अचानक बजारमा छिमेकी महावीर काकाको छोरासँग जम्काभेट भएकाले मलाई महावीर काकाको सम्झनाले लघारिरहेको थियो । जीवन भोग्ने क्रममा अनेकौँ कुरा देख्न अनि भोग्न र सुन्न पाइँदो रहेछ । कति कुराहरू सुनेर बिर्सिइँदा रहेछन् भने कति कुराहरू बिर्सनै सकिँदो रहेनछ । आफूलाई घत लागेको कुरा अनि घटना र दृश्यहरू मानिसका दिमागमा सदा ताजा रूपमा तह लागेर बसेका हुँदा रहेछन् ।

मलाई यस्तै लागिरहेको थियो । किनकि काकाले भनेका हरेक शब्दहरू अहिलेसम्म मैले भुल्न सकिरहेको थिइनँ । बीस वर्षअगाडि काकाले भनेका हरेक शब्द मलाई याद भैरहेका थिए । अरूहरू काकालाई दोषी ठान्दथे भने मेरो अन्तरमनले उनलाई त्यो दर्जा दिन सकिरहेको थिएन । कत्तिपय काम कुरा गर्दा स्वयम् गर्ने मानिसलाई हेक्का हुँदो रहेनछ । सायद उनलाई पनि त्यस्तै भएको थियो क्यारे ! मेरो मनले पनि उनलाई सोही तराजुमा राखेर तौलिरहेको थियो ।

मेरा आँखा अगाडि उनको टिठलाग्दो मुहार र दयनीय अवस्था नाचिरहेको थियो । म उनको विचारलाई दिमागबाट हटाउन टाउको झड्कार्दथेँ । तर मेरो प्रत्येक पटकको प्रयास विफल भइरहेको थियो । जब–जब मलाई कुनै घटनाले पछ्याउने गर्दथ्यो, तब–तब म त्यस विषयलाई नलेखीकन शान्तिले बस्न नै सक्दिनथेँ । काकालाई आफूले दिएको वचन पनि पूरा गर्न सकिरहेको थिइनँ ।

मैले ढिपी गर्दा उनले आफ्नो जीवनगाथा सुनाएका थिए । उनको उत्कण्ठा विचित्रको थियो । सायद उनी आफ्नो अनुभव समाजमा छरेर केही दिन चाहन्थे क्यारे । ‘मेरो जीवनगाथा कसैलाई नसुनाउनू तर लेखेर छापिदिनू !’ उनको चाहनाले म केही क्षण सोच्न विवश भएको थिएँ । अहिले पनि त्यस बिहानीको दृश्य आँखाअगाडि झलझल नाँचिरहेको छ ।
..............................
छिमेकी महावीर काकाको घरमा निकै हल्लीखल्ली भइरहेको थियो । म पनि आफूलाई रोक्न नसकेर त्यतैतिर लागेको थिएँ । बुहारी डाँको छाडेर फत्फताउँदै रोइरहेकी थिइन्, ‘लौ न नि हाम्रो आमालाई त के भयो ?’ महावीर काका मानिसले सोधेको प्रश्नको मुस्किलले जवाफ दिँदै आँखाबाट बगेको आँसुलाई पुछिरहेका थए ।

महावीर काका श्रीमती सुतेको ओछ्यानको खुट्टातिर नुन खाएको कुखुरा झैं झोक्राइरहेका थिए । कोठा सानो भएकोले मान्छे ठेलमठेल गरेर महारानी सुतेको खाटतिर चिहाइरहेका थिए । उनी कोल्टे फर्केर सुतिरहेकी थिइन् । देखिएतिरको कञ्चटबाट रगत बगेर तन्ना भिजेको थियो । काका टुक्रुक्क बसेर जोर घुँडामा निधार अड्याएर रोइरहेका थिए । केही क्षणको रूवाइपश्चात् सुक्सुकाउँदै उनले टाउको उठाएर कोठामा उभिएका मानिसहरूलाई एकपटक हेरेका थिए ।

‘महारानी अब मलाई कसले खैनी माडेर दिन्छ ? तिमीले मलाई छाडेर गयौ ! हे ईश्वर तिमी मलाई पनि लिएर जाऊ न एक्लै बाँच्न चाहन्न ।’

साँच्चै काका रोएको देख्दा मलाई नरमाइलो लागिरहेको थियो । काका त्यसबेला साठी वर्ष पुगिसकेका थिए भने काकी पचपन्न पुगेकी थिइन् । महारानी बुढेसकालमा पनि राम्री देखिन्थिन् । बुढेसकालको अवस्थालाई देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि उनको बैँसालु अवस्था बिछट्टै आकर्षक थियो होला । द्वयको कहिल्यै झै–झगडा भएको मैले देखेको थिइनँ । उनीहरूलाई बरण्डामा बसेको देख्दा परेवाको जोडीजस्तो लाग्थ्यो । काका खैनी खाने गर्दथे । काकाले कर गरेपछि काकी खैनी माडिदिने गर्दथिन् । ‘खैनी माड न खाऊँ तिमीले माडेको साह्रै मीठो हुन्छ । नातिनातिनाले घेरिसके बूढाको इत्रने बानी गएको छैन । लाज पनि हुनुपर्ने !’ काकी फत्फताउँदै खैनी माड्न थाल्दथिन् ।

म बसेको ठाउँमा यति मिलेका लोग्ने–स्वास्नीको जोडी देखेको थिइनँ । मलाई उनीहरूको बोलीचाली खुबै मन पर्दथ्यो । काका मलाई ठूले भन्दथे भने काकी ठूले नानी’ भन्ने गर्दथिन् । काका मसँग दुःख–सुखका कुरा गर्दथे । उनी प्रायः मसँग मनको कुरा लुकाउँदैनथे । विश्वासले भरोसा जन्माउँछ र भरोसाले आत्मीयतामा वृद्धि हुन्छ । आत्मीयता भएको ठाँउमा गोपनीयता रहन सक्दैन । म मोरङ आएको थिएँ । त्यसपछाडि काकाको बारेमा मलाई केही थाहा थिएन । काकाको छोरासँगको साक्षात्कारले गर्दा उनको सम्झना मभित्र जागृत भएको थियो ।

केही खानेकुरा बोकेर म महावीर काकासँग जेलमा भेट गर्न गएको थिएँ । मैले उनीसँग आफ्नोबारेमा सुनाउन कर गरेको थिएँ । उनी मसँग सत्यता ओकल्न हिच्किचाइरहेका थिए र मेरो ढिपीले उनीलाई लाचार बनाइरहेको थियो ।

‘ठूले खोइ म के भनौं ! मलाई भन्नै असजिलो भइरहेको छ । दश मनमा एक मनले पनि सोचेको थिइनँ । महारानीले मलाई यसरी छाडेर जाली भनेर ।’ उनले तरक्क आँखाबाट आँसु खसालेका थिए । उनको आँखाले आँसु खसालेको देख्दा मेरो मन पनि भक्कानिएको थियो । आफूलाई नियन्त्रण गर्ने प्रयास गर्दै मैले भनेको थिएँ, ‘काका ! मेरो उद्देश्य तपाईंको मन दुःखाउनु थिएन, क्षमा गर्नुहोला ।’

‘यसमा क्षमाको कुरा रहेन । मैले यो कुरा अहिलेसम्म कसैलाई भनेको छैन । तिमी पढेलेखेको मान्छे, प्राप्त वस्तुलाई सही ठाउँमा प्रयोग गर्न जान्दछौ भन्ने मैले आशा बोकेको छु । ठूले ! बैँसमा म निकै चञ्चले थिएँ । महारानी पनि औधी राम्री थिइन् । बुबाआमाले मेरो सानै उमेरमा महारानीसँग विवाह गरिदिनुभयो । हामी दुई एक–अर्कालाई खुब माया गर्दथ्यौँ । उनी पनि म कतिखेर कामबाट घर फर्केर आउँछु भनेर आँखा ओछ्याएर बसेकी हुन्थिन् । म पनि काम सक्ने बित्तिकै बिना अल्मल घर जाने गर्दथेँ । दिनहरू बितेको हामी दुईलाई थाहा नै भएन ।

बिना कचकच नै तीनजना छोराछोरीको विवाह गरी दियौँ ।’ यति भनेर काका टोलाएका थिए । बैँसको चञ्चलता उनको आँखामा तरङ्गिदै थियो । उनले पुलुक्क मलाई हेरेर आफ्नो कुरा जोडेका थिए ‘कुन समयमा के हुन्छ भन्ने पूर्वज्ञान भएको भए अहिले मेरो अवस्था यस्तो हुने थिएन होला ! महारानी र म त्यो दिनसम्म कहिलै ओछ्यान अलग गरेर सुतेका थिइनौँ । हामीद्वय सुतिरहेका थियौँ, पल्लो कोठामा छोराबुहारी सुतिसकेका थिए । जाडो जाने समय गर्मी आउने बेला ! रातको अन्दाजी दश बजिसकेको थियो । मैले महारानीको पिठिउँ सुम्सुम्याएको थिएँ ।

‘कत्ति चलेको !’ उनी झर्केकी थिइन् ।
‘छुनै हुँदैन ! किन रिसाएकी ठुस्स परेर ?’
‘मलाई त झर्को पो लाग्दछ है, यो तिम्रो दिनहुँको कचकचले ।’ ‘एकछिन त हो । नाइँ नभन न ।’ मैले खुसामद गरेको थिएँ ।

‘पल्लो कोठामा छोराबुहारी ब्युँझिए होलान्, नचल न भनेको ।’ ‘मलाई साह्रै मन लागेको छ क्या ।’ मैले उनलाई आशलाग्दो पाराले हेर्दै आफ्ना हात जोड्दै याचना गरेको थिएँ ।
‘बुढेसकालमा पनि कति इत्रिएको पात्तिने पनि उमेर हुन्छ नि ।’
‘दुईतीन वर्षदेखि आजकल खाली तिमी यसै भनिरहेकी छ्यौ, आखिर म पनि त मानिस हुँ, मेरो पनि दिल हुन्छ, त्यसमा चाहनाहरू लुकेका हुन्छन् ।’ यसो भन्दै मैले उनीलाई पगाल्ने प्रयास गरिरहेँ ।
‘नगर भनेको, तिमी मान्दैनौ, ‘ऐले म हल्ला गरिदिन्छु ।’ यति भन्दै झन् खाटको पल्लो कुनातिर सरेकी थिइन् ।
‘ए ! अहिले तँलाई एकलोटा पानी खन्याइदिन्छु अस्तिको जस्तै अनि चाल पाउँछेस् ।’ मैले उनीमाथि पुरूषत्व वर्षाएँ ।

‘लु लु, लु त हेरौँ कसरी पानी खन्याउँदा रहेछौ, आज त हल्ला पो गरिदिन्छु ।’ उनका क्रोधिला ठूल्ठूला आँखा मतिर टाँसिएका थिए । आज उनी पूरै प्रतिवादमा उत्रिरहेकी थिइन् । उनलाई रिसाएको देखेर म मनमनै फत्फताएँ । ‘लातको भूत बातले कहाँ मान्दछ र !’ उनको त्यस प्रकारको अस्वीकृतिले म भित्रभित्रै मुर्मुरिइरहेको थिएँ । पहिला पनि म उनको व्यवहारबाट मुर्मरिँदै छट्पटीका साथ रात बिताउन बाध्य हुने गर्दथेँ । दिनभरि शरीर आलश्य भैरहन्थ्यो ।

लगातार केही समयदेखि मैले उनीबाट त्यस प्रकारको व्यवहार भोगिरहेको थिएँ । कुनै दिन स्वीकृति प्राप्त गर्न सफल भए पनि उनीबाट सहयोग हुँदैनथ्यो । उनको सहयोग बिनाको मौन समर्थनले म आफू तृप्त नभएको महसुस गर्दथेँ । त्यस दिनको उनको त्यो विरोधले म भित्रभित्रै क्रोधित भैरहेको थिएँ । रिस उठेको बेला ब्राम्हणले वेद पढ्दैन ।’ म त्यस बेलासम्ममा खाटबाट उत्रिसकेको थिएँ । सायद उनी पनि मेरो कचकच पन्छाउन सफल भएकीमा खुशी भई अर्कोपट्टि फर्केर झकाइसकेको थिइन् क्यारे ।

भूइँमा रहेको पानीको लोहोटा उठाएर मैले उनको टाउकोमा पानी एकैचोटी घोप्टिने गरी हुत्याएको थिएँ । अचम्मको कुरा, नचाहँदा नचाहँदै मेरो हातबाट लोहोटा फुत्किएर वेगका साथ उनको कञ्चटमा बज्रिसकेको थियो । मैले उनलाई हिर्काउन चाहेको थिइनँ केवल पानी मात्र घोप्ट्याउन खोजेको थिएँ । तथापि नसोचेको कुरा भइसकेको थियो । उनी हातखुट्टा झड्कारेर तनक्क परेर तन्किएकी थिइन् ।

त्यो उनको तन्काई मृत्यु प्राप्तिको अन्तिम सङ्केत थियो क्यार ! मभित्र उत्तेजनाको ठाउँमा भय उत्पन्न भएको थियो । आवेश समाप्त भइसकेको थियो । डरले म लगलग काँपिरहेको थिएँ । मानिसहरूले आफूलाई के भन्लान् ? उनीहरूसँग आँखा कसरी मिलाउनु ? प्रहरीको यावत् सवालको जवाफ कसरी दिनु ? पत्रपत्रिकामा फोटोसहितको नाम छापिँदा समाजमा प्राप्त गरेको इज्जतको हुर्मत हुँदैन र ? यस प्रकारको प्रश्न र मनोसंवादले म गली नै रहेको थिएँ । आँखा हुँदाहुँदै अन्धो र कान हुँदाहुँदै बहिरो भएको थिएँ ।’

‘.........’ नबोलीकन मैले काकाको मुहारको अवलोकन गरेको थिएँ । उनको मुहारमा असङ्ख्य पीडाका रेखाहरू तरङ्गित भइरहेका थिए, जसलाई शब्दमा उल्लेख गर्न मलाई कठिन भैरहेको छ ।
........................

उनले आफ्ना हातलाई निकै सजाय दिएका थिए क्यार ! हातभरि चोटका दाग र आलो घाउ प्रष्ट देखिन्थ्यो । उनले आफ्नो पीडा यसरी पोखेका थिए । महारानीले मलाई छाडेर गइसकेकी थिइन् । मेरो हातबाट अकल्पनीय दुर्घटना घटिसकेको थियो । यी हातलाई जति नै सजाय दिए पनि कम हुन्छ झैँ लाग्छ र लागिरहेको छ मलाई, के गरौँ के नगरौं हुँदै थियो । आत्महत्या पनि गर्न सकिरहेको थिइनँ र भाग्न पनि सकिरहेको थिइनँ । छोरा–बुहारीलाई बोलाउने सामथ्र्य पनि ममा थिएन ।

प्रहरीसमक्ष आफूले रिसको झोँकमा हिर्काउँदा महारानीको मृत्यु भएको स्वीकारे पनि क्रोध उत्पन्न हुनुको कारण भन्न सकेको थिइनँ । कसरी भन्नु ! वास्तविकताले म अरूहरूको नजरबाट झन् होचिन्छु जस्तो लाग्यो । होचिनु मात्र होइन, हाँसोको पात्र नै हुन्थेँ होला । खैर, जे होस् ! तिमीलाई विश्वास गरेर भनेको छु, मेरो विषयमा कथा लेखेर छापिदियौ भने अरूद्वारा यस्तो घटनाको पुनरावृत्ति हुँदैन कि !’ काकाको उत्कण्ठाभित्र सकारात्मक पक्ष लुके झैं मलाई भान भएको थियो । जेलमा उनले मसँग यसरी आफ्नो कथा सुनाएका थिए । उनको चाहना बमोजिमको कथा मैले लेख्न सकेँ..या सकिनँ..! खोइ..! म स्वयम् आनुमान गर्न सकिरहेको छैन...! त्यसैले मैले यो काम पाठकहरूलाई सुम्पिएँ ।