ताप्लेजुङ / लिम्बू इतिहास विद, मुन्धुमविद् तथा लिम्बू भाषाका बरिष्ठ साहित्यकार इमानसिंह चेम्जोङको जन्मजयन्तीको अवसर पारेर ताप्लेजुङमा पहिलो पटक लिम्बू कवि गोष्ठी गरिएको छ । मङ्गलबार १ सय १६ औं जन्मजयन्तीको अवसरमा ताप्लेजुङ तथा पाँचथरका कवि, गजलकारहरूले आ–आफ्नो सिर्जना प्रस्तुत गरे ।
किराँत मुकुम्लुङ लिम्बू भाषा तथा साहित्य मञ्च ताप्लेजुङको आयोजनामा कवि गोष्ठी गरेको हो । कविहरूले लिम्बू भाषा तथा नेपाली भाषामा कविता तथा गजल प्रस्तुत गर्नुका साथै इमानसिंह चेम्जोङको योगदानप्रति सम्मान गरेका थिए ।
गोष्ठीमा कवि मनिस हेल्लोक, लेकाली कान्छा मुकुम, सीता पिरती, आलोक मावोहाङ, मधु केरुङलगायत कविले आ–आफ्ना सिर्जना वाचन गरे । इमानसिंह चेम्जोङको योगदानको सम्मान तथा लिम्बू भाषा साहित्यप्रति युवाहरूलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम गरिएको अध्यक्ष ज्ञानु फुरुम्बो चरेपले जानकारी दिए ।