भद्रपुर/ विद्युत् मिटर जडान गरेर तीन महिनासम्म महशुल भुक्तानी नगर्ने ग्राहकका घरको बिजुलीको लाइन धमाधम काट्न थालिएको छ ।  नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले अभियान शुरु गरेको दुईहप्तामा ६ सय ४८ ग्राहकको विद्युत् लाइन काटिसकिएको बताइएको छ ।

केन्द्रअन्तर्गत रहेका धुलाबारी, बुधबारे, चन्द्रगढी, भद्रपुर, पृथ्वीनगर, बनियानी, हल्दीबारी क्षेत्रका विभिन्न उद्योग, व्यापारी, सिंचाइ, घरलगायतका ग्राहकको लाइन काटिएको राजस्व चुहावट नियन्त्रण शाखाले जनाएको छ ।

पहिलो चरणमा तीन महिनाभन्दा बढी १० हजार रुपैयाँभन्दा माथि महशुल नतिर्ने ग्राहको लाइन काटिएको शाखा प्रमुख केशरकुमार बानियाँले बताए । लाइन काटिएका मध्ये सबैभन्दा ग्राहस्थ (घर) बढी रहेको बानियाँले जनाए ।

लाइन काटिएका ग्राहकबाट २ करोड ३७ लाख ७० हजार ८ सय ३२ रुपैयाँ असुलीसमेत गरिएको उनले बताए । लाइन काटिएपछि तिर्नुपर्ने बाँकी रकम र प्रत्येक ग्राहकको पुनः सेवा शुरु गर्न लाग्ने ५ सय ६५ रुपैयाँसमेत गरी सो बराबरको रकम दाखिला भई लाइन शुरु गरिएको उनले जनाए ।

बक्यौता रकममा सबैभन्दा बढी औद्योगिक क्षेत्र रहेको उनको भनाइ छ । पहिलो चरणको अभियान लगभग पूरा भइसकेकाले आइतबारबाट दोस्रो चरण शुरु गरिएको उनले जनाए ।  जसमा तीन महिनाभन्दा माथि ५ हजार रुपैयाँ कमको लाइन काट्न टोली परिचालन गरिएको उनले जनाए ।

अबको समयमा प्रविधिको विकास भएसँगै सबै काम कम्युटरमार्फत् हुने भएकाले राजस्व चुहावट भएको तत्काल थाहा हुने केन्द्र प्रमुख रामउद्गार शाहले बताए ।

सबै क्षेत्रका लागि कर्मचारी तयारी अवस्थामा राखिएकाले गुनासा आउने बित्तिकै पुग्ने उनले बताए । विद्युत् चुहावट रोकेर राजस्व सङ्कलनमा बढी ध्यान दिएको उनले सुनाए ।

पहिलो चरणको अभियान सम्पन्न भई दोस्रो चरणअन्तर्गत रहेको ५ हजार रुपैयाँ कम महशुल नतिर्ने ग्राहकको लगत निकाली रहेको उनले बताए ।

दुईहप्ता यो अभियानलाई सञ्चालन गरिने उनले जानकारी दिए । यतिमात्र नभएर विद्युत्को नियमविपरीत कार्य गर्ने ग्राहकलाई कारवाहीसमेत गरिँदै आएको उनले बताए । यस्ता अभियान समय–समयमा ल्याए ग्राहक तथा सरकारलाई फाइदा हुने उनले जनाए ।