आज हामीले प्राध्यापक डा. भीमप्रसाद खतिवडाको सानो छदाको कथा उधिन्ने प्रयास गरेका छौं । डा. खतिवडाले २०६७ सालमा संस्कृतको दुखान्त नाटकको समालोचनात्मक अध्ययनमा विद्यावारिधि गरेका हुन् । २०३२(३३ सालदेखि विद्यालयीय शिक्षा थालेका उनले विभिन्न आरोह(अवरोहमा पनि आफ्नो पढाइलाई थाति राखेनन् । जसले गर्दा आज उनी यो स्थानमा छन् ।
झापाको बुधबारेमा २०२७ साल चैत्र २८ गते जन्तरे छोराका रूपमा यस धर्तीमा पाइला टेकेका डा. खतिवडाको जीवन आख्यानझैं लाग्छ । ८ छोरा र ६ छोरीको ठूलो परिवार भएकाले आफूभन्दा माथिका दाजुहरूले पढ्ने अवसर कमै पाए । त्यसैले होला जन्तरे छोराका रूपमा जन्मिएका उनले चाहिँ ६(७ वर्षको उमेरदेखि नै विद्यालय टेक्ने अवसर प्राप्त गरे । पुख्र्यौली भुटानबाट फर्किएको हुनाले नेपालमा न टेक्ने ठाउँ थियो, न त समाउने नै । २०२४ सालमै पिता खडानन्दको साथमा लागेर नेपाल आए पनि बस्ने, खानेको टुङ्गो थिएन । उनी जन्मिएपछि पिताजी हालको शिवसताक्षीको चिल्लागढमा आएर बसे । झोडा फाडेर आवादी गरिएको स्थान भएकाले धेरै पटक सरकारबाट धपाइने समस्या भोगेको उनलाई सम्झना छ ।
उनलाई २०३२(३३ सालमा उनको दुई नम्बर दाजु (माइलो) ले घरबाट १५(२० मिनेटको दूरीमा रहेको भगवती प्राविमा पु¥याइदिए । त्यहीबाट विद्यालय शिक्षा शुरु भएको उनी स्मरण गर्छन् । जहाँ उनी कक्षा ७ सम्म पढे । उनी पढ्दा पाटी र खरीको चलन थियो । त्यही पाटीमा खरीले कखरा सिक्ने मौका पाए । परिवारमा पढाउनुपर्छ भन्ने चेतना भएकैले हुनसक्छ उनले स्कुल जाने अवसर प्राप्त गरे । उनीभन्दा माथिको दाजूहरू सबै घरगृहस्थीमै व्यस्त थिए । कक्षामा पनि उनी अब्बल विद्यार्थीभित्र मै पर्थे । कक्षामा पहिलो(दोस्रो नै भइहरन्थे । त्यसकारण शिक्षकको पिटाइ खाएको उनको स्मरणमा छैन । तर, एकपटक कक्षाकोठामा शिक्षक आउन ढिलाइ भएका कारण विद्यार्थी(विद्यार्थीबीच मनारेञ्जन गर्दैगर्दा नरेन्द्र र विनोद सरले दराजमा तीनजना विद्यार्थीहरूलाई थुनिदिएको जीवनमा भुल्दैनन् । ‘त्यो बेलामा त्यो सजाय चाहिँ अहिले पनि भुल्दिन ।’ उनी भन्छन् ।
त्यो दिन अहिले पनि उनको मनमा ताजै छ । अहिले विद्यार्थीहरूलाई पिट्ने कि नपिट्ने भन्ने बहस चलिरहेको छ । ‘तर, त्यो बेला त्यो ठिक थियो या थिएन सररहरूले नै जानुन् ।’ उनी भन्छन्, ‘तर, त्यो दिन जीवनमा पहिलो पटक विस्फोटक भएर रोएका थिएँ ।’ उनले पढ्ने ताका पनि विजुली थिएन । सलेदोसहितको धिप्री (टुकी) बत्तिकै साहाराले पढे । ‘नाकभरी कालो लाग्थ्यो । निधार पनि कालो हुन्थ्यो ।’ उनी भन्छन् । लुगाको नाममा त्यो बेला फाटा कम्पनीको एकसरो लुगा लगाएर स्कुल पुग्थ्यौं । स्कुल पढुञ्जेल खुट्टामा चप्पल देखेनन् । आमाले दुःख गरेर गुन्द्रुक बेचेर कपी, कलम किनिदिने भएकाले उनले गणीत विषयको अभ्यास गर्दा एउटै फुलिस्केप (कपी) लाई तीनपटकसम्म प्रयोग गरेको स्मरण गर्छन् । भन्छन्, ‘फुलिस्केपमा हरियो कलमले लेखिन्थ्यो । अभ्यास गरिसकेपछि धोयो । फेरि लेख्यो । फेरि धोयो । तेस्रो पटकमा कलमले लेख्दा फुलिने भएकाले डटपेनले लेख्थ्यौं ।’
त्यो बेला टिफिनको समयमा खाजा खाने कुरै हुदैन थियो । त्यो समयमा उनी फिरफिरे उडाउदै हिड्थे । ‘सायद खाजा खाने भन्ने भुलाउनका लागि त्यसो गथ्र्यौ क्यार ।’ उनी भन्छन् । उनका समकक्षी शेषलाल चौधरी खाजा खान्थे । राम्रो कपडा लगाउथे । साइकलमा हिड्थे । उनको त्यो अवस्था थिएन । गरिबी र विपन्नताले गाजेको थियो । बिहानभरी घाँसको भारी बोकेर स्कुल पुग्ने । बेलुका गाईबस्तु चराएर फर्किन्थे । पढ्ने समय बेलुकामात्रै हुन्थ्यो । गाईबस्तु चराउँदा नै हो उनले मोदनाथ प्रश्रितको ‘देवासुर सङ्ग्राम’ पढेको । त्यो बेला बाहिर पढ्नु हुदैन भन्थे । लुकाएर नै उनले कास घारीमा उक्त पुस्तक पढेको उनको मनमा अहिले पनि ताजै छ । कक्षा ७ पछि उनी सुरुङ्गामा पढ्न पुगे । कक्षा ८ उर्तीण गरेको केही महिना मात्रै भएको थियो । कक्षा ९ मा पढ्दै गर्दा फागुनको समयमा उनलाई स्कुलमा नाम नलेखाएको भन्दै स्कुलबाट बन्चित भएका थिए । त्यसो त, पिताजीले भनसुन नगरेका होइनन् । तर, सुनुवाइ नभएपछि उनी घरमै बसिरहेका थिए । त्यही बेला उनले आफूलाई पढ्नका लागि खर्च भन्दै सानो कुखुरा पनि पालेका थिए । तर, कुखुरा पनि भ्याउसोले खाइदिएपछि उनी थप पीडामा थिए ।
एक त, स्कुल जान नपाएको पीडा थियो भने कुखुरो ठूलो भएपछि त्यही बेचेर पढुला भन्ने सपना पनि तुहिएको थियो । त्यही बेला धरानको पिण्डेश्वरमा पढ्ने मावली दाजु पुगेका थिए । उनलै संस्कृत पढ्ने भनेपछि केही सोच्दै नसोची उनी धरानका लागि तयार भए । आमाले पोको पारिदिएको २० रुपैयाँ पैसा बोकेर उनी धरान आइपुगेको बताउँछन् । २०४१ साल फागुन २० गते चन्दसंस्कृत माविमा उनी भर्ना भए । पैसाका नाममा त्यही २० रुपैयाँ थियो । त्यही दिए । त्यसपछि उनले पैसा तिरेको स्मरणमा छैन । २०४३ सालमा एसएलसी दोस्रो डिभिजनमा उर्तीण भए । २०४४ सालमा उत्तरमध्यमाको पढाइ थाले पिण्डेश्वर विद्या पिठमा । २०४६ सालमा प्रथम श्रेणीमा पास भए । पुनः त्यही कलेजमा शास्त्री पनि पढे । २०४८ सालमा शास्त्री पास गरे दोस्रो श्रेणीमा । केही अङ्क पुगेन प्रथम श्रेणी हुनका लागि । त्यो बेला आचार्य (स्नातकोत्तर) धरानमा थिएन । कि काठमाडौं कि दाङ नै पुग्नु पथ्र्यो । उनी दाङ जाने सोच बनाए ।
दाङमा आचार्य भर्नाका लागि केही शुल्क लाग्थ्यो भने अधिकांस छात्रवृति मै पढाइन्थ्यो । धेरैले आचार्य ढाँटको विद्या भनेर भनेकाले के रहेछ भनेर उनलाई त्यसैप्रति रूची जाग्यो । साहित्यमा आचार्य गर्ने सोचले त्यता पुगेका थिए । तर, पढ्दै गर्दा घरको दायित्व पनि सम्झिए । केही नसोची जागिर खानका लागि रुकुमको चौघारीतिर लागे । तर, त्यहाँ पुग्दा कामचलाउ शिक्षक राखिसकेको जानकारी पाए । ‘किनकी झापाका मान्छेलाई त्यो ठाउँमा ठिक मान्दैन रहेछन् । म त्यहाँ पुगेपछि कामचलाउ मान्छे राखियो भनेर भने । कृष्णाअष्टमीको दिन थियो क्यार म केही नखाइ नै फनक्कै फर्किए ।’ उनी भन्छन् । आचार्यको परीषाको तयारी भइरहँदा फेरि कामकै खोजीमा रोल्पाको थवाङ नजिकैको घोडागाउँको रामेश्वरी मावि पुग्ने भइयो । तर, त्यो बेला स्कुलमा नपुगी सिधै सदरमुकाम लिवाङ गए । त्यहाँ १० दिनबसेपछि स्कुलमा जागिर पाइयो । ‘त्यो बेला अङ्ग्रेजी, नेपाली, संस्कृत पढाउन सक्ने साथै पिटी पनि खेलाउन सक्ने भएकाले मलाई राखेका थिएँ ।’ उनी भन्छन्, ‘दाङमा बस्दा योगाभ्यास गरिएको थियो । त्यसले काम ग¥यो । त्यहाँ चाहिँ झापाको भनेर भेदभाव गरेनन् । डेढ वर्ष पढाए ।’
पछि त्यहीबाट २०५१ सालमा आचार्यको परीक्षा दिए । परीक्षामा उनी विशिष्ट श्रेणीमा उर्तीण पनि भए । त्यही समयमा उनी घर फिरेका थिए । आफै पढेको स्कुलका गुरुहरूले पढाउनका लागि अनुरोध गरेपछि २०५१ साल कात्तिकदेखि उनी पिण्डेश्वरमै आंशिक शिक्षकका रुपमा नियुक्त भए । त्यही बेलामा उनले शिक्षा सङ्कायबाट विएड पनि गरे । संस्कृत पढेका कारण जागिरको टुङ्गो नहोला भन्ठानेर त्रिभुवन विश्वविद्यालयबाट एमए पनि उर्तीण गरे २०५३ सालमा । प्रथम श्रेणीमा पास भए । २०५२ साल बैसाखदेखि अस्थायी नियुक्ति भयो । २०५४ पुषमा खुल्ला प्रतिस्पर्धामार्फत् उनी उपप्राध्यापकमा स्थायी नियुक्ति पाए । त्यसयता उनी पिण्डेश्वरमै साहित्यमा अध्यापक छन् । उनले त्यहीबीचमा नेपालमा लेखिएका संस्कृत नाटकमा आधारित दुखान्तसम्बन्धी विषयमा विद्यावारिधि गर्ने सोच बनाए । संस्कृत नाटक परिणाम नाटकको समालोचनात्मक अध्ययन शीर्षकमा उनले २०६७ सालमा विद्यावारिधि गरे । अहिले अध्यापनसँगै उनी साहित्य र समाजसेवामा तल्लीन छन् ।
यो बीचमा उनले २०५१ सालमा नेपाल विद्याभूषण, २०६७ मा शिक्षा पुरस्कार र २०७३ मा राष्टिूय प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । उनको नेपाली र संस्कृत भाषामा सृजना र समालोचना गरी ८ वटा कृति प्रकाशित छन् । त्यस्तै हाइकु, गजल, नियत्रा, महाकाव्य पनि प्रकाशनको तयारीमा रहेका छन् ।