एकसय ९२ वटा देश जोडिएको दाबी आइएफबीबीमा आवद्धता भएका खेलाडीको दाबी छ भने डब्लुबीबीएफमा २५ देशहरू आवद्ध छन् र यो भर्खरै मात्रै स्थापना भएको हो । सङ्घको आ–आफ्नै दाबीका कारण पनि यसले खेलको रूप लिन नसकेको खेलाडीहरू स्वयम् बताउछन् । ‘राखेप त नीति निर्माण बनाएर छाडिदिने हो । सङ्घले खेलाडी उत्पादन गर्नुपर्ने हो । त्यसको अनुगमन राखेपले गर्ने हो । तर, त्यो गर्न सकेको छैन ।’ सल्लाहकार प्रधानाङ्ग भन्छन् ।

उनी हाकाहाकी नै खेलकुदमा राजनीति छिरेको बताउछन् । यसलाई पूर्णतः अन्त्य नगरेसम्म नेपालमा खेलको विकास हुने सम्भावना क्षीण देख्छन् उनी । ‘यो खेल मात्रै हैन, अन्य खेलहरू पनि राजनीतिका कारण विकास हुन सकेका छैनन् । यसको अन्त्य गर्नुपर्छ ।’ उनी भन्छन् । शारीरिक सुगठन इण्डोर खेलमध्ये निकै ‘पपुलर’ भए पनि नेपालमा यसलाई खेलको रूपमा नहेरिदिदा त्यसको सामाना खेलाडीहरूले गरिरहेका छन् ।

‘धरानकै कुरा गरौं, धरानले मेयर कप स्कुल ओलम्पिक गर्छ । तर, यो खेल समावेश गर्दैन ।’ एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बू गुनासो पोख्छन्, ‘स्थानीय तहले कम्तिमा पनि खेलको रूपमा समावेश गरिदिए धेरै राहत हुन्थ्यो ।’ इतिहास पल्टाउने हो भने शारीरिक सुगठन प्रतियोगिताको रूपमा धरानले नै पहिलो प्रतिनिधित्व गरेको थियो । नेपालमा २०१० सालमै धर्मभक्त माथेमाले नेपाल व्यायम मन्दिरको स्थापना गरे पनि प्रतियोगिताका रूपमा गराएको थिएन । ‘प्रतियोगिता शुरु भएको धरानमै पहिलो हो ।’ दोस्रो मिस्टर धरानसमेत बनेका प्रधानाङ्ग सुनाउछन् ।’ २०२७ सालमा मिस्टर धरान गर्दै नेपालमा पहिलो शारीरिक सुगठन प्रतियोगिताको प्रारम्भ गरेको थियो ।

‘राज्य मात्रै हैन, उद्योगी, व्यापारीहरूले पनि खासै यो खेलमा लगानी गर्न चाहादैनन् ।’ एलाइनेट जिमका अध्यक्ष लिम्बू भन्छन् । अहिले एलाइनेट जिमको सोह्रै प्रस्तुतिका रूपमा दोस्रो राष्ट्रिय बडी बिल्डिङ प्रतियोगिता गराउदै छन् । यही खेलको लागि पनि धेरै प्रायोजकलाई भेटे पनि खासै ध्यान नदिने गरेको उनी गुनासो पोख्छन् । ‘राज्यबाट हामी उपेक्षित छौं नै । उद्योगी, व्यापारीहरूले पनि हामीलाई लगानी गर्न चाहादैनन् ।’ उनी भन्छन् ।

जसका कारण पनि यो खेलप्रति खेलाडीहरूको आर्कषण घट्दो भएको अनुभूति उनको छ । ‘विगतमा धरानबाटै २०–२५ जना खेलाडीहरू प्रतिस्पर्धामा उत्रिन्थे ।’ उनी भन्छन्,–‘अहिले धरानबाट ५ जना खेलाडी प्रतिस्पर्धामा उत्रिन गाह्रो छ ।’ अहिले अधिकांसहरू खेल्नका लागि भन्दा पनि ‘स्वस्थ्य रहन’ का लागि मात्रै फिटनेस धाउने गरेका छन् । प्रशिक्षक उत्तम खत्री भन्छन्,–‘अहिले खेलाडी बन्नभन्दा पनि फिटका लागि मात्रै आउछन् ।’