तेह्रथुम/ मुलुकभर सञ्चार क्षेत्रको तिब्र विस्तार भईरहदा समेत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगलस्थल गुफा बजारमा नेटवर्कको पहुँच नपुग्दा सेवाग्राहीहरुलाई सास्ती भएको छ । पर्यटकिय क्षेत्रको रुपमा परिचित यस बजारमा मोबाइल फोनको नेटवर्क नटिप्दा स्थानीय बजारबासी र यहा घुम्न आउने पर्यटकहरु मर्कामा परेका छन् ।
गुफा बजारलाई लक्षित गरि कुनै नेटवर्ट प्रदायक कम्पनीले टावर निर्माण नगरेपछि चैनपुर नगरपालिकाको सुकेबजार, गुफाबजार, मिल्के लगायतका क्षेत्रमा स्थानीयहरु टेलिफोन सेवाबाट बन्चित छन् । बजारवासी सबैको हातहातमा मोबाइल भएपनि आफन्तसँग फोन गरेर कुरा गर्न सकिने अवस्था छैन ।
यहा घुम्न आईपुगेका पर्यटकहरुले आफ्नो घर परिवार तथा आफन्त संग सम्पर्क बिहिन हुनुपरेको आन्तरिक पर्यटक अर्जन पुरीले बताए । उनले भने यस्तो पर्यटकिय क्षेत्र भएर पनि मोबाईलको नेटवर्क नटिप्दा दुःख लागो ।
तेह्रथुमको सदरमुकाम म्याङलुङ देखी ३२ किलोमिटरको दुरीमा रहेको पर्यटकिय क्षेत्र गुफाबजारमा कुनैपनि सञ्चार कम्पनीको नेटवर्क छैन । फोन नै गर्नुपर्ने जरुरी काम पर्यो भने बजारबाट आघा घण्टाको तेर्सो र उकालो बाटो चढेर डाँडा, डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय पासाङ सेर्पाले बताए । ‘के गर्नु फोन गर्न पनि अग्ला डाँडा चढ्नु पर्छ ।’ सेर्पाले भने ।
सेर्पा समुदायको बाहुल्य रहेको यो बजारमा केही अप्रिय घटना भएमा तुरुन्त कतै खबर गर्न सकिने अवस्था छैन । फोन नै गर्नुपर्ने काम पर्यो भने सबै काम छाडेर डाडाँ डाडाँ पुग्ने पर्ने यहाको बाध्यता बनेको छ । कोही मरिमराउ हुदा पनि बर्खान्त सकिएपछि मात्र थाहा हुने गर्छ ।
करिब ५० वर्ष अघि स्थापना भएको यो बजारमा मोवाईल सेवाका लागी सम्बन्धीत निकायमा पटक पटक टावर स्थापनाका लागी अनुरोध गरेपनि कुनै सुनुवाई नभएको स्थानीय मन्जु खनालको भनाई छ । ‘यहाँ आउने सबैलाई भनिसकियौं कसैले पनि चासो देखाएनन्, साह्रै समस्या भएको छ ।’ खनालको भनाई छ ।
नेपाल टेलिकम दुरसञ्चार कार्यालय विभिन्न ठाउँमा नेटवर्कको क्षमता बढाउने र विस्तारको कार्य गरेपनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र र दुर्गम स्थानमा खासै महत्व नदिएको गुफा बजारबासीको गुनासो रहेको छ ।