देउराली/ विगत २५ वर्ष अघिदेखि काठमाडौं बाहिर बसेर धरानबाट साङ्गीतिक साधनामा तल्लीन डिल्ली फोम्बो साङ्गीतिक आकाशमा चिनिएको नाम हो । ०५० सालमा पहिलो गीत रेकर्ड गराएका उनी अहिलेसम्म जानी–नजानी यही क्षेत्रमा लागिरहेको बताउँछन् । काठमाडौं भन्दाबाहिरका सङ्गीतकर्मीलाई सङ्गीतक्षेत्रमा उत्ति प्राथमिकता नदिए पनि काठमाडौंबाहिरबाटै आफूले सङ्गीत क्षेत्रमा केही गर्न चाहेको बताउँछन् ।
गीत–सङ्गीत भन्दा अरू कुनै व्यापार, व्यवसाय नभएको बताउने सङ्गीतकर्मी फोम्बो आफूलाई लोक गायक भन्न रुचाउँछन् । लिम्बू समुदायका फोम्बोले हाक्पारे, पालामजस्ता लिम्बू समुदायका भाकाहरूमा पनि आफ्नो गला भिजाइ सकेका छन् । यसका अलावा नेपालमै पाइने अधिकतम धुनहरूका बारेमा अध्यन गरिरहेको बताउँछन् ।
सानैदेखि गीत–सङ्गीतमा रुची राखेका फोम्बोका बुबा भारतीय सेनाका जागिरे भएका कारण उनको जन्म पनि भारतमा भयो । लोकसेवामा भिडेको अनुभव सुनाउने उनी भन्छन्, ‘शैक्षिक रूपमा मभन्दा कमजोर मेरा साथीहरू सरकारी उच्च ओहोदामा छन्, त्यतिबेला अहिलेको जस्तो आदिवासी जनजाति, दलितजस्ता कोटाहरू भएको भए र नातावाद र कृपावाद नहुने भइदिएको भए आज म पनि सरकारी कार्यालयमा भेटिन्थें होला ।’
नेपालमा सङ्गीत क्षेत्रमै रहेर जीविकोपार्जन गर्न मोफसल र केन्द्रमा रहेका जोकोही कलाकारका लागि अपवाद नै रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘सानै देखिको सङ्गीतप्रतिको रुचीका कारण जानी–नजानी यस क्षेत्रमा नै रहिरहेको छु, गीत–सङ्गीतबाट नै जीविकोपार्जन हुन्छ अथवा सङ्गीत क्षेत्रमा भविष्य एकदम सुरक्षित छ भन्ने मान्यता ममा पनि छैन र अरु कलाकारले पनि त्यो मान्यता राख्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्दैन ।’
झट्ट हेर्दा पपगायकजस्ता देखिने अन्य लोक गायकभन्दा फरक फोम्बो कानमा ठूलो प्वाल पारेर कुण्डल लगाएका देखिन्छन् । उनलको आखीँभौमा पनि कुण्डल छ । हात र पाखुरामा ट्याटु खोपेका छन् । अझै पनि समाजमा कुण्डल लगउनु, ट्याटु खोप्नुप्रति फरक दृष्टि रहे पनि यसको आफ्नै मान्यताहरू रहेको उनी बताउँछन् ।
फोम्बो भन्छन्, ‘हातमा ट्याटु खोप्नु र कान छेड्नुले मानिसमा सकारात्मक उर्जा आउने, पितृहरूबाट आशिर्वाद पाउनेलगायतका मान्यताहरू छन्, साथै यी मानव सभ्यताका प्रारम्भिक गहना पनि हुन् ।’ लोक गायक भन्न रुचाउने फोम्बो प्रायः पश्चिमा बाजाहरूलाई बढी प्रयोग गने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘आवरणजस्तो भए पनि भित्री राष्ट्रियता नै हो, सर्टपाइण्ट लगाए पनि हाम्रो राष्ट्रियताप्रतिको भावना उत्तिकै रहन्छ, इन्स्ट्रमेण्ट वेस्टर्न भए पनि भाका शब्दहरू लोक नै हुन्, मादल, बाँसुरी, सारङ्गी नै हुनु त निकै राम्रो हो तर म धरानमा बसेको हुनाले गितार ड्रममा नै बढी खेल्न पाएँ ।’
आफ्ना गीतमा आफ्नै रचनाहरू पस्किने कुरामा अलि बढी प्राथमिकता दिने बताउँछन् फोम्बो । केही समय अगाडिमात्र ‘रातकी रानी’, ‘चिटिक्क’ लगायत लिम्बू समुदायको हाक्पारे गीत–सङ्गीत बजारमा ल्याएका छन् । चाँडै नै अर्को गीत पनि बजारमा ल्याउने सोचमा रहेको उनी बताउँछन् । जसका लागि केही महिना लाग्न सक्ने उनको भनाइ छ ।
सफलता आम्दानी र लोकप्रियताका हिसाबले पश्चिमी भाकाका लोक दोहोरी गीत नेपाली साङ्गीतीक बजारमा निकै अगाडि रहेको उनको बुझाइ छ । पूर्वी भाकामा पनि धेरै श्रष्टा–सर्जकहरू लोकप्रिय रहेको फोम्बो बताउँछन् ।
हालै पनि पूर्वमा राम्रा–राम्रा गायक, सङ्गीतकर्मी तथा साङ्गीतिक समूहहरू सक्रिय रहेकाले काठमाडौं बाहिरको सङ्गीतले पनि नेपाली सङ्गीत क्षेत्रमा अमिट छाप छाड्ने फोम्बोको बुझाइ छ ।
उनी भन्छन्, ‘पूर्वमा राम्रा–राम्रा सङ्गीतकर्मी साङ्गीतिक समूह सक्रिय छन् तर, अर्काको सिर्जना, गीत र रचनालाई आधार बनाएर जीविकोपार्जन तथा आयआर्जनको मेसो बनाएको भेटिन्छ, यो अवस्थाबाट माथि उठ्ने बेला हो ।’
गङ्गा वरदान, दीप श्रेष्ठ, सविन राई, नरेन लिम्बू, प्राश्ना शाक्यलगायत नयाँ–नयाँ उदाउँदै गरेका धेरै कलाकारहरू आधारभूमि धरानै भएकाले पनि धरानलाई सङ्गीतकर्मी गायक तथा सिर्जनाको उर्भर भूमिका रूपमा गायक फोम्बोले बुझेका छन् ।
सङ्गीतकर्मी गायक तथा सिर्जनाको उर्वरभूमिमा यसरी स्थानीय तवरबाट भएका प्रयासलाई उत्तिकै महत्वका साथ लिनु पर्ने उनको बुझाइ छ । उनी भन्छन्, यहाँको सिर्जना र यहाँका सम्भावनाबाट भागेर काठमाडौं लाग्नु नपरोस् ।’