उदयपुर/ उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले सेवा प्रवाह चुस्तदुरुस्त बनाउन विद्युतीय हाजिरी प्रणाली सेवा शुरु गरेको छ । जिल्लाको उत्तरी विकट पालिकाले जनताप्रति उत्तरदायी बन्दै मङ्गलबारदेखि विद्युतीय हाजिरी प्रणाली सेवा शुरु गरेको हो ।
जनताले पाउने सरकारी सेवा सुविधा छिटोछरितो र चुस्तदुरुस्त बनाउने उद्देश्यले विद्युतीय हाजिरी प्रणालीको शुरुवात गरेको लिम्चुङ्बुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए ।
पहाडी भूभागले ओगटेको पालिकामा विभिन्न भौतिक समस्यासँग धेरै सङ्घर्ष गरी उक्त सेवा शुरु गरेको राईले बताए ।
पहाडी भूभागले ओगटेको पालिका भएकाले विद्युतको प्रमुख प्रशारण आइनपुगेकाले सोलारबाटै काम चलाइएको छ । इन्टरनेटका लागि फोनका टावरहरू भनिएको ठाउँमा नदिने, दिइएका ठाउँमा पनि पर्याप्त नभएको अवस्थामा ठूलै सङ्घर्ष गरेर सेवा शुरु गरेको राईले बताए ।
यस सेवाले पालिकामा हुने काम कारबाही चुस्तदुरुस्त राख्ने भएकाले प्रभावकारी हुने आशा लिइएको छ । समयमा कार्यालय नआउने, समयभन्दा चाँडै घर जानेदेखि विगतमा घटेका विभिन्न घटना नदोहोरियोस् भन्नका लागि यो प्रणालिले ठूलो सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको विश्वास छ ।
समयमै कार्यालय आएर समयमा फर्कंदा जनताले सरल र सहज सेवा सुविधा पाउने, जनताले बिनाकाममा झञ्झट बेहोर्नु नपर्ने राईले बताए ।
साविक जाँते, बलम्ता, बारा, ताम्लिछा र बाँसबोटे गरी ५ वटा गाविस समायोजन भएर बनेको गाउँपालिकामा ५ वटा वडा छन् । पालिकामा विद्युतीय हाजिरी प्रणाली शुरु भएको करिब एक हप्तामा ५ वटै वडामा विद्युतीय हाजिरी प्रणाली शुरु गरी जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने राईले बताए ।
उक्त प्रणाली शुरु भएसँगै वडाको पनि नेटवर्किङ सिस्टमबाट कर्मचारीको काम कारबाही हेर्न सकिने भएको छ । यस प्रणालीको शुरुवात भएसँगै कागजी झञ्झटबाट मुक्त हुने र कुनै कर्मचारीले ढाट्न–छल्न नसक्ने राईले बताए । सेवामा चुस्तदुरुस्त भएपछि सर्वसाधारणले सहज र सरल रूपले सेवा पाउने भएका छन् ।
विकट भए पनि स्थानीय सरकारले जनताप्रति उत्तरदायी बन्दै आधुनिक प्रणालीद्वारा जनतालाई सेवा सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ । विकट भूभागको पालिकाले पनि लामो प्रयासपछि शहरमा झैँ विद्युतीय हाजिरी प्रणाली सेवाको शुरु गरेको लिम्चुङ्बुङ गाउँपालिकाले जनाएको छ ।