प्रविधिमा मानवहितको क्षमता छ तर यो जादू होइन । दुई शताब्दि पहिले टेलिग्राफको आविष्कार हुँदा अब संसार साँघुरिदै जानेछ र सबैको आवाज सुनिनेछ भन्ने विश्वास उब्जेको थियो । आज आएर टेलिग्राफ आफैं लोप भइसेको छ, जबकी सामाजमा विभेद छँदै छ ।
बिसौं शताब्दिमा टेलिभिजनले “विकासको लागि सञ्चार” भन्ने ठूलै वैचारलिक लहर ल्यायो । टेलिभिजनले दाबी गरिएझैं फाइदा ल्यायो त भनेर ठम्याउन नभ्याउँदै सूचना प्रविधिको युग आएको छ । सूचना प्रविधिमा त सिङ्गो मानव सभ्यताकै रूपान्तरण गर्ने सामथ्र्य रहेको ठोकुवा हुन थालेको छ ।
यस्ता अड्कलबाजी सार्वजनिक बहसमा मात्र नभएर नीति निर्माणका गहन छलफलमा पनि उत्तिकै देखिन्छ । तर यी सबै बहस र छलफलले विश्वभरी प्राज्ञीक अनुसन्धानबाट उब्जेका केही गम्भिर तथ्यलाई बेवास्ता गरिरहेका छन् ।
पहिलो तथ्य, सूचना प्रविधिले आर्थिक विकास निम्त्याउँछ भन्ने प्रकल्पना कम आयस्तरभएका मुलुकहरूमा सिद्ध हुन सकेको छैन ।
दोश्रो तथ्य, सूचना प्रविधिबाट सबै समानरूपले लाभान्वित हुनुको साटो यो प्रविधिले समाजमा विद्यमान विभेदलाई झनै बढाउने खतरा प्रबल छ । तेश्रो तथ्य, वर्तमानमा सूचना प्रविधि पूर्वाधार प्रयोगकर्ताको आवश्यक्ता र क्षमता अनुरूप हुनुको साटो मात्र लगानीकर्ताको व्यापार फष्टाउन सहयोगी हुँदैछ ।
चौंथो तथ्य, सूचना प्रविधिबाट उफ्रेर विकासम्म पुग्नु सम्भव छैन, यी दुइका बीचमा थुप्रै अरू पूर्वाधारले पुलको काम गर्नु पर्ने हुन्छ । यी तथ्यलाई आतम्मसात नगरेसम्म पूर्वाधारका योजना यथार्थपरक हुने छैनन् ।
कसको विकास ?
सन् २००९ मा विश्वबैङ्कले सुचना प्रविधिमा लगानी गरेभने आर्थिक वृद्धिहन्छ भन्ने दाबी गरेको थियो । पछि २०१६ मा आएर सूचना प्रविधि र विकासको सम्बन्ध सोझो छैन भनेर विश्वबैङ्कले आफैं स्विकारेको छ ।
नेपालका सूचना प्रविधि नीतिले विश्व बैङ्कको पुरानै त्रुटिपूर्ण दाबीलाई उधृत गरेका छन्, जबकि सूचना प्रविधि र आर्थिक विकासबारे प्राज्ञीक अनुसन्धातामाझ पहिले देखिनै मतभेद थियो । समग्रमा अनुसन्धानले के देखाउँछ भने विकसित मुलुकमा सूचना प्रविधि आर्थिक विकासमा सहयोगी देखिए तापनि गरिब राष्ट्रमा त्यो सम्भव छैन ।
सूचना प्रविधिको पहुँच र प्रयोगबारे भएका अनुसन्धानले पूर्वाधारले समाजमा रहेको असमानतालाई अझै फराकिलो पार्ने चेतावनी दिएको छ । समाजमा पहिले नै सशक्त रहेको वर्गले यो अर्वाचिन प्रविधिको फाइदा उठाउने भएकोले सामाजीक-आर्थीक विभेद झनै बढ्ने हो कि भन्ने त्रास छ ।
नेपालको तथ्याङ्क हेर्दा पढेलेखेका र बिजुलीमा बढी खर्च गर्ने घरधुरी नै इन्टरनेटको प्रयोगकर्ता भएको देखिन्छ । त्यसमाथि ब्रोडब्याण्डको पहुँच शहरी क्षेत्रमैं सीमित छ । गाउँ गाउँमा मोबाइल फोन पुग्नु सन्तोषजनक मान्न सकिएला, तर मोबाइल डाटाबाट इन्टरनेट चलाउनेहरू शहरमैं केन्द्रित छन् ।
अहिले नेपालमा इन्टरनेटको सर्वव्यापी पहुँच पुर्रुयाउनु नै ठूलो चुनौती रहेको छ । धनी मुलुकहरूको अनुभवले इन्टरनेटको पहुँच व्यापक हुँदैमा सबैले त्यसको समान प्रयोग गर्न सक्दैनन् भन्ने देखाउँछ । समाजमा रहेको आय, सीप र शिक्षास्तरको भिन्नता इन्टरनेट प्रयोगमा झल्किन थाल्छ ।
पुरानै टाठाबाठा र सम्पन्नले नै बढी मात्रामा, बढी गुणस्तरको, र बढी उपयोगी ढङ्गले इन्टनरेटलगायतका डिजिटल प्रविधि प्रयोग गर्न थाल्छन् । फलस्वरूप थोरैले मात्र सूचना प्रविधिबाट सम्भावित आय अथवा सीप वृद्धि जस्ता ठोस लाभ हासिल गर्छन् ।
समाजमा असमानतालाई निमिट्यान्न पार्छु भन्नु विज्ञान असम्मत भावुक चित्कार मात्र हुन सक्छ । बरू कुन हदसम्म असमानता स्विकार्य छ भन्ने प्रश्न महत्त्वपूर्ण छ । इन्टरनेटको सन्दर्भमा भन्दा सबै नागरिकले अनलाइन समाचार पढ्न सकून् भन्नु उचित होला, तर सबै देशवासी अनलाइन व्यापार गर्न सक्षम होऊन् भन्नु अवास्तविक हो ।
खासगरी अत्यावश्यक सेवा पाउने पुराना विकल्पलाई लत्याएर नयाँ प्रविधि थोपर्नु खतरनाक हुन्छ । जस्तो, सरकारी फारामहरूलाई अनलाइन मात्र भर्ने प्रावधान राखिए भने त्यो अस्विकार्य हुन्छ ।
कसरी विकास ?
प्रयोगबिना पूर्वाधार व्यर्थ हुन्छ । पहुँचसम्बन्धी तथ्याङ्कले भौतिक परियोजना सफल भइरहेका छन् भनेर झुक्याउन सघाउँछन् । यसको उदाहरण मोबाइल इन्टरनेट हो । हातहातमा मोबाइल पुगेपनि मोबाइल इन्टरनेट प्रयोगकर्ताले औसतमा मासिक ६८ एमबि भन्दा कम डाटा खपत गर्छन्, जुनै निकै नै कम हो ।
नेपालमा डाउनलोडको दाँजोमा अपलोड लगभग शून्य छ, यसबाट प्रयोगको दृष्टिले नेपाल इन्टरनेटको डम्पिङ्ग साइट मात्र हो भन्ने प्रष्टिन्छ । अन्तर्राष्ट्रिय बजारले जे सामग्री थोपर्छ त्यही यहाँ प्रयोग हुन्छ । इन्टरनेटले “ज्ञानमा आधारित समाज” को निर्माण गर्छ भन्ने परिकल्पना र गरिब राष्ट्रहरूको यथार्थ ठीक उल्टो पाइएको छ ।
नेपाल जस्तो मुलुकमा परम्परागत स्थानिय ज्ञान र सीपलाई बढुवा दिन इनटरनेटले कुनै मद्दत पुर्याएको छैन ।
आज पूर्वाधार बनाइहालौं, भोलि त्यसको प्रयोग भइहाल्ला भन्ने रणनीतिले सधैं काम गर्दैन । त्यसको निम्ति पूर्वाधारको निर्माण प्रयोगकर्तालाई ध्यानमा राखेर गरिनुपर्छ । इन्टरनेटको सन्दर्भमा ठीक उल्टो भइरहेको छ ।
इन्टरनेटको राम्रो उपयोग गर्न प्रयोगकर्ताले उचित शिक्षा र अङ्ग्रेजीको राम्रो ज्ञान हासिल गर्नु पर्ने भएको छ । हो, मनोरञ्जनको लागि शिक्षा र भाषाले खासै असर गर्दैन र संसारभर मनोरञ्जन नै इन्टरनेटको प्रमुख उपयोगिता हो ।
तर मनोरञ्जनको लागि टेलिभिजन छँदै थियो, इन्टरनेट किन चाहियो ? प्रयोगकर्ता मैत्री नभएसम्म सूचना प्रविधि विशेष किसिमका व्यापारलाई मलजल दिने औजार बन्नेछ, बौद्धिक बहसमा दाबी गरिएझैं कमजोरहरूको बोलीलाई चर्को रूपमा अगाडि ल्याउने मञ्च कदापि बन्ने छैन ।
सेतु कसले बाध्ने त ?
एउटा पूर्वाधार र विकासको बीचमा अरू थुप्रै पूर्वाधारले पुलको काम गर्नुपर्ने हुन्छ। सूचना प्रविधि र बिजुलीको सोझो सम्बन्ध छ । विश्वभरी हेर्दा सूचना प्रविधिको उपकरणमा एउटा घरधुरीको १५ प्रतिशत बिजुली खपत हुने गरेको छ ।
मार्टिन चौतारीको अनुसन्धानले नेपालमा सन् २०११ सम्ममैं सूचना प्रविधिले यातायात क्षेत्रको हाराहरीमा उर्जा खपत गर्ने थालिसकेको अनुमान गरेको छ, जबकि अहिले सम्म पनि इन्टरनेटको पहुँच र प्रयोग निकै कम छ ।
सूचना प्रविधिका उपकरणहरू गुणस्तरिय बन्दै गएकाले तिनको बिजुली खपत घट्दै गएका छन्, तर त्यो भन्दा निकै तेज गतिले ती उपकरणको प्रयोग बढ्ने गरेको छ, जसले गर्दा संसारभरी सूचना प्रविधिको कुल उर्जा खपत झन् झन् बढ्दो छ ।
पहिले इन्टरनेट चलाउने घरमा एउटा कम्प्युटर मात्र हुने गथ्र्यो, हेर्दाहेर्दै एउटै प्रयोगकर्तासंग ल्यापटप, ट्याबलेट, मोबाइलफोन जस्ता उपकरण हुन थालेको छ । त्यससंगै इन्टरनेट प्रयोगकर्ता पनि बढ्दै छन् ।
सूचना प्रविधिको भावी उर्जा माग पूरा गर्न नसकिएमा सो पूर्वाधारको कुनै उपयोगिता हुने छैन । आयातित बिजुलिले केही सघाउला, तर त्यसका आर्थीक र राजनीतिक असर आफैंमा विवादका विषय हुन् ।
सूचना प्रविधिको उपयोगीता सडकमा पनि निर्भर गर्छ । अप्टिकल फाइबर जस्ता पूर्वाधार बिछ्याउँदा सडकको अभाव त खट्किन्छ नै, अनलाइन व्यवसायलाई जीवन्त बनाउन पनि सडक चाहिन्छ । दुर्गम क्षेत्रबाट अर्डर दिदैँमा आवश्यक सामग्री इन्टरनेटको तारबाट पुग्ने छैनन्, त्यसको लागि सडक नै चाहिन्छ ।
त्यसैगरी सूचना प्रविधि शिक्षितको हितैसी प्रविधि हो, शिक्षाको पूर्वाधार पनि उत्तिकै आवश्यक छ । विश्वबैङ्ककै शब्दमा भन्दा डिजिटल अर्थततन्त्रका गैह्र(डिजिटल आधार हुन्छन्, जसबिना सूचना प्रविधिको राम्रो प्रभाव देखिने छैन ।
आजका बौद्धिक “विकासको लागि पूर्वाधार” को मन्त्र जप्ने गर्छन । तर हामीले बुझ्नु जरूरी छ, विद्यमान विभेदलाई बढुवा दिने, प्रयोगकर्तालाई भन्दा निर्मातालाई बढी लाभ पुर्याउने, र अरू पूर्वाधारबिना पंगु हुने दुर्गुण सूचना प्रविधिमा मात्र होइन, सडक र उर्जालगायत अन्य संरचनामा पनि छन् ।
त्यसैले पूर्वाधारका योजनामा रोडा, ढुङ्गा वा तार मात्र होइन, त्यसका नकारात्मक प्रभवालाई कसरी रोक्नेबारे पन उल्लेख हुनु पर्दछ ।
साभारः मार्टिन चौतारी ब्लग